बुटवल : बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले सडक बिस्तारको क्रममा भत्काईएका घरधनीलाई घरबहाल कर र ती घरमा व्यबसाय गरेका व्यबसायीलाई व्यबसाय कर छुटको माग गरेको छ ।
संघमा मंगलबार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा संघको तर्फबाट अवधारणा प्रस्तुत गर्दै अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कोभिड–१९ महामारीको कारण अफ्ठ्यारोमा परेका व्यबसायीलाई सडक विस्तारको क्रममा सडकसंगै रहेका मुख्य राजमार्गका घर भत्काईएका कारण व्यबसायी समेत ठप्प भएकोले व्यबसाय कर छुट गर्न माग गरे । त्यस्तै गरी निर्माणको अवधिमा बहालसमेत नउठ्ने भएकोले घर बहाल कर समेत छुट गर्नको लागि उनले बुटवल नगरपालिकासंग आग्रह गरेका छन् ।
बुटवल–वेलहीया व्यापारिक मार्ग अन्तरगत पर्ने बुटवलको चौराहा–चिडियाखोला सडक पर्ने घर भत्काईएको कारण अहिले चौराहादेखि गोलपार्कसम्मको मुख्य राजमार्गमा भएका व्यापार व्यबसाय बन्द रहेका छन् । घर भत्काएको समयदेखि पुरा नहुँदा सम्मको घर बहाल कर र व्यबसाय कर छुटको लागि बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले नगरपालिकासंग माग गरेको हो ।
त्यस्तैगरी, उक्त सडक खण्डमा सडकको दुबैतर्फको सर्भिसलेन १८ फूटबाट बढाएर २७ फूट कायम गर्न समेत आग्रह गरिएको छ । सडकको संरचनामा थोरै मात्रै सुधार गर्दा कतै कसैलाई पनि असर नपर्ने र व्यापार व्यबसायको लागि समेत सहज हुने भएकाले संघले सर्भिसलेनको चौडाई बढाउन आग्रह गरेको हो । त्यस्तैगरी ८२ फूट कायम रहेको सडकमा घरधनीहरुले ८२ फूटमा पिल्लर राखिसकेकोले सटरको छज्जा मात्रै भएपनि राख्ने व्यबस्था मिलाईदिन समेत आग्रह गरिएको थियो ।
अध्यक्ष कसजूले बुटवललाई स्मार्ट सिटी बनाउने योजना अनुसार मुख्य राजमार्गमा रहेका घरहरु एउटै रंगको बनाउने व्यबस्था मिलाउन र एउटै रंग बनाउँदा हुने खर्चको समेत नगरपालिकाले व्यबस्था मिलाउन आग्रह गरे ।
त्यस अवसरमा बोल्दै सडक डिभिजन कार्यालय बुटवलका डिभिजन प्रमुख जयलाल मरासिनीले सडक ऐन २०३१ अनुसार मुख्य राजमार्गमा सडकको केन्द्रबाट दुबैतर्फ २५ मिटर कायम हुनुपर्ने भन्दै सोही अनुसार गर्नको लागि आग्रह गरे । त्यसमा व्यबसायीहरुले माग गरे अनुसार सर्भिसलेनको चाढाई केही बढाउने गरि कन्सल्टेन्ट नियुक्त गरेर रि–डिजाईनको काम भईरहेको समेत जानकारी गराए ।