काठमाडौं : ओली सरकार न पहिलेजस्तो बलियो रह्यो, न विपक्षीहरूले सोचेजस्तो कमजोर भएको छ । कांग्रेस र माओवादी नयाँ सरकार बनाउन तयार छन्, तर बहुमतका लागि अत्यावश्यक जसपाबाट साथ पाउने निश्चित नभएकाले वर्तमान सरकार ढाल्न अघि सरेका छैनन् । प्रमुख प्रतिपक्षी कांग्रेसले वर्तमान सरकारको विकल्प खोज्ने र आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय त गरेको छ । तर, अविश्वास प्रस्ताव किन ल्याएको छैन भनेर कांग्रेसमाथि प्रश्न उठेको छ । कांग्रेसले अविश्वास प्रस्ताव ल्याएमा माओवादीले समर्थन गर्ने निश्चित छ । तर, प्रतिनिधिसभामा कांग्रेससँग ६३ र माओवादीसँग (लेखराज भट्टसहित चारजनाबाहेक) ४९ सांसद छन् ।
यसरी यी दुई दल मिलेर संसद्मा एक सय १२ मात्र पु¥याउन सक्छन्, जब कि सरकार ढाल्न एक सय ३३ सांसद आवश्यक पर्छन् । ३५ सिट भएको जसपाले समर्थन नगरेमा अविश्वासको प्रस्ताव फेल हुने मात्र होइन, ओली सरकार झन् बलियो हुनेछ । किनकि एकपटक अविश्वास प्रस्ताव असफल भएमा एक वर्षसम्म अर्को प्रस्ताव ल्याउन नपाइने संवैधानिक व्यवस्था छ । त्यसैले जसपाको समर्थन नपाएसम्म अविश्वास प्रस्ताव ल्याउनु आत्मघात हुन्छ भन्ने कांग्रेसको विश्लेषण छ । त्यसैले कांग्रेस पहिले जसपाको समर्थन जुटाउने कोसिसमा छ । तर, जसपाबाट सकारात्मक संकेतसमेत पाएको छैन ।
माओवादीले समर्थन फिर्ता लिएमा केपी ओली नेतृत्वको सरकार तत्कालै अल्पमतमा पर्नेछ । त्यस्तो अवस्थामा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्नेछ । यस्तोमा एक सय २० सिट भएका ओलीले ३५ सिट भएको जसपाका पूरै वा आधा मात्रै पनि सांसदको समर्थन जुटाउन सकेमा सरकार सुरक्षित हुनेछ ।
यसरी प्रधानमन्त्रीले आफूमाथि विश्वासको मत छ भनेर संसद्बाट प्रमाणित गराएमा प्रतिपक्षीहरूका सबै सम्भावना समाप्त हुनेछन् । एकपटक विश्वासको मत प्राप्त गरेपछि लगत्तै अविश्वासको प्रस्ताव ल्याउने राजनीतिक तथा नैतिक सम्भावना पनि समाप्त हुनेछ । ओली झन् बलिया हुनेछन् । त्यसैले जसपाले ओलीको विपक्षमा मत हाल्छ भन्ने सन्देशको पर्खाइमा छ माओवादी । तर, जसपाले त्यस्तो सन्देश दिने संकेत पनि देखिएको छैन । –नयाँ पत्रीका