ब्रेकिङ न्युज:

मेरो जागरण, मेरो जीवन भाग-२२ ( भक्कु चप्पल र बि.पी. )

जागरणपोस्ट ५ श्रावण २०७६, आईतवार १८:४४

शुरुवात भक्कु चप्पलबाटै गरौं। फाटेका भक्कु चप्पलसंगको नाता नेतादेखि जनतासम्म भएता पनि तिनै फाटेका चप्पलले नेतालाई कहाँदेखि कहाँ पुर्यायो भने जनता आजका दिनसम्म पनि तिनै चप्पलकै भरमा धर्तीको पुजा गरिराखेका छन। कुरा चौंतीस/ पैंतीस सालतिरको हुनुपर्छ, जुत्ता चप्पल लाउने मान्छे कमै थिए त्यो बेलासम्म पोखरामा। साहुमहाजनहरूले त लाउँदा हुन्, तर घरमा प्रायः खाली खुट्टै हिँड्थे/हिंडिन्थ्यो । जुत्ता/चप्पल जागिरे हरू अफिस जाँदा लाउँथे कतिले अप्ठेरो बाटोमा खोलेरै हातमा लिएर हिड्थे चिप्लो ओसिलो ठाउँमा चाँडै फाट्छ भनेर जोगाउन। साच्चै भन्नु पर्दा पोखरा जस्तो ठाउँमा पनि सबैको पहुँचमा थिएन जुत्ता चप्पल । इन्डियन कपडाका जुत्ता र स्थानीय चर्माकारले बनाएका काँचो छालाका जुत्ता लाउँथे अलि अलि हुने खाने हरुले । म पनि चार कक्षा पढिन्जेल खाली खुट्टै स्कुल गएको हुँ । चार कक्षा पछि ड्रेस अनिवार्य रूपमा लागु भए पनि धेरै पछि कट्टु र कमेज त ड्रेसको लगाईयो। सेतो जुत्ता, सेतो मोजा भने हिँउदको महिनामा मात्रै लाइन्थ्यो, वर्षा लागे पछि लगाइन्थेन । त्यो बेला हिँड्ने बाटो पनि निश्चित नै थिएन खेतका आली नै पैदल हिँड्ने बाटा थिए। त्यस्तो बाटोमा जुत्ता भिज्ने हिलै हिलो हुने हुन्थ्यो भने चप्पल त झनै तुना दुई दिन पनि खप्दैन्थे । एक जोर जुत्ता चप्पलले कम से कम एक बर्ष त कटाउनै पर्थ्यो । त्यसैले जुत्ता चप्पल लाए पनि स्कुलमा पुगे पछि बल्ल लाइन्थ्यो । छुट्टी भए पछि खोलेर झोलाको एउटा पाटोमा राखिन्थ्यो नत्र हातमै लिएर हिँड्ने गरिन्थ्यो । खै त्यो बेला खाली खुट्टै खेल्ने दौडिने उफ्रिने जस्तो ठाउँमा पनि गइन्थ्यो तापनि कैले कता न घोच्ने कोप्ने भए पनि खासै असहज भएको महसुस गरिएन । साच्चै भन्नु पर्दा खुट्टाको भन्दा जुत्ता चप्पल कै बढी जतन गरिन्थ्यो ।

छ कक्षा बाट सातमा जाँदा प्रथम भएँ त्यही खुशीमा हुन पर्छ आमाले एक जोर भक्कु चप्पल (चाइनिज) भोलिपल्टै ल्याइ दिनु भयो । स्कुल खुल्ने समय भईसकेको थिएन । पुषको पहिलो साता रिजल्ट हुन्थ्यो । बीचमा पन्ध्र दिनजति जाडो बिदा हुन्थ्यो। त्यसपछि पनि नयाँ किताब नआऊन्जेल खासै पढाई हुन्थेन। माघको शुरु देखि पढाई हुन्थ्यो । आफूलाई भने कहिले स्कुल लाग्ला र नयाँ चप्पल पड्काउँदै स्कुल जाउँलाजस्तो भएको थ्यो । नयाँ चप्पलको वासना आउँथ्यो सायद रबरको वास्ना होला असाध्यै मनपर्ने वासना । स्कुल नलागुन्जेल थुपुक्क बिस्तारा मुनी थन्क्याएर राखें ती चप्पललाई। अन्तत: स्कुल माघको पहिलो हप्तामा शुरु भयो । नयाँ चप्पल झोलामा हालेर साढे नौ बजे नै स्कुल पुगेर नयाँ चप्पल लगाएर मक्ख परियो दिनभरि नै ।
प्रायः स्कुल पुगे पछि नै लगाईयो पछि सम्म पनि । तर खेल्ने बेलामा भने लगाइन्थेन खोलेर झोला मै राखिन्थ्यो ।

आज प्रसङ्गबस पनि मैले तिनै भक्कु चप्पल सम्झें। सम्झनुको कारण पनि रोचक पनि छ । हजुर हरूलाई अन्त नभुलाई सोझै प्रसङ्ग तिर मोड्छु । महिना गते याद भएन पैंतीस सालमा हो । मौसम त्यति जाडो या गर्मी थिएन । विपीको पहिलो चोटि नाम सुनेको पनि त्यही बेला हो, पहिला पनि उल्लेख गरेको छु ।

त्यो दिन चप्पलको तुना छिनेर स्कुल नजिकैको झ्याङ्गमा चप्पल लुकाई खाली खुट्टा गएको थिएँ, प्रार्थना सके पछि सर हरुले सबै विद्यार्थी आज एयर्पोर्ट भ्रमणमा जाने जानकारी दिनुभयो। खुसीले सीमा रहेन ! सबै लागियो एयर्पोर्ट तिर ! हामी पुग्दा हजारौं मान्छे जम्मा भै सकेका थिए ।

हाम्रो बाल मस्तिष्कमा राजारानी आउने दिन रहेछ, चक्लेट खान र घरमा पनि लान पाईन्छ भन्ने थियो । तर उल्टो भयो राजा रानी आएनन् । एउटा जहाज आयो आकाशमै घुमेर फर्क्यो । नफर्केर के गरोस त ? जहाज ग्राउन्ड भरी हामी थियौं ।

प्रायः त्यस्ता र्‍यालीमा गएको भोलिपल्ट स्कुल बिदा दिने चलन थियो । दिन भरिको हिँडाई र चिच्याईको थकाई मेट्न दिएको हुन पर्छ त्यस्तो बिदा । त्यस दिन पनि सर हरूले भोलिपल्ट बिदा भएको जानकारी दिनु भयो । फर्कदा अर्को छोटो बाटो फर्कियो । घर आए पछि चप्पल सम्झें बल्ल । झमक्कै साँझ परि सकेको थियो । लिन जान सक्ने कुरै भएन । आमा र दाइले चप्पल कहाँ फालिस भनेर हकार्नु भयो । स्कुल जाँदा चुँडिएर लुकाएर राखेको भने पछि शान्त हुनु भयो दाइ र आमा पनि । तर आमा नयाँ चप्पल हराउने हुन कि ? कस्ता ठाममा राखेको छस् भनेर धेरै बेर खन्खाई रहनु भयो ।म भने कसैले देख्दैनन् भन्नेमा ढुक्क थिएँ । खेतको कुनामा ठुलै छपनी (ढुङ्गा)ले चेपेर राखेको थें । भोलिपल्ट स्कुल बिदा भएकोले गैएन । पर्सि पल्ट नौ बजे नै कुदें ।

चप्पल लुकाएको ठाउँ सम्म पुग्न १० मिनेट पनि लागेन
मैले जस्तो अवस्था छोपेको थिएँ त्यस्तै अवस्थामा चप्पल भेटियो। अब भने बल्ल ढुक्क भएँ । छपनी पल्टाएँ । चप्पल मसिनो माटोले छपक्कै छोपिका थिए । माटो ओसिलो हुने नै भयो खेतको ।
माटो टकटक्याएर हेर्छु त चप्पल पुरै धुलो भै सकेका मसिना कमिलाका पोकाका पोका मात्रै । तुना भने अलि अलि खाएका , चप्पल त दुई दिन मै पुरै धुलो पारेछन् । एक छिन त्यैं बसेर रोएँ । त्यै चप्पल पनि पुछपाछ पारेर झोलामा राखेँ। फाल्न माया लाग्यो । त्यो दिन पढ्न मन पनि लागेन । कहिल्यै नभाग्ने म त्यो दिन एक बजेको छुट्टी पछि भागेर घर आएँ । आउने बित्तिकै आमाले सोध्नु भयो चप्पल भेटियो भनेर , झोला बाट डराई डराई झिकेर देखाएँ । धन्न आमाले गाली गर्नु भएन । हेर माटोमा राखेछ । तेत्रो पैसा माटो भयो भयो भनेर चुक्चुकाउनु भयो । विपीको प्रसङ्ग चल्दा अरुले
के सम्झन्छ्न् कुन्नी मैले त त्यही कमिलाले खाएर धुलोपिठो भएको भक्कु चप्पल सम्झन्छु, अनि विपी/ मदनको खोल ओढेर देशलाई तिनै दुईराते कमिलाले झैं खोक्रो पार्ने चैते नेता हरू देखि धिक्कार लाग्छ।

जसरी मेरी आमाले पसिना बेचेर किनिदिएको चप्पल माटोमा परिणत हुँदा चुक्चुकाएकी थिइन्, त्यसरि नै हजारौंको रगत बगाएर ल्याएको भनिएको प्रजातन्त्रले देश खोक्रिँदा चुक्चुकाउनु बाहेक केही रहेन ।

धेरै समय पछि बल्ल कुरा बुझियो ! विपीलाई पोखरामा ओर्लनै नदिने कार्यक्रम रहेछ । त्यही बेला विपीबिरुद्द नारा लाउने र उक्साउने युवा पञ्च हरु / शिक्षक/ व्यापारी हरु अहिलेका खाट्टी त्यागी र ओहदा वाला कांग्रेस/कम्युनिस्ट हुन्। आज विपी कोइराला, मदन भण्डारीलाई सम्झेर गोहिका आँसु चुहाउने हरू तिनै हुन जसले बिपीलाई पोखरा ओर्लिन दिएका थिएनन।

यो पनि पढ्नुहोस – मेरो जागरण मेरो जीवन भाग २१ (फेस रिडर/ ज्योतिषी)

मेरो जागरण, मेरो जिवनअन्तर्गत हामी आदरणिय स्रष्टा भरत आचार्य जि को आफ्नै कथा भाग – १ बाट प्रारम्भ गरेका छौं। स्रस्टा आचार्यको आफ्नै कथा पढ्नको लागि निरन्तर जागरणपोस्ट डट कम को विशेष प्रयोजन मेरो जागरण पढ्न नछुटाऊनुहोला।

साथै, तपाईंसंग पनि यस्तै अनुभूति या लेख्दै गरेका रचना छन भने कृपयाँ jagaranpost@gmail.com
या gyawaligulmi22@gmail.com मा पठाऊनुहुन हार्दिक अनुरोध छ।)

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४