काठमाण्डौ : संसद विघटनविरुद्ध परेका रिटमाथि छलफल गर्न संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा इजलास गठन भएको हो । इजलासमा न्यायाधीशहरू दीपकुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सदस्य तोकिएका छन् ।
बिहीबार प्रधानन्यायाधीश राणाको एकल इजलासले संसद् विघटनसम्बन्धी १९ वटा रिट संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो । संसद् विघटन सम्बन्धी ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भइसकेका छन् ।
संसद् विघटनसम्बन्धी रिटमा संवैधानिक इजलासमा शुक्रबारका लागि पेशी तोकिएको छ । ती सबै ३० वटा मुद्दाको सुनुवाइ शुक्रबारदेखि संवैधानिक इजलासमा हुने सर्वोच्च अदालतले जनाएको छ ।