Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

नेपाली पीडामा सधैँ सहयोग गर्ने एउटा कर्मठ व्यक्ति – राजनारायण साह

जागरणपोस्ट ७ असार २०७८, सोमबार १०:१४

चेतनाथ आचार्य

काठमाडौं : कोरोना महामारीको समयमा नेपालका अस्पतालहरुमा अक्सिजनको अभावले दर्दनाक अवस्था सिर्जना भएको बेला चीनले गरेको सहयोगले नेपाली पीडामा मल्हमपट्टिको काम गरेको छ । चीनले अनुदानमा १८ लाख डोज खोप दिइसकेको छ भने नेपाल सरकारले चीनबाट चाँडै खोप किन्ने निर्णय पनि गरेको छ । नेपालमा अक्सिजनको अभाव भएको बेला चीनले अक्सिजन सिलिण्डर तथा आकस्मिक प्रयोगका लागि अक्सिजन कन्सन्ट्रेटरको आपूर्ति गरेको कुरा सर्वविदितै छ ।

सरकारी स्तरबाट मात्र नभई चीनमा रहेका नेपालीहरुले पनि सहयोग स्वरुप अक्सिजन कन्सन्ट्रेटर किनेर नेपाल पठाउने काम गरेका छन्। यसरी सहयोग गर्नेमा चीनको शाङहाईमा बसेर व्यवसाय गरिरहेका राजनारायण शाह अग्रस्थानमा देखिएका छन् । उनले व्यक्तिगत सहयोगमा दुई लाख चिनियाँ युआन अर्थात् ३८ लाख रुपैयाँभन्दा बढीको अक्सिजन कन्सन्ट्रेटर किनेर ढुवानी खर्च पनि बेहोर्दै स्थलमार्गबाट नेपाल पठाएका हुन्। उनले पठाएका अक्सिजन कन्सन्ट्रेटरहरु केही साता अगाडि नै नेपाल पुगिसकेका छन् ।

राजनारायण शाह, जसको व्यक्तिगत सहयोगमा दुई लाख चिनियाँ युआन अर्थात् ३८ लाख रुपैयाँभन्दा बढीको अक्सिजन कन्सन्ट्रेटर किनेर ढुवानी खर्च पनि बेहोर्दै स्थलमार्गबाट नेपाल पठाएका हुन्। उनले पठाएका अक्सिजन कन्सन्ट्रेटरहरु केही साता अगाडि नै नेपाल पुगिसकेका छन्।

साहले यसभन्दा अगाडि नेपालमा भूकम्पको प्रभावमा पनि यथेष्ट सहयोग गरेका थिए। उनी नेपालमा हुने विभिन्न खालका प्राकृतिक प्रकोपको समयमा व्यक्तिगत सक्रियतामा खुल्ला हृदयले सहयोग गर्दै आएका छन् ।

सिराहामा जन्मिएकका राजनारायण साहले सिराहाकै श्री चन्द्र माध्यमिक विद्यालबाट एसएलसी गरेका हुन् । एसएलसीपछि उनले पुलचोक इन्जिनियरिङ कलेजबाट आई.ई. पढेर सन् १९९१ मा नेपालको शिक्षा मन्त्रालयबाट छात्रवृत्तिमा छनोट भई चीनमा अध्ययन गर्न गए । पहिले बेइजिङमा उनले चिनियाँ भाषा पढे र शाङहाईको नजिकै रहेको चच्याङ प्रान्तको सदरमुकाम हाङचौस्थित चच्याङ विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरे । उनी पढाइमा मेधावी थिए। पढाइमा जेहेन्दार भएकाले विश्वविद्यालयले उनलाई स्नातकोत्तरगर्नका लागि छात्रवृत्ति दियो र उनले निरन्तर स्नातकोत्तर गर्ने अवसर पाए ।

त्यो समयमा धेरैजसो नेपाली सिभिल इन्जिनियरिङ पढ्न रुचाउँथे। किनभने यो विषयको खपत नेपालमा धेरै थियो र तुरुन्तै काम पाउने अवस्था पनि थियो । साहले भने अलिकति पृथक विषय रोजे । उनले इलेक्ट्रिकल इन्जिनियरिङभित्र पावर सिस्टम रोजे । विद्युत ट्रान्समिसन लाइनमा प्रयोग हुने विषय भएकाले साहलाई काम गर्नका लागि नेपाल विद्युत प्राधिकरणको कुनै परियोजना नै रोज्नुपर्ने थियो ।

इन्जिनियरिङमा मास्टर डिग्री गर्दागर्दै सन् १९९७ मा उनी हङकङ इन्टनसिपका लागि हङकङ पुगे । त्यहाँ उनले विश्वकै सबैभन्दा ठूलो जर्मनीको एम.आर. ट्रान्सफर्मर उपकरण बनाउने शाखा कम्पनीमा इन्टनसिप गर्ने मौका पाए । इन्टनसिप सकेर पनि उनी सोही कम्पनीमा काम गर्न थाले र निरन्तर २००५ सम्म काम गरे। यसले साहलाई दुईवटा प्रतिफल दियो । पहिलो आफूले पढेकै विषयमा काम गरेर उनले आफ्नो योग्यतालाई अझ खार्ने मौका पाए । दोस्रो उनले हङकङको स्थायी आइडी पनि प्राप्त गरे । त्यसपछि उनी शाङहाई पुगेर सन् २०१० सम्म त्यही कम्पनीमा काम गरे । एउटै कम्पनीमा १४ वर्ष काम गर्दा उनी उच्च तहमा पुगिसेका थिए र कामको अनुभवले खारिएर उनी विज्ञका रुपमा स्थापित भइसकेका थिए ।

सिराहाको सामान्य परिवारमा जन्मिएका साह अझै अगाडि बढ्न चाहन्थे । अब अरुको कम्पनीमा काम गर्ने होइन आफैँ कम्पनी खोल्नुपर्छ भन्ने उनलाई लाग्यो । विश्वविद्यालयबाट लिएको उच्च ज्ञान र १४ वर्षसम्म विश्वकै सबैभन्दा ठूलो ट्रासफर्मर उपकरण कम्पनीमा काम गरेकाले उनले यस विषयमा विश्वभर राम्रो नेटवर्क बनाइसकेका थिए । त्यही जनसम्पर्क र सम्बन्धको आधारमा साहले सन् २०१० मा आफैँले हङकङ र शाङहाईमा कम्पनी दर्ता गराएर सञ्चालन गर्न थाले ।

हरेक पाइलामा सफलता चुम्ने बानी परिसकेको छ उनमा । पहिले गाउँमा हुँदा पढाइमा सफलता अनि त्यो सफलता चीनको नामी विश्वविद्यालयमा पनि कायम रह्यो । पढाइसकेपछि जागिरमा पनि उस्तै सफलता। जागिरपछि आफैँ कम्पनी खोलेर गरिरहेको व्यवसायमा पनि उनी उत्तिकै सफल छन् । साहको कम्पनीले अमेरिका, क्यानाडा, जर्मनी, बेलायत, स्पेन, फ्रान्स, ब्राजिल लगायतका देशबाट पावर ट्रान्सफर्म उपकरणहरु चीनमा आयात गर्छ र ट्रान्सफर्मरका उपकरण बनाएर विभिन्न देशमा निर्यात गर्दछ। उनले हङकङमा पनि दुईवटा उही प्रकृतिका कम्पनी दर्ता गरेर विश्वका ख्यातिप्राप्त कम्पनीहरुको एजेन्सी लिएका छन् ।

हङकङमै दर्ता भएको साहको अर्को कम्पनीले चीनबाट अमेरिका, दक्षिण अमेरिका, अफ्रिका, अष्ट्रेलिया, मलेसिया, भारत, मध्यपूर्व, थाइल्याण्ड, इण्डोनेसिया लगायतका देशहरुमा ट्रान्सफर्म उपकरणहरु निर्यात गर्दै आएको छ । साहले ट्रान्सफर्म तथा विद्युत उद्योगमा २५ वर्षको अनुभव सँगालिसकेका छन्। यस क्षेत्रमा विश्वव्यापी रुपमा उनको कम्पनीले ख्याति कमाएको छ । उनी चिनियाँ तथा विश्वका अन्य ट्रान्सफर्मर कम्पनीहरुलाई उच्चगुणस्तरको ट्रान्सफरमर उपकरणहरु उपलब्ध गराउने काम गर्दछन् ।

शाङहाईलाई कर्मथलो बनाएर एक डेढ दसकदेखि व्यवसाय गर्दै आएका साह एक सफल इलेक्ट्रिकल इन्जिनियर हुन् । आफ्नो ज्ञान र सीप अनुसार उनले नेपालमा पनि लगानी गरिरहेका छन् । निर्माणाधिन ३० मेगावाटको धौलागिरि कालिका हाइड्रो परियोजनाका उनी प्रवर्द्धक रहेका छन् भने निर्माण सम्पन्न भएर संचालनमा आइसकेको १० मेगावाटको संयुक्त मोदी हाइड्रो पावरमा पनि उनको लगानी छ । यसले आइपिओ खुलाएर सर्वसाधारणलाई सेयर बिक्री गरिसकेको छ । त्यसैगरी निर्माणाधिन ७३ मेगावाटको सानिमा मध्य तमोर हाइड्रोपावर लिमिटेडमा पनि उनको लगानी छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन । अनि चीनको आर्थिक राजधानी शाङहाई। शाङहाईको गगनचुम्बी भवनका जङ्गलमा बस्ता पनि साह आफ्नो मातृभूमि नेपाल र जन्मभूमि सिराहालाई सम्झिरहन्छन् । नेपालले भोग्ने हरेक प्राकृतिक प्रकोपले उनलाई नराम्ररी चिमोट्छ। तराई क्षेत्रमा बाढी पस्ता अथवा सितलहर चल्दा उनी बेचैन हुन्छन् । के-कसरी हुन्छ सहयोगमा उनी जुटिहाल्छन्। सितलहरमा न्यानो ब्ल्याङ्केट बाँड्ने कामदेखि भूकम्पको बेला चीनबाट चन्दा उठाउने काममा पनि उनी सबैभन्दा अगाडि छन्। उनकै सक्रियताम सिराहाली सेवा समाज स्थापना भएको छ । सो सामाजिक संस्थाका उनी संरक्षक पनि हुन् ।

चारदशक अगाडि सिराहाको सरकारी विद्यालयमा अध्ययन गर्दा राजनारायण साहसँग त्यत्रो विधि सपना थिएन । उनले चीनको बारेमा खासै ख्याल पनि गरेका थिएनन् । उनको सपना त पढेर सानोतिनो जागिर खाने र बुबा आमालाई सुख दिने मात्र थियो । जागिर पाउनका लागि राम्रो पढ्नुपर्छ । पढाइमा राम्रो अङ्क ल्याउनका लागि मिहिनेत गर्नुपर्छ भन्ने बुझेका साह त्यही मिहिनेतको सिँडी चढ्दै आज चीनबाट विकसित मुलुकहरुमा व्यापार गर्न सफल भएका छन् । उनले तीनजना नेपाली इन्जिनियरलाई चीनमा काम दिएका छन् भने डेढ दर्जनभन्दा बढी चिनियाँहरुलाई पनि रोजगारी दिएका छन् ।

जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारा हुन्छन् भन्ने मन्त्र जप्ने साहले नेपालका लागि सबै नेपालीले केही गर्नुपर्छ भन्ने भावना राख्छन् । कोभिडले आक्रान्त भएर अक्सिजन नभएका नेपालीहरुलाई झण्डै ४० लाख रुपैयाको अक्सिजन कन्सन्ट्रेटर दान गरेर उनले आफ्नो मातृभूमिको कर्तव्य पूरा गरेका छन् ।

 

(लेखक आचार्य बेईजिङ्गस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (CRI) को नेपालसम्बन्धि विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ)

जागरणपोस्टलाई ट्विटरमा फ्लो गर्नुहोस- @jagaranpost1

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७