गुल्मी : जिल्लाको मालिका गाउँपालिकाले शिक्षकका लागि निःशुल्क स्नातकोत्तर तह अध्ययनको व्यवस्था मिलाएको छ । गाउँपालिकाले रेसुंगा बहुमुखी क्याम्पसँगको साझेदारीमा पालिकाभित्रका शिक्षकलाई शिक्षा संकायमा निःशुल्क अध्ययन गराउने भएको हो । यो सुविधा गाउँपालिकाभित्र वा बाहिर स्थायी ठेगाना भएका तर गाउँपालिकाभित्रका कुनैपनि विद्यालयमा अध्यापन गराउने सबै शिक्षकले प्राप्त गर्नेछन् । शिक्षकले बीचैमा अध्यापन गराउन छोडे उक्त सुविधा भने प्राप्त गर्ने छैनन् ।
यसका लागि गाउँपालिकाले क्याम्पस मातहत रहनेगरी ‘शिक्षक अध्ययन प्रोत्साहन कार्यक्रम’ को स्थापना गरेको छ । उक्त कार्यक्रमका लागि पालिकाले क्याम्पसलाई शुक्रबार दुई लाख प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए । ‘गाउँपालिकामा कतिपय शिक्षक स्नातक उत्तीर्ण गरेर स्नातकोत्तरमा भर्ना पनि भएका छैनन्,’ भण्डारीले भने, ‘उनीहरूलाई लक्षित गर्दै यस कार्यक्रमको सुरुवात गरेका हौं ।’ शिक्षक अध्ययनशील र गुणस्तरयुक्त भए मात्र गुणस्तरीय जनशक्ति उत्पादन गर्न सकिने भएकाले शिक्षकलाई निःशुल्क डिग्री अध्ययनको व्यवस्था मिलाइएको भण्डारीको भनाइ छ । यस वर्ष विभिन्न विद्यालयका ४० जना विद्यार्थी–शिक्षक उक्त कार्यक्रमबाट लाभाम्वित हुनेछन् ।
रेसुंगा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिबहादुर खत्रीले त्रिभुवन विश्वविद्यालयले लिने रजिस्ट्रेसन, परीक्षा र थेसिस शुल्कबाहेक अन्य सबै खर्च गाउँपालिकाले ल्याएको कार्यक्रमबाट भुक्तान हुने बताए । ‘एक जना विद्यार्थीका लागि प्रथम सेमेस्टरमा औषतमा ३० हजार र सबै सेमेस्टर सकिँदा १ लाख २० हजारभन्दा धेरै खर्च हुन्छ,’ खत्रीले भने, ‘यसरी खर्च हुँदा वार्षिक २ लाखले पुग्दैन, तर पालिकाको नीति कार्यान्वयमा क्याम्पस सहयोगी संस्था बन्छ ।’ क्याम्पस प्रमुख खत्रीले आगामी वर्षमा विद्यार्थी हुँदा वा नहुँदाको अवस्थामा पनि पालिकाबाट निरन्तर सहयोग आउने र अन्य पालिकाबाट पनि यस्तै प्रकारको सहयोगको अपेक्षासहित कार्यक्रम सम्झौता गरिएको बताए । राजधानी दैनिकबाट