काठमाण्डौ : सर्लाहीको हरिवन नगरपालिका-२ बाट ७७ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३० वर्षीय अशोककुमार लामा रहेको प्रहरीले जनाएको छ ।
बा ५२ प १९३२ नम्बरको मोटरसाइकलमा प्लास्टिकको बोराभित्र गाँजा ल्याइरहेको अवस्थामा लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गाँजा ल्याउने अन्य तीन जना प्रहरीलाई देखेपछि फरार भएका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
लामाले भरिया लगाएर आफूले नै सिन्धुलीदेखि गाँजा ल्याएको प्रहरीसमक्ष बयान दिएका छन् । प्रहरीका अनुसार ठूलो मात्रामा ल्याइएको गाँजा भारत लाने तयारी थियो ।