प्रचण्डको दुबई भ्रमण र २१ अर्बको चर्चा

जागरणपोस्ट २८ श्रावण २०७६, मंगलवार १२:५३

बिजय ज्ञवाली – हावा नचली पात हल्लिन्न। साऊन १४ गते स-परिवारसहित दुबई उडेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालमाथी यतिखेर यौटा अर्को संगिन आरोप लागेको छ- दिवंगत छोरा प्रकाशको नाममा दुबईको एक बैंकमा रहेको २१ अर्व रुपियांको तारतम्य मिलाऊन उनी स-परिवारसहित दुबई उडेका हुन भनेर। पत्नी सिताको चाहनाअनुसार स-परिवारसहित दुबई उडेका भनिएका दाहाललाई अन्तत: विज्ञप्ति नै निकालेर उक्त आरोपको खण्डन गर्नुपर्ने बाध्यतासमेत कसरी आईपुग्यो त?

दाहालले आफू स्वयंसहित उनको पार्टी र पार्टिका जोसुकै सदस्यमाथी अलिकति टिकाटिप्पणी र आलोचना भयो भने त्यस्ता टिकाटिप्पणी गर्नेहरुलाई परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरु देख्दछन। यत्तिमात्र होईन उनीलगायत उनका पार्टिका अन्य उच्चपदस्थ सदस्यदेखि लिएर तल्लोस्तरका कार्यकर्ताले सम्म आफ्ना आलोचकहरुको प्रतिवाद गर्नुपर्यो भने क्रान्तिकारी ध्रुवीकरणबाट अत्तालिएका, प्रतिगामी तत्वहरुलगायतका शव्दहरु अत्याधिक प्रयोग गर्नेगर्दछन। जनयुद्धताका तिनै शव्दहरुसंग चरम खेलबाजी गर्दै आएको पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण भैसकेपछि पनि यस्ता कतिपय धेरै नयाँ शव्दहरु प्रयोगमा ल्याए, जसको अर्थ खोज्न शव्दकोष नै पल्टाऊनुपर्दथ्यो। खासमा कम्यूनिष्टहरुको चरित्र नै आलोचकहरुलाई परिवर्तनविरोधी र गद्दार देख्नु हो। दाहालको सचिवालयले पनि त्यहिं विज्ञप्ति निकाल्यो जुन अपेक्षाकृत र चरित्रअनुसार स्वाभाविक नै थियो।

`जनक्रान्तिका उपलब्धी विरुद्ध प्रतिगामी तत्वहरुबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुश्प्रयास भइरहेको उल्लेख गरिएको छ। क्रान्तिकारी पार्टी र नेतृत्वप्रति जनतामा भ्रम छर्न अनर्गल, तथ्यहीन र भ्रामक कुप्रचारमा लागेका छन्।´ दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’ बाट जारी भएको विज्ञप्तीको भाषा हो यो।  `दुरासयपूर्ण अभिव्यक्ति अग्रगामी परिवर्तनको नेतृत्वलाई जनतामा बदनाम गराउने प्रतिक्रान्तिकारीहरुको षडयन्त्रपूर्ण भ्रामक प्रचार मात्र हो। कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पङ्क्ति एवम् जनसमुदायमा हार्दिक अपील गर्दछौं। षडयन्त्रपूर्ण र झुटा प्रचार गर्ने तत्वहरुलाई आवश्यक कारबाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौं।´ भनेर हिजो विज्ञप्ति नै जारी भएको रहेछ।

पहिलो त जनयुद्धको औचित्य के? म आज पनि त्यहिं प्रश्न गर्छु, जुन हमेशा गर्दै आईरहेको छु। औचित्यै पुष्टि हुननसकेको जनयुद्धको उपलव्धी के? परिवर्तन भयो के? जनजिविकाको सवालमा कस्तो प्रभाव पर्नुपर्थ्यो कुन असर पार्दैछ परिवर्तनले? यौटा राजा फ्यांकेर सयौं राजा जन्मिनुलाई नै परिवर्तन मान्ने हो भने त कम्यूनिष्टको नजरमा हामी गलत कुराको प्रतिकार गर्ने स्वतन्त्र नागरिक परिवर्तनविरोधी, प्रतिगामी तत्व, प्रतिक्रान्तीकारी तत्वको रुपमा देखा परौंला। तर, मूल प्रश्न त अझै यहिं नै हो कि जनयुद्धको औचित्य के? ६२/६३ सालको आन्दोलनको उद्देश्य के र गणतन्त्रमा उपलव्धी के?

जनयुद्धमा माओवादीले भौतिक सम्पत्ति, नगद र गरगहना नलुटेको होईन, संख्यात्मक मात्रामा हैन, गुणात्मक मात्रामा लुटेको हो। ठूला ठूला व्यापारी, उद्योगीदेखि लिएर आम नागरिकसम्मलाई धम्याएर हुन्छ कि कन्चटमा बन्दुकको नाल तेर्स्याएर हुन्छ जवर्जस्ती चन्दाआतंक र लूट मच्च्याएकै हो। भौतिक संरचना ध्वस्त पारिएकै हो भने १० बर्षे जनयुद्धले हजारौंका परिवार उजाड बनाएकै हो, मुलुक पचासौं बर्ष पछाडी धकेलिएको हो। यतिमात्र लेख्दैमा तिनै महान परिवर्तनकारी कम्युनिष्टहरुको नजरमा हामी परिवर्तनकारी, प्रतिगामी, प्रतिक्रान्तिकारी, गद्दार, जल्लादजस्ता तत्वको रुपमा चित्रित हुन्छौं भने पनि हामिलाई केहि आपत्ति छैन, किनकि जब उनीहरुले नै जनयुद्धको औचित्य पुष्टि गर्न सकेका छैनन भने उनीहरुले हामिलाई त्यस्तो तत्व देख्नु स्वाभाविकै हो। हतास र क्रूर मानशिकताले कसैलाई पनि राम्रो देख्दैन।

हिजो गोल्डस्टार जुत्ता, यौटा टिसर्ट र यौटा उध्रीनै लागेको पाईन्टबाट जनयुद्धको शंखघोष गरेका ति तमाम `क्रान्तीकारी´हरुलाई हामीले पनि चिनेका छौं, जानेका छौं। घरमा यौटा गुन्द्रुकको झोल उमाल्न पनि (भुटन) तेल नभएर कसैकोमा गएर मागेर गुन्द्रुकको झोल उमालेर खाने ती महान क्रान्तीकारीको हैशियत आज शहरमा विराजमान छ। सूर्ती किन्ने १० रुपियाँ नभएर हात फैलाऊन बाध्य ती महान क्रान्तीकारीहरु आजभोली हामिलाई चिन्नै नसक्ने हैशियतमा छन। जागिर गरेछ कि भनेर बुझ्यो, जागिर छैन, ब्यवसाय गरेको छ कि भनेर बुझ्यो, ब्यवसाय पनि छैन। पुर्ख्यौली सम्पत्ति कति थियो र जुन बिक्न पनि नसक्ने अवस्थाको ज्यथा थियो। भनेपछि यी सवै `महान अग्रगामी छलाङ्ग´हरु के जनयुद्धका उपलव्धी थिएनन र?

यी त भए रसातलका कुरा, जमीन नै टेकेका कमरेडहरुले आजकल जमिन टेक्नै छाडेका छन। टन्न मात्रमा घर, गाडी, जमीन, बैंक ब्यालेन्स, सयर, मोज, आराम, विलाशिता आजकल कम्यूनिष्ट चरित्र भनाऊँदाहरुको रोजाईंमा परेको छ। हिजो गोल्डस्टार ब्राण्डको जुत्ता लगाएर कथित `क्रान्ती´ गर्न निस्किएका ती तमाम कमरेडहरु आज नवधनाड्यवर्ग, नवसम्भ्रान्तवर्ग, नव पुँजीपतिवर्ग, नव सामन्तवर्गमा उक्लेका छन। जमिन टेकेर परिवर्तन गर्न हिंडेकाहरुको खुट्टा आजकल जमिनमैं छैनन। के यो जनयुद्धको उपलव्धी थिएन? के यो गणतन्त्रको संस्थागत उपलव्धी होईन? तिनै नवसम्भ्रान्तवर्गमा उक्लिएका हिंजोका गोल्डाटारछाप जुत्ताधारी कमरेडहरुले आलोचक या आम नागरिकलाई परिवर्तनकारी, प्रतिक्रान्तिकारी, षड्यन्त्रकारी तत्व देख्नु के नौलो कुरा भयो र?

    जनयुद्धमा मात्रै के? शान्तिपूर्ण राजनितिमा समेत आईसकेपछि तत्कालिन माओवादी लडाकू शिविरको नाममा नराम्रोसंग मुछिएको होईन? लडाकू कमाण्डरदेखि लिएर पार्टि कमाण्डरसम्म यो काण्डमा के मुछिएका होईनन? तल्लोस्तरका लडाकूको पैसा कमाण्डर लडाकूले झ्वाम पार्ने, सम्पूर्ण लडाकूको रकम पार्टि कमाण्डर तहमा बसेकाले झ्वाम पार्ने गरेको तथ्य खुलेको होईन? माओवादी लडाकु शिविरको व्यवस्थापन तथा लडाकुको भरण पोषणको नाममा भएको करिब २० अर्ब रूपैयाँमा भएको अनियमितताका बारेमा अख्तियारले अनुसन्धान शुरु गरेको होईन? शिविरमा रहेका तत्कालीन माओवादी लडाकुको तलब भत्तालगायतका विषयमा राज्यकोषबाट खर्च भएको रकममा चरम भ्रष्टाचार भएको आशंकामा अख्तियारले शान्ति मन्त्रालयलाई पत्राचार गरेको होईन?

करिब एक हजारभन्दा बढि पृष्ठको अनुसन्धानको फाइलले तत्कालीन माओवादी लडाकुका सर्वोच्च कमाण्डर तथा पार्टि अध्यक्ष पुष्पकमल दाहाल र लडाकु प्रमुख नन्दबहादुर पुन पासाङमाथी के यो मुद्धा सोझिएको थिएन? सत्ता, शक्ति र राजनितिको चरम दुरुपयोग गरेर अदालत, अख्तियार र सिंगो पद्धतिलाई नै ध्वस्त बनाएर उक्त मुद्धाबाट तत्काललाई किनारा लाग्न सकेपनि कुनैदिन यहिं मुद्धाले नपोल्ला भन्न सकिन्न। लडाकूका नाममा आएको रकममात्रै होईन, सेना समायोजन भत्ता, लेबी र मासिक शुल्क जम्मा गरेर दाहाललाई बुझाएका समाचार पनि एकपटक सार्वजनिक भएका थिए। त्यस्तै, माओवादी शान्ति प्रक्रियामा आएपछि प्रत्यक्ष रूपमा ७ वटा मुख्य र २१ वटा सहायक शिविरको नेतृत्व गरेका पासाङले शिविरमा भएको अनियमिततामा आश्चर्यजनकरुपमा मौनता साँधे र अन्तत: आफू मृगौला फेल भएको भन्दै उम्किएका होईनन? कृष्णबहादुर महराले विस्तृत शान्ति सम्झौता भएको दिन २०६३ मंसिर ५ गते सात करोड रूपैया पेश्की लिएर लडाकुका कमाण्डर पासाङलाई दिएका थिए । उनले मंसिर ५ देखि चैत ९ सम्मको ४६ करोड १० लाख रूपैयाँ लिई लडाकुका कमाण्डरलाई सुम्पिएका थिए । त्यसको पेश्की अझै सरकारी निकायहरूमा फछ्र्यौट भएको छैन। आखिर कहाँ गयो त त्यो रकम? कसैलाई पत्तो छैन। शान्तिप्रक्रियामा आईसकेपछि तत्कालिन माओवादीले लडाकूको नाममा मात्रै होईन, तिनिहरुको भत्ता, रासनपानी, लत्ताकपडा, अस्थायी टहरालगायत अनेकन शिर्षकमा ठूलोमात्रामा घोटाला गरेको थियो। एकहिसावले माओवादीले आफ्ना लडाकुलाई दुधालु गाई बनाएको थियो । त्यसैले नेताहरूले लडाकुको संख्या भेरिफिकेशन गराउन मान्दैनथे। र, लडाकुसम्बन्धी थप काम गर्न पनि चाहँदैनथे । लडाकुको नाम लिएर राजनीतिक सौदाबाजी गर्नु र तिनको नाममा आउने मोटो रकम पार्टीका नाममा राख्नु उनीहरूको मनसाय रहेको प्रष्टै बुझिन्थ्यो।

लडाकू काण्डसंगै सत्ताको रस्वादान, अनेकन धाकधम्की, सुरुङ्गयुद्ध सवै सिद्ध्याएर आफै एमालेमा विलय हुन पुगेको तत्कालिन महान गौरवशाली पार्टि माओवादीसहित बनेको नयाँ र जम्बो नेकपामा तिनै क्रान्तीकारी वर्ग पनि छन जहाँ पार्टीमा कहाँबाट पैसा आउँछ, कहाँ भ्रष्टाचार गर्न पाइन्छ तथा कमिसन पाइन्छ भनेर हिँड्नेको जमात छ। देव गुरुङ्गले त्यतिबेलै भनिसकेका थिए: ठेक्कापट्टालगायत लडाकु शिविरमा भएको घरटहरा बनाउन पनि अरुलाई नदिनु, जसरी पनि करोडपति तथा अर्बपति बन्ने चिन्तन प्रवृत्ति हाम्रा कमरेडहरुमा बढ्दै गयो भनेर। उनले उतिबेलै भनेका थिए– “नेपालको इतिहासमा अहिलेको जस्तो भ्रष्टाचारी प्रवृत्ति कहिल्यै थिएन । यो भ्रष्टाचारको उत्पत्ति भनेको वर्ग उत्थान नै हो । कस्तोसम्म देखा पर्‍यो भने कांग्रेस र एमालेलाई पनि माथ गर्ने खालेको छ । उनका लागि पैसा जम्मा गर्नु कुनै नयाँ नौलो थिएन । यो चिन्तन फेरि राष्ट्रिय समर्पणवादी चिन्तनबाट आएको हो ´´ भनेर। अब पनि प्रचण्डमाथी लागेको यो आरोपलाई शान्तिप्रक्रिया विरोधी, क्रान्तीविरोधी, परिवर्तनविरोधी, प्रतिक्रान्तीकारी, षडयन्त्रकारी तत्व भनेर दाहालले खण्डन गरिरहने, हामी जनता सुनेर बसिरहनेमात्र हो कि हाम्रा नेताको बैध, अवैध सम्पत्तिको बारेमा खोजविन पनि गर्ने हो? किनकी हावा नचली पात त हल्लिन्न, हल्लिंदोरहेछ र?

ट्विटर : @Bijay Gyawali14

यो पनि पढ्नुहोस:दक्षिण एशियाको राजनितिमा मोदि पुनरोदयको प्रभाव

: हिन्दी भाषाले के राष्ट्रियतामा आँच आऊँछ?

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८