काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याएर देखाउने दावी गरेका छन् ।
पार्टीको काठमाडौं जिल्ला कमिटीले शनिबार आयोजना गरेको बैठकमा बोल्दै उनले पार्टीमा खुट्टा तान्ने तत्वहरु अब पार्टी भित्र नरहेकाले बहुमत ल्याउन सकिने उनको तर्क थियो ।
अबको निर्वाचनमा बहुमत ल्याएर देखाउँछौं। किनभने पार्टीमा खुट्टा तान्ने तत्वहरु छैनन् । अगाडि बढ्न खोज्यो, खुट्टा तान्ने, उम्मेदवार बनाउन खोज्यो नजित्नेलाई अघि सार्ने, जो पार्टीप्रति समर्पित छैन उसलाई उम्मेदवारको रुपमा अघि सार्नु पर्छ भन्ने, उनले भने, अहिले फ्लोर क्रस गरेर शेरबहादुर देउवाका पछिपछि कुद्ने छन् नि, यस्ता तत्वहरु नभएपछि पार्टीले स्पष्ट बहुमत ल्याउनेछ ।
अध्यक्ष ओलीले आगामी निर्वाचनमा पार्टीले सशक्त हैसियत देखाउनुपर्ने उल्लेख गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजान पार्टीका सबै नेता, कार्यकर्ताहरुलाई योगदान गर्न पनि आग्रह गरे । उनले अगाडि भने, अब यस पार्टीले आगामी निर्वाचनमा सशक्त हैसियत विजयका साथ देखाउनु पर्नेछ ।
म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु, स-साना कुराहरुमा नअल्झिकन, आन्तरिक मनमुटाव नराख्न, म कहाँ परे, मेरो पद कहाँ पर्यो भन्ने कुरामा ध्यान नदिई उपयुक्त ढंगले कार्य विभाजन गर्न, उपयुक्त ढंगले उम्मेदवार चयन गर्न र एकतावद्ध अनुशासित ढंगले पार्टीलाई अघि बढाउन हामी सबैको योगदान चाहिन्छ । –नागरिक