बैतडी : बँदेलका लागि बिच्छयाइएको विद्युतीय धरापमा पर्दा बैतडीमा दुई दाजुभाइको मृत्यु भएको छ । करेन्ट लागेर सुर्नया गाउँपालिका-५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको मृत्यु भएको हो ।
गएराति घर नजिकै रहेको मकैबारीमा बँदेलका लागि बिच्छयाइएको बिजुलीको तारमा पर्दा उनीहरुको मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।
उनका अनुसार बँदेल मार्न मकैबारीमा करेन्ट छाडिएको थियो । उनीहरु बँदेल धपाउन मकैबारी गएका बेला करेन्ट लागेको भन्ने अनुमान गरिएको छ ।
घटनाका अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।
बैतडीका धेरैजसो ठाउँमा लगाइएको मकैबाली बँदेलले नष्ट गर्न थालेकाले किसानलाई बाली जोगाउन धौ-धौ परेको छ ।