दशैं अर्थात आफन्त भेटघाट हुने उल्लासको पर्व, जसलाई देवीको आराधना गरेर मनाइन्छ। महिला अरु रुप र नातामा हेपिए पनि जन्मदात्री र जगन्माता भगवतीको रूपमा सबै ठाउँमा पुजिन्छिन्।
सबैभन्दा धेरै दिनसम्म मनाइने र लामो बिदा हुने भएकोले पनि दशैं लाई बडादशैँ भनिएको हुनसक्छ। यो पर्व धनी गरीब सबैको घरमा उत्तिकै हर्षका साथ आफ्नो गच्छेअनुसार खर्च गरेर मनाइन्छ।
सुख र खुशी गरीबको घरमा आउँदैन र टिक्दैन पनि। तर, दशैँको बहानामा कर्कलोको पातमा अडेको पानी झैं केहि समयको लागी भए पनि गरिबहरु यो पर्वको माध्यमबाट खुशी हुन्छन्। दशैं भन्नासाथ सम्झनाका पारिजात फूलहरु मेरो मनको मझेरीमा खस्न थाल्दछ र मेरो उदास वर्तमानलाई केहीछिनलाई भए पनि सुगन्धित बनाएर जान्छ।
दशैँमा स्कूलमा लामो छुट्टी हुन्छ जसले गर्दा पढाईको बोझ हटेर आफ्नो मनमर्जीले खानपिन र अन्य काम गर्ने छुट हुन्छ। दशैं भरि आमाले मनलागेको खान, किन्न र घुम्न स्वतन्त्र छोडिदिनु हुन्थ्यो। बिहान मन्दिर गयो, दिऊंसो दशैँको किनमेल र साँझमा मेला हेरेर बिताइन्थ्यो।
दशैँको त्यो मेलामा अरुबेला नपाइने मधेशका अलौकिक चीजहरु पाइन्थ्यो। सस्तो र केही बेरको मनोरन्जनका लागि किनिएका ती सामानहरु घर आइपुग्दासम्म सपना झैं टुटीफुटी सक्दथे। भोलिपल्ट फेरि त्यहिं सामान किनेर ल्यायो आमाले गाली गरे पो त !
दशैं भरि नाश्ता र रातिको खाना मलाई मन परेको फर्माईसमा आमाले आफै वा भाउजूले पकाउनुहुन्थ्यो। वीरगञ्ज ठेठ मधेश अनि त्यहाँको मेला र भीडमा रमाउने माहौलले गर्दा दशैँलाई बढि नै रोमाञ्चित बनाईदिन्थ्यो। मेलामा सबैभन्दा पहिला आँखा फुकौना (बेलुन) मैं पुग्थ्यो त्यसपछि दशैँमा पाएको दक्षिणा जम्मा गर्न माटोको भुडकी (खुत्रुके) र माटोकै जातोमा पुग्नेगर्दथ्यो। फुकौना बाटैमा फुटिसक्थ्यो भने जाँतो एकदिनभरिको पाहुना। भुड्कीचाँहि आफैले जान्ने भएर नफोडेसम्म रहन्थ्यो।
नगवाको बौद्धिमाईमा महानवमीको दिनमा लाग्ने यो मेलामा वलि चढ्ने भए पनि हामीलाई वास्ता हुन्थेन। मात्र पिङ्गमा मच्चिन र यिनै माटाका भाँडामा मेरो मनको दशैँ गएर अड्किन्थ्यो।
माईस्थान, गहवामाई, वीर्तामाई, भुटनदेवी, वौद्धिमाई, कालीमाई, वाराको गढीमाई र अलौको विन्ध्यवासिनी देवीको दर्शन गरेर नौरात्र बित्दथ्यो। त्यसमा पनि माईस्थान र वीर्तामाई नजिकै भएकोले सधै गईन्थ्यो आमाको पुच्छर बनेर।
सानोमा यही माईस्थान मन्दिरमा महाष्टमीको दिन बिहान सबेरै आमासँग देवीको खोँईच भर्न गएको बेला पछाडि रहेको जल सेलाउने कुण्डमा म पूरै डुबेकी थिएँ। नया फ्राक लगाएकी म पूरै भिजेपछि प्रहरीले मलाई निकालेको अहिले पनि याद आउँछ।
लेखकद्वारा थप – महिला स्वतन्त्रता की पुरुषसँग होडवाजी ?
घर वरिपरि मधेशी समाज थियो। आमालाई सबैले दिदी भन्थे र खुबै मान्थे पनि। नवरात्र लागेपछि वरपरका छिमेकीले भोजपुरीमा आमालाई सोध्दथे ‘बेटा सब दशैँ में न आई दिदी?’ आमाले जवाफ दिनुहुन्थ्यो- ‘फूलपाती के दिन तक सब लोग आ जाई तब नू दशैँ लागी हमनी के।’
काठमाण्डौं, विराटनगर र नेपालगन्ज सरुवा भएर गाका दाइहरु दशैँको लामो विदामा घर आएपछि बल्ल हामिलाई दशैँ लाग्दथ्यो। सप्तमीको दिन दाईहरु आएपछि पहिले नै किनेर राखेको खसी अष्टमीको दिन काटिन्थ्यो। बरण्डा धोएर त्यहाँ काटेको खसी राखेर दाइहरु त्यसमा हल्दि दल्दथे, हामीचाँहि बसेर रमिता हेर्थ्यौं।
मलाई माछामासु सानैदेखि त्यति मन परेन। खालि गुलियो मात्र मन पर्ने। तर सानैमा निकै बिरामी र रोगी भएकोले त्यो घरमा काटेको खसीको मुटुकलेजो र कान पोलेर मलाई नै ख्वाइन्थ्यो। खान नमाने दाइहरुले जबरजस्ति मुखमा ठुसीदिन्थे। खसी काटेपछि त्यो नगन्हाओस् भनेर त्यसको सुख्खा कबाब बनाएर राख्नु हुन्थ्यो, जुन दशैँको दिन आमाको हातबाट टीका लगाउन आएकाहरुलाई च्यूरा र दहीसँग दिन्थ्यो।
भ्रष्टाचारमा आत्मनिर्भर – बिम्मी कालिन्दी शर्मा
दशैंको दिन बिहान दहिच्यूरा मासु खाइन्थ्यो भने बंचेको टुक्राटाक्री मासुलाई बेलुका लौका हालेर लदबद पारेर आमाले पकाउनु हुन्थ्यो र त्यसैसँग बेलुका भात खाइन्थ्यो। बिहान भात खान नपाएको र भोलिपल्ट पनि एकादशी भएकोले दशैँको दिन बेलुका भात खानै पर्थ्यो। एकपल्ट अष्टमीको दिन खसी छिनाल्नै लाग्दा एकदमै नराम्रोसँग करायो, आमाले खसी कराएको आवाज सुन्न सक्नु भएन र कोठाको झ्यालढोका थुनेर आफ्नो कान पनि थुन्नु भो र दाइहरुललाई उर्दि दिदैँ भन्नुभयो- ‘म यस्तो निरीह खसीको आवाज सुन्न सक्दिन, अर्को वर्षदेखि खसी काट्ने हैन, मासु नै जति चाहिन्छ किनेर ल्याउनु र खानु´।
म नौदिनसम्म चण्डीपाठ गर्ने भएकोले मेरो छुट्टै मानमनितो हुन्थ्यो। आमाले पाठ गर्नकालागि छुट्टै लुगा सिलाइदिनुहुन्थ्यो। त्यसपछि मनलागेको खाने, घुम्ने र मन परेको किन्न आमाले रोक्नु हुन्थ्यो। अँ एउटा काम गर्नु पर्थ्यो, घरमा पारिजात फूलको ठूलो बोट थियो, त्यो फूल बिहान सधै ढक्कीमा बिछेर ल्याउने र गनेर आमालाई दिनु पर्थ्यो। आमाले त्यो फूल स्वर्गबाट आएको फूल भएकाले यसको छुट्टै महत्त्व छ भन्दै भगवानलाई अञ्जुलीभरि गनेर चढाउनु हुन्थ्यो।
पारिजात र दशैँ एक अर्काका पर्याय हुन् मेरा लागी। पारिजात फूल देखेपछि म बाल्यकालको त्यो गल्लीमा हराउन थाल्छु जसले मेरो वर्तमानलाई सुगन्धित बनाउँछ। पारिजात दशैँको नमेटिने ‘बिम्ब’ हो मेरा लागी। नवरात्रको एकदिन अघाढि नै आमाले पारिजातको बोटमुनी गोबरले लिपिदिनुहुन्थ्यो। जसले गर्दा फूल बिछ्न हामीलाई सजिलो हुन्थ्यो।
जनता बहुलाउने जनवाद ! – बिम्मी कालिन्दी शर्मा
चण्डीको किताब संस्कृतमा थियो। पहिलोपटक चण्डीपाठ गर्दा म सात कक्षामा पढ्दैथिएँ। संस्कृतको उच्चारण गर्नै गार्हो हुन्थ्यो र पाठ गर्न दिनभरि नै लाग्थ्यो। बिहानको खाना खाएर सबै उठिसक्थे, म दिऊंसो एकबजेसम्म पाठ गरिरहन्थें आमा भान्सा कुरेर बस्नु हुन्थ्यो। अरुले मलाई खाना पस्केर दिएको आमालाई मन पर्दैनथियो। आफ्नै अंघाढि राखेर खुवाऊनुहुन्थ्यो। तर बिस्तारै बानी परेपछि चण्डीपाठ मुखाग्रै हुँदैगयो र छिट्टै सकिन थाल्यो।
नौदिनसम्म चण्डी र जमरामा चढाएको सबै भेटी मेरो हुन्थ्यो र त्योबाहेक पनि आमाले छुट्टै र धेरै दक्षिणा दिनुहुन्थ्यो। जसलेगर्दा दशैँ मेरालागि आमा हुन्जेलसम्म विशेष नै रह्यो।
दशैंको दिन टीका लगाउँदा लगाउने नयाँ लुगा विशेष हुन्थ्यो । बाहिरी लुगा मात्रै हैन भित्र लगाउने लुगा पनि नयाँ अनि हेयरबैण्ड, क्लिप, लेवेन्टोकी, नेलपॉलिश र जुत्ता सबै नयाँ हुन्थ्यो। केटाकेटी उमेर हुनाले पनि यी सबै चिजबिजमा मन भुल्दथ्यो। आमाले पनि मन खोलेर किनिदिनु हुन्थ्यो। दशैंको दिन पाठ सकेर पुजा विर्सजन गरेपछि आमाले मलाई छोरी अनि कन्या पनि भनेर पूजाकोठा मै टीका लगाइदिनु हुन्थ्यो। त्यसपछि घरका सबैले आमाको हातबाट टीका लगाउँथे।
व्यङ्ग्य – ज्ञानेन्द्रको छैँया, छैँया…….. – बिम्मी कालिन्दी शर्मा
मेरो काम भनेको आमाको दक्षिणा गन्ने र आमाको हातबाट टीका लगाउन आउनेहरुकालागि खाममा दक्षिणा ठिक्क पार्ने थियो। जमरा, टीका र फलफूल सकियो भने पूजाकोठाबाट ल्याएर आमालाई दिने र मासु च्यूरा खान नमान्नेहरुलाई मिठाई र आमाले आफ्नै हातले बनाएको सुजीको लड्डु र खजुरी खान दिने गर्नुहुन्थ्यो। पाँच दिनसम्म टीका लगाउन को को आए र पोहोर आएकाहरु यसपालि किन आएनन् यी सबैको खोजिनिधीदेखि आमाले दक्षिणा दिएर खर्च भएको पैसाको हिसाब राख्दै मेरो दशैँ सकिन्थ्यो।
अन्तिम दिन कोजाग्रत पूर्णिमामा आमाले लक्ष्मीपूजा गरेर पाथीमा चामल राखेर त्यसमाथि अखण्ड बत्ती बाल्नु हुन्थ्यो र प्रसादको रुपमा मखनाको खीर बनाएर चढाउनुहुन्थ्यो, जुन खीर मलाई आति नै मन पर्थ्यो।
कोजाग्रत पूर्णिमाको राती अमृत बर्सिने जनबिश्वासका कारण आमाले छतमा दूध राखेर भोलिपल्ट बिहान त्यहिं दूधको चिया बनाउनुहुन्थ्यो। कोजाग्रत पूर्णिमाको राती अरुबेला तास नखेल्ने मेरी आमा लक्ष्मी खुशी हुन्छिन् बन्दै ‘सत्र’ खेल्नुहुन्थ्यो। आमा बीच बीचमा उठेर घरको ढोकामा बालिएका दियोमा तेल पनि थप्दै जानुहुन्थ्यो। आमा भन्नुहुन्थ्यो- ‘औँशीको रातमा कालीपूजा हुन्छ लक्ष्मीपूजा हैन। वास्तविक लक्ष्मीपूजा कोजाग्रत पुर्णीमाको दिन नै गर्नु पर्दछ।
मेरोलागि दशैं भनेकै आमाको पछि लागेर मन्दिर धाऊँदै मनाइने पर्व हो। आमा यस धर्तीबाट बिदा भएसंगै मेरा लागी पनि दशैँ सधैका लागी बिदा भएर गयो र दशामात्र बाँकी रह्यो। अहिले पनि पारिजात उसैगरि फुल्दछ, देवीको मूर्ति स्थापना गरेर ठाउँ-ठाउँमा पूजा पनि गरिन्छ, पिङ्ग पनि झुल्दछन्, मेला पनि लाग्दछन। तर देवीजस्ती मेरी आमा गएपछि दशैँ मेरालागि पारिजातको फूल भएर आँखाबाट झर्छ।
कोरोनाको बिश्व भ्रमण – बिम्मी कालिन्दी शर्मा
प्रकशित मिति : २७ असोज २०७८ बुधवार।
जागरणपोस्टलाई ट्विटरमा फ्लो गर्नुहोस – @jagaranpost1