काठमाण्डौ : सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ८७.६३ अंकले वृद्धि भएर २६ सय ७२.२५ विन्दुमा पुगेको छ । नेप्से बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । यसदिन २२९ कम्पनीको ८३ लाख ९५ हजार ८६४ कित्ता शेयर ४ अर्ब ३० करोड ८८ लाख रुपैयाँमा कारोबार भयो । कारोबारको अघिल्लो दिन आइतबार नेप्से २७ अंकले बढेर २५ सय ८४.५२ विन्दुमा अडेको थियो । सो दिन २२५ कम्पनीको ५८ लाख १८ हजार २५ कित्ता शेयर दुई अर्ब ७७ करोड ३४ लाख मूल्य बराबरमा खरिदबिक्री भएको थियो ।
यसदिन ठूला कम्पनीको शेयर कारोबार मापन सेन्सेटिभ इण्डेक्स पनि वृद्धि भएको छ । इण्डेक्स १३.६१ अंकले वृद्धि भएर ५०४.५७ विन्दुमा अडेको छ । कारोबारमा आएका १३ वटै समूहको शेयर परिसूचक बढेको छ । वित्त र जलविद्युत समूहको परिसूचक सर्वाधिक क्रमश ७.८१ र ७.५७ प्रतिशतले बढेको छ । यस्तै, लगानी समूहको ४.२२ प्रतिशतले बढ्दा विकास बैंकको परिसूचक ६.५ प्रतिशतले बढेको छ । जीवन विमाको ३.७३, अन्यको २.६३, र बैंकिङको २.०७ प्रतिशतले परिसूचक बढेको छ । बाँकी अन्य समूहको शेयर मूल्य पनि वृद्धि भएको छ । सोमबार दर्जन बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।