स्तन क्यान्सर ले गर्दा जिन्दगीभर अथाह पीडा र पारिवारिक टर्चर सहेर पनि अन्त्यमा महान परोपकारी कार्य गर्दै यस धर्तीबाट बिदा हुने साहसी महिला हुन- सीता ज्ञवाली, फेसबुकमा सीता ज्ञवाली `सितु´ भनेर नाम छ।
जन्म गुल्मीको बलेटक्सार। बिबाह पाल्पाको एक ढकाल थरको शिक्षकसंग, जसले बिज्ञान बिषय पनि पढाऊने गर्दथे।
दुई छोराकी आमा, बिगत ५ बर्षदेखि स्तन क्यान्सर ले प्रताडित थिईन। क्यान्सरकै कारण उनका दुबै स्तन काटेर फालिएका थिए।
जब उनलाई स्तन क्यान्सर लागेको थाहा भयो, शिक्षित भनिने उनका श्रीमान, जसले बिज्ञान बिषय पनि पढाऊँदथे उनको साथ छोडे। उनका श्रीमानले उनको साथ मात्र छोडेनन, उल्टै उनलाई बोक्सी, टुनामुना जानेकी भनेर अनेक आरोप पनि लगाए। क्यान्सरले जलिरहेको उनको छातीमा उनका श्रीमानले निरन्तर पेट्रोल छर्किंदै आए।
माईतमा बाऊ थिए, आमा थिईन अनि आमासंगै थिए अन्य माईती सदस्य पनि। अनि थिए दुई साथ दिने दिदी र बहिनी।
सिताको बा को बलेटक्सार चोकमैं राम्रै चल्दै आएको कपडा र फेन्सी पसल थियो। मान्छे होंचा होंचा भएता पनि समग्रमा खानदानी नै देखिन्थे।
छोरीको बिहे गरिदिएपछि आफ्नो दायित्त्व पूरा भयो भनेर उम्किएका सिताका बाले आमाको मृत्युपछि त झनै हेर्न छोडेको भनेर सीता दिदिले बारम्बार गुनासो गरेकी थिईन।
यता रोगले च्यांप्दै गयो, उता श्रीमानले छोडेर गए। उनका श्रीमानले उनलाई छोडेनन मात्रै, बारम्बार फोनमार्फत बोक्सेनी, टुनामुना जानेकी, अलक्छिनी, भन्दै मृत्युका दिनसम्म पनि टर्चर दिंदै गए। जो- बिज्ञानका शिक्षक थिए।
“माईत जाऔं- बा लाई पनि मेरो वास्ता हुनै छाडिसक्यो। माईतीका अन्यले सम्पत्ति खोस्न आएकी भनेर यत्रा आँखा बनाएर हेर्थे। ” – सिताले मसंग म्यासेन्जर कुराकानीमा भनेकी थिईन। जिन्दगीका अथाह गुनासाहरु पोख्दै दिदी भन्थिन- ” एकातर्फ शरीरभरि काटेका घाऊ नै घाऊ छन, अर्कातर्फ आफूले सर्वश्व सुम्पिएको श्रीमान र माईतीले हेला गर्दा मन त्यसै छिन्नभिन्न भएर आऊँछ भाइ।”
- निको नै नहुने क्यान्सरजस्ता गम्भिर रोगको उपचारमा ठूलो धनराशी खर्च नगरौं
- अत्याधिक मदिरा सेवनकै कारण कतै तपाईंको कलेजो र मृगौला फेल त भाछैन? ख्याल गर्नुहोस है!
उनलाई माईतीले हेला गर्नुको कारण अरु केहि होईन, उनको भयानक क्यान्सर नै थियो। उक्त रोगको किमोथेरापीको लागि मोटो रकम खर्च गर्नुपर्ने थियो। सो को लागि न उनलाई जन्म दिने बाऊ तयार भए न नै उनका माईतीका अन्य सदस्य। मात्र आयुर्वेदिक औषधीको भरमा पनि ३/४ बर्ष गुजारिन सिताले। उनका श्रीमान – शिक्षक, त्यहिं पनि बिज्ञानको बिषय पढाऊने श्रीमानको त कुरै नगरौं। उल्टै बोक्सेनी र टुनामुना जानेकी भनेर टर्चर दिईरहे। त्यो थियो उनले बिज्ञान पढाऊने हैशियत।
सिता काठमाण्डौको एक सानो फ्ल्याट भाडामा लिएर बुढी भएकी सासू र उनको जेठो छोरालाई पाल्दै आएकी थिईन। सानो छोरोलाई उनकै श्रीमानले आफ्नै साथमा लगेका थिए। भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहनुपर्ने हुनाले उनले काठमाडौमा यौटा सानो फ्ल्याट भाडामा लिएकी थिईन। तर, बाहिरबाट उनलाई अन्तिमसम्म भरमग्दुर साथ दिने उनकी बहिनी सरस्वती र दिदी कमला थिए। उनीहरुले नै अन्तिमसम्म सिताको दुखपिडामा सक्दो मल्हम लगाऊँदै आए र दाहसंस्कार पनि उनै दिदिबहिनीले पशुपति आर्यघाटमा गरे।

महिलाका पीडा र बाध्यता
दिदी, तपाईंको श्रीमानले तपाईंलाई धोखा दिए, त्यो पनि यस्तो अवस्थामा। अब उसलाई अदालतमा मुद्दा हालेर अंशवण्डा गरिकन प्राप्त रकम या सम्पत्ति बेचेर दिल्लीतिर कुनै गतिलो अस्पतालमा गएर उपचार गरौं भनेर मैले दिदिलाई बारम्बार दबाब दिएँ। तर, दिदिले श्रीमान, परिवार र बालबच्चाको ईज्जतको खातिर मेरो प्रस्ताव कहिल्ल्यै मान्नुभएन। आफू क्यान्सरको राँकोमा दन्किंदै जानुभयो, तर दिदिले मेरो हरेकपटकको दबाब मान्नुभएन।
” जति हुन्छ दिदी, उपचारको लागी आर्थिक संकलन पनि गरौं। कतै गतिलो अस्पतालमा गएर उपचार गराऔला।” जवाफमा दिदिले भनिन – “भाइ अब मेरो उपचार हुनै सक्तैन। क्यान्सर हड्डीसम्म फैलिईसकेको छ। जतिदिन बाँच्छु यसै उपचार र औषधीले बाँच्छु। किनकी मेरो उपचारमा धेरै ढिला भैसकेको छ।”- दिदिले साह्रै दुख मान्दै भनेकी थिईन।
हुनपनि उनको उपचारमा धेरै ढिलाई र आफन्तजनको अभावमा धेरै सास्ती बेहोरिरहनुपरेको थियो। उनको अम्तिम मृत्युसम्म पनि उनकै साथमा रहेका दिदी कमला र बहिनी सरस्वतीलाई पनि आफ्नो घरपरिवार, जागिर पनि सम्हाल्नुथियो। फेरि दुबैजना काठमाडौ बाहिर नै थिए। तैपनि दुबै दिदिबहिनिले जसरि हुन्छ अन्तिम स्वाससम्म साथ दिए।
जति दुख पाएपनि उनको दिशापिसाप सोहोर्न परेन। त्यहिं, मृत्युको अंघिल्लो दिन रात र मृत्युको दिन बिहान दिदी कमलाले दिशापिसाव सोहोर्नुपर्यो। नत्रभने अथाह पिडाका माझ पनि दुख नै लुकाईन मेरी दिदिले – सिताकी बहिनी सरस्वतीसंगको फोन संवादमा उनले मन भक्कानिएको स्वरमा भनिन।
जाँदाजाँदै महादान – आँखादान
सीता भित्र जति पिडामा थिईन, बाहिर भने हजार पीडा लुकाएर मुस्कुराईरहेकी एक चमेली फूल थिईन। जर्कोपर्को काम गर्न नसकेता पनि सामाजिक संजाल फेसबुक र टिकटकमा भने निकै सक्रिय थिईन।
बाँचुन्जेल मृत्युलाई पल पल आफ्नै अंघाढि देखिरहेकी सिताले आफ्नो मृत्युपश्चात आफ्ना आँखा दान गरि कुनै दृष्टिविहिन मान्छेको आँखामा नयाँ ज्योती छरिदिने इच्छा ब्यक्त गरेकी थिईन।
सिताको उक्त चाहना पनि पूरा भएको छ। मृत्युपर्यन्त उनको दुबै आँखा दानको लागि चढाईएको छ। अब उनको आँखाको साहाराले कुनै एक दृष्टिविहीन ब्याक्तिले उज्यालो संसार पाऊनेछ र माथी आकाशतर्फ हेर्दै भन्नेछ – हजुर त कस्तो चम्किली तारा हुनुहुँदोरहेछ। हजुरको प्रकाशले आज मेरो जिन्दगीमा अथाह खुशी छाएको छ।
प्रस्तुती : बिजय ज्ञवाली