संस्कृत भाषा कति कक्षाबाट?

जागरण पोस्ट ४ मंसिर २०७८, शनिबार ०७:२३
            राम लोहनी

नेपाल सरकारले कक्षा एकदेखि नै संस्कृत भाषा पढाउने कार्यक्रम ल्याउँदै गरेको समाचार प्रकाशित भयो। ऐच्छिक र एउटा भाषा विषयको रूपमा पढ्न चाहनेको लागि लागू गर्न लागिएको बताइएको छ।

संस्कृत भाषा बहुसंख्यक हिन्दुहरूको लागि पवित्र भाषा पनि हो। यद्यपि भाषा आफैमा पवित्र र अपवित्र भन्ने हुँदैन, कुनै पनि भाषा सम्बन्धित समुदायको लागि पर्याप्त नै हुन्छ। मानिसहरूले गर्दै गरेको नयाँ नयाँ अनुभव र आवश्यकताअनुसार नयाँ नयाँ अवधारणाहरूको लागि नयाँ शब्द निर्माण हुने र थपिने कुरा स्वाभाविक हुन्। कतिपय शब्द भाषाभित्रैबाट निर्माण हुन्छन् भने कतिपय शब्द अन्य शब्दबाट सापट लिन्छ। नेपालका अन्य भाषा जस्तै संस्कृत एउटा “मातृभाषा” भएकोले यसमा पढाइ सुरु गर्नु पर्ने तर्क गरेको पनि सुनिएको छ।

संस्कृत भाषामा समृद्ध साहित्य छ, दर्शन छ र लामो परम्परा छ। संसारका पुराना कुनै पनि भाषामा भन्दा संस्कृत भाषामा अथाह भण्डार छ। यसमा कसैले विवाद गर्नु पर्दैन। तर संस्कृत भाषा जीवित भाषा होइन। केही व्यक्तिले बोल्दैमा र सन्तानलाई भाषा बोल्न लगाउँदैमा भाषा जीवित हुने होइन। संस्कृतमा बोली फुटेको भन्ने पनि सुन्नमा आएको छ। तर संस्कृत भाषामा झन्डै पच्चिस सय वर्षदेखिको स्थिरता यथावत छ। यो जीवन्त भाषाको लक्षण होइन। संस्कृत भाषामा विकास भएको छैन। यसलाई पुनर्जीवित गरेर समुदायमा बोल्न थालियो र केटाकेटीले प्राकृतिक वातावरणमा सयलाई ग्रहण गर्ने स्थिति बन्यो भने त्यो जीवित हुन सक्ला। जीवित हुँदाको एउटा खतरा के हुन्छ भने यसमा परिवर्तन हुन सुरु गर्छ। आवश्यक, अनावश्यक विभिन्न कारणले भाषामा स्वाभाविक रूपान्तरण हुन्छ। तर पाणीनिले बताएको नियम र पतञ्जलीको व्याख्याबाट बाहिर निस्कन नदिइने हो भने विकास अवरूद्ध हुन्छ। यस्तो स्थितिमा संस्कृतमा गरिएको सञ्चार एस्पेरान्तो जस्ता कृत्रिम भाषामा गरिएको सञ्चारकै स्तरमा रहन्छ।

यो कारण संस्कृत अब अनुसन्धानको भाषा हो। यो भाषामा लेखिएका साहित्य, दर्शन पढ्नको लागि साना केटाकेटीलाई भाषा पढाउने कुरा व्यावहारिक हुँदै होइन। अर्को कुरा संस्कृत भाषाले निश्चित हदसम्म धार्मिक आवरण पाएको छ। यसको प्रयोजन अहिले सीमित भैसकेको छ। दैनिक व्यवहारमा प्रयोग गरिन्न भने र आवश्यक छैन भने साना केटाकेटीलाई त्यो भार किन दिने? पछि उनीहरूलाई इच्छा लाग्यो र त्यो क्षेत्रमा अनुसन्धान गर्न मन लागेको खण्डमा विकल्प छँदैछ। संस्कृत विश्वविद्यालय भनेर सरकारले महत्वपूर्ण लगानी गरिराखेकै छ। साना केटाकेटीलाई ज्ञान दिने भनेको उनीहरूले स्वत: स्फुर्त ग्रहण गरेको भाषामा हो भन्ने सिद्धान्त स्थापित भैसकेको र पहिलो भाषाबाट प्रचलित राष्ट्रिय र अन्तर्राष्ट्रिय भाषामा बिस्तारै स्थानान्तरित गर्दै जाने वैज्ञानिक सुझावको विरुद्धमा विकास हुन स्थगित भैसकेको भाषाको भार थोपर्नु बालबालिका विरुद्धको अपराध हुन जान्छ।

बालबालिकालाई हामी हाम्रा संस्कृती सिकाउँ, हाम्रो समृद्ध परम्पराको जानकारी दिउँ, तर हाम्रा आग्रहहरू नलादौँ। ठूला मानिसहरूले संस्कृत भाषामा सङ्ग्रहित अपार ज्ञान भण्डार देखेर आफ्ना केटाकेटीहरूलाई संस्कृत भाषा सिकाउनुअघि त्यसको उपादेयता बुझ्न सक्नु पर्छ। त्यो भाषा स्यम् आफैले जानेको भए आफू के गर्थेँ हुँला भनेर ठन्डा दिमागले सोच्नु आवश्यक छ। मेरो अनुसन्धानको क्षेत्र, चासोको क्षेत्र र रहरको क्षेत्र भए मैले केही गर्न सकुँला। यदि मलाई त्यता जानु नै छैन भने त्यो अतिरिक्त भार मैले किन बोक्ने? हाम्रा केटाकेटी भोलि के बन्छन्, उनीहरूसँग भएको असङ्ख्य विकल्पबाट उनीहरूले के चयन गर्छन्, त्यसको बारेमा कुनै अनुमान नै नगरी हेरिटेज संरक्षण गर्ने नाममा कुनै पनि कुरा थोपर्नु प्रत्युत्पादक हुन्छ।

कक्षा एकका केटाकेटीलाई संस्कृत भाषा भनेर हामीले सिकाउने के? त्यसका अक्षर र केही शब्द अनि सामान्य केही वाक्य? यो उनीहरूलाई भार मात्र हुन्छ कि उपयोगी पनि हुन्छ? ऐच्छिक भएकोले नपढाउन पनि पाइने तर्क गर्न सकिन्छ। तर त्यसमा लगानी नै किन? अनावश्यक कुरामा आर्थिक र बौद्धिक लगानी गर्नुको सट्टा उपयोगी कुरामा ध्यान दिँदा लाभदायक हुन्छ। बरू त्यसमा अनुसन्धान गर्न वृत्तिहरूको सुरुवात गरौँ न। संस्कृत भाषामा भएको अनुसन्धान र आकर्षणले अन्य भाषाभाषीलाई आफ्नो भाषाको प्राचीनता र जे भएको परम्पराको अनुसन्धान गर्न प्रेरणा मिलोस्। राज्यले त्यसमा पनि सहयोग गरोस्।

संस्कृतलाई एउटा विषयको रूपमा साना केटाकेटीको रूपमा पढाउने होइन, संस्कृत भाषाको समृद्ध परम्पराको बारेमा जानकारी दिने हो। हाम्रो गौरवपूर्ण इतिहासको बोध गराउने हो, सक्छौँ भने। संस्कृतलाई जात र धर्मको सङ्कुचित घेराबाट बाहिर निकाल्न प्रयास गर्नु आवश्यक छ। त्यसकारण बरू तल्लो तहमा जुन भाषा माध्यमबाट पढाइ हुन्छ, त्यही माध्यमको भाषामा त्यो तहका बच्चाहरूले ग्रहण गर्न सक्ने स्तरको पाठहरू राखौँ र पढाऔ, ताकि उनीहरूले हाम्रो इतिहास बुझून्। स्वयम् संस्कृत भाषाभन्दा यो धेरै प्रभावकारी हुन्छ। भोलि उनीहरूलाई त्यो भाषामा थप अध्ययन अनुसन्धान गर्न इच्छा जगाउन सक्छ, यो जानकारीले। तर भाषै पढाउँदा त्यो जागरण पैदा हुँदैन। संस्कृतको उत्थान गर्ने नाममा संस्कृत भाषाप्रति जागरुकता नल्याएर त्यसको विपरित अनावश्यक बहसको खेती गर्दा संस्कृत भाषाको महत्वलाई नै हानि पुग्छ। प्रयोगमा नआउने भाषा पढाउँदैमा भाषाको जगेर्ना हुँदैन। ख्याल गर्नु पर्ने कुरा के हो भने संस्कृत भाषाको जगेर्ना गर्न कुनै आवश्यकता छैन। जुन भाषामा त्यत्रो साहित्यको भण्डार छ, त्यो जोगिने जति जोगिइसक्यो। अब गर्ने भनेको त्यसमा के छ, कस्तो छ भनेर हेर्ने हो। त्यसको ज्ञान अरू भाषामा बिस्तार गर्ने हो। त्यसको लागि एक कक्षादेखि भाषा पढाउनु भन्दा भाषाको बारेमा पढाउनु धेरै उपयुक्त हुन्छ, अनुसन्धान गर्नु, गराउनु धेरै उपयुक्त हुन्छ।

एउटा कुनाबाट नैतिकता आदि सिकाउन संस्कृत पढाउनु पर्ने तर्क पनि आउने गरेको सुनिन्छ। नैतिकता, इमान्दारी, सच्चरित्रता जस्ता कुरा सिक्नु पर्ने सानो उमेरमा अक्षर र व्याकरण पढाउन थाल्ने हो भने ती कुरा चाहिँ उनीहरूले कहिले सिक्ने? खाना खानु पर्ने बेला खेत जोत्न गए जस्तो नैतिकता सिकाउनु पर्ने समयमा नैतिकताको भण्डार छ भनिएको भाषा पढाउन थाल्ने हो भने नैतिकता चाहिँ कहिले सिक्ने? कहिले खनजोत सकेर, कहिले बीउ रोेपेर, कहिले फलेर, कहिले भोजन गर्ने? गोरुभन्दा गाडा अगाडि राख्ने यस्तो शिक्षणले विपरित नतिजा मात्र दिन्छ। त्योभन्दा पनि महत्वपूर्ण कुरा अमूक भाषा जान्दैमा व्यक्तिको आचरण परिवर्तन हुने हाम्रा आग्रहलाई परिवर्तन गरौँ। संस्कृत भाषामा सङ्कलित, अभिलिखित कुरालाई अन्य भाषामा रूपान्तरण गरेर पनि पढाउन सकिन्छ। भाषा आफैमा कुनै पनि प्रकारको सच्चरित्रताको संवाहक होइन, कारक होइन। भाषाद्वारा अभिव्यक्त गरिने विषय महत्वपूर्ण कुरा हुन्। ती कुरा जुन भाषामा सिकाए पनि फरक पर्दैन। मुख्य कुरा बच्चाहरूले ती कुरा ग्रहण गर्नु पर्यो। भाषा त भोलि सिक्न पनि सकिन्छ, उनीहरूलाई इच्छा लाग्यो भने। त्यसको विकल्प छँदैछ।

(प्राध्यापक, त्रिभुवन विश्वविद्यालय)

twitter.com @jagaranpost

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९