यौटा ब्यंगात्मक कविता- `हामी बालक नेता´

जागरण पोस्ट ५ मंसिर २०७८, आईतवार ०६:०७
भानुभक्त आचार्य/ क्यानडा।

पचास – साठी नाघेकालाई
युवा नेता भन्ने मुलुकमा
बालक कति वर्षको हुन्छ भनेर
बेलाबेला गम खान्छु म ।

आमा- बा को नजरमा
तपाईंहामी सधैं बालक,
‘यसले कसरी गरिखाला’ भन्ने चिन्ताबाट उहाँहरुलाई मुक्त गर्दैमा जिन्दगी जानेभो ।

श्रीमान–श्रीमतीले पनि बेलाबेला
एकआपसमा ‘बेबी’ भनेर
अझै बालक भएको जनाउ दिन्छन् ।

केटाकेटीसँग कहिलेकाँही खेल्दा त
तोते बोल्नु पर्यो, चारपाउले हिड्नु पर्यो ।
केही थाहा नपाए जस्तो गर्नुपर्यो ।
अर्थात् बालक हुनै पर्यो ।

राजनीतिक दलका नेताहरुले पनि
हामीलाई बबुरो नै सम्झिन्छन् ।
‘जति ढाँटे’नि थाहा पाउँदैनन्’ भन्ने सोच्दा हुन् ।
आश्वासन माथि आश्वासन खन्याउँछन् ।
त्रिसट्ठी सालमा प्रचण्डले बालुवाटरबाट
‘अबको पाँच वर्षमा सिंगापुर’ भनेको,
ओलीले पहिलो कार्यकालमै
‘एक वर्षमा तुइन विस्थापन’ भनेको,
‘घरघरमा पाइपमा ग्यास’ भनेको
हामीले बिर्सेका छैनौ,
तै पनि हामी
‘हजूरका सपना महान्’ भन्दै
परर्र तालि बर्साउँछौं
अबोध बालक भइटोपल्छौं ।

शिक्षकका लागि त विद्यार्थी सधैं बालक
जानिसकेको कुरा पनि फेदैदेखि सिकाउँछन् ।
व्यापारीले ग्राहकलाई बालकै सम्झ्या छन्
‘परल मूल्यमा घाटै खाएर दिएको’ भन्छन् ।
विचरा ग्राहक,
मुसुक्क हाँसेर बालक भइटोपल्छ ।

कानुनले पनि बालक बनाउँछ बेलाबेला ।
१६ वर्षमा नागरिकता दिएर
१८ वर्षमा वयस्क भइस भन्छ तर,
बिहे गर्ने बेलामा २० वर्ष नपुगेर
फेरि बालकै भइयो ।
अब ७० वर्ष नपुगेर वृद्धभत्ता नपाउने
बालकहरु त अझ कति होलान् यो देशमा ।

यसो कुरा बुझ्दा
कुनै खास योग्यताका लागि
उमेर नपुग्नु भनेको पनि बालकै हुनु रैछ
अब नमरुन्जेल बालकै भइने भो ।
किनभने मर्न पनि त उमेर पुग्नु पर्यो ।

हे पशुपति नाथ, हे महादेव, हे भोलेबाबा,
हाम्रो भोलापनलाई सबैले बालक सम्झ्याछन् ।
हामी कहिले तन्नेरी हुने, हामी कहिले वयस्क हुने ?
कपाल फूल्यो, पेन्सन पाक्ने बेला भइसक्यो,
तर, बालापनबाट उँभो लाग्न सकिएन ।
हाम्रो बढ्न पाउने अधिकारको रक्षा गर, प्रभो ।

(अन्तराष्ट्रिय बाल दिवस (नोभेम्बर २०) का अवसरमा लेखेको लेखकको कवितालाई हामीले वहाँकै फेसबुक पोस्ट बाट साभार गरेका हौं।)

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९