राज्यसत्ताको अपहेलनाले जन्माएको – रुइबा

Jagaran Post ७ मंसिर २०७८, मंगलवार १४:५१
ruiba
          नरेन्द्र वसेल

चीन बसाइको क्रममा सधै फुटकर अनलाइन लेखोटहरु र आफूले नेपालबाट ल्याएका सीमित पुस्तकहरुमा मात्रा निर्भर हुनुपरेको थियो। लामै समयको प्रतीक्षापछि हातका औँलाहरुले पुस्तकका पन्नाहरु पल्टाउदै त्यसमा वर्णित पात्रहरुसँगै यात्रा गर्ने मौका मिल्यो। यो मौका चेतनाथ आचार्यद्वारा लिखित पुस्तक रुइबा हातमा आएपछि मिलेको हो। एउटै बसाइमा सकिएको २६२ पृष्ठको पुस्तकले मेरा धेरै पूर्व धारणाहरुमा समेत प्रश्न चिन्ह खडा गरेका छन भने, त्यति ध्यान नै नदिएका अनेक पाटाहरु पनि उजागर गराइदिएको छ।
ल्हापसाङकर्पो (गणेश ) हिमालको काखमा रहेको धादिङ जिल्लाको पाबाङ गाँऊकी एक तामाङ परिवारमा जन्मिएकी ‘न्याउली’ (पछि चिनियाँ नाम ‘स्याउ न्याओ’) लाई प्रमुख पात्र बनाइएको उपन्यासमा उनकै जीवनको उतार चडावसँगै धेरै पात्रहरुको जम्काभेटमा ठाऊँ र परिवेश अनुसारको परिचय हुदै जान्छ।

हिमालको काखमा र पहाडका टाकुराहरुमा बस्ने मान्छेको पीडा त्यही हिमालको चुचुरो र पहाडको टाकुराभन्दा पनि अग्लो हुन्छ रे! त्यसैगरी सुरु हुन्छ, न्याउलीको दुःख, बालपनदेखि गरिबीको स्याठले सेक्दासेक्दै पाइलैपिच्छे भड्कालोमा फस्नुपर्ने बिडम्बनापूर्ण र कहालीलाग्दो जीवनयात्रा। बोली काट्न नसकिने न्याउली आफैँले विश्वास गरेका अनेक पात्रहरु पटकपटक हिम पहिरो बनी खसेर पुरिदिन्छन त्यही विश्वासको झुपडी पनि।

ruiba

राज्यबाट अति उपेक्षित आदिवासी तामाङ समुदायका महिला पात्रलाई उपन्यासकारले टपक्क टिपेर त्यही समुदायको ऐतिहासिक सांस्कृतिक पक्षलाई निकै फराकिलो तरिकाले रुइबा उपन्यासमा उठाएको पाइन्छ। तामाङ समुदायमा जन्मेदेखि मृत्युसम्म गरिने संस्कारलाई न्याउलीको जीवनको अनेक घटनासँग जोडेर फेहरिस्ताका रुपमै पस्किने काम गरेको छ उपन्यासले। जन्मिएको तीन दिनमा लामाबाट मिन थान्बा (न्वारान) गरिने देखि कोलाच्याल्बा (देउताको शरणमा छोडिदिने), विवाहमा मामा चेला फुपू चेलीको अभ्यासलाई पहिलो प्राथमिकता राख्ने प्रचलनको पनि आख्यानमा रसिलो तरिकाले उतारिएको छ। विवाह संस्कारमा बेहुला (केटा) पक्षको कोसेली ग्रहण गरेपछि बेहुली (केटी) पक्षको तर्फबाट ज्वाईलाई छोरी सुम्पे पनि रुइ अर्थात हाड (थर) माइतिकै अधिनमा रहने कथन सुनाइँदो रहेछ, बिबाहित महिलाको मृत्युमा माइतीको उपस्थिति अनिवार्य छ र सम्भव नभए लासबाट अस्तु झिकेर पछि माइतिको उपस्थितिमा सेलाउने चलन रहेछ। तामाङ जातिको यही संस्कारलाई नै रुइबा भनिने रहेछ। उपन्यासकारले पुस्तकको नाम नै यही राखेका छन् र यसको सार्थकता पनि त्यतिकै न्यायोचित देखिन्छ।

आफ्नै जन्मथलोमा हाड घोटेर पनि बिहान बेलुकाको छाक टार्ने स्थिति नबनेर गरिबीको राँकोले पोल्न हालेपछि यार्सा खोज्न हिडेको न्याउलीको आपा (बाबा), जन्मथलो, गर्भवती श्रीमती बृद्ध बाबाआमा छाडेर आफैँ अस्वस्थ हुँदाहुँदै साहुको ऋणधन गरेर रोजगारीका निम्ति मलेसिया गएको दोर्जे (श्रीमान) कहिल्ल्यै फर्किएनन्। ओहो कति धेरै वियोग, आहत, पीडा, विछोड। आफन्त छुट्दा बढ्ने कुरा दुःख र पीडा मात्र रहेछ। सबै बियोगको साक्षी बसेको देउरालीको छ्योर्तेन अनि गणेश हिमाल उपन्यासले उभ्याएका बेजोड प्रतीक र बिम्ब हुन्।

जलाउनलाई आगो चाहिँदैन, बेदना र आर्तनादले हुरहुरी जलाउँछ भन्ने कुरा न्याउलीका भोगाइले पुष्टि गर्छन्। उनी जिउदै रहेर पनि मृत्युतुल्य अवस्थामा आफ्नै लामो आयुको बोझ झेल्दै चिनियाँ जेलमा भासिन पुगेकी छन्।

आफ्नै ऐतिहासिक संस्कार, भाषा, वेश र पहिचानको पृष्ठभूमिमा फुलेका जीवनका रङहरु, प्रेमिल सम्बन्धहरुलाई गरिबीको लप्काले खरानी बनाउँदै किनारा लगाएको र शिक्षा, स्वास्थ्य र रोजगारीको त कहाँ हो कहाँ, बोलीको लवजमा खिसिटिउरी, पुर्खाको जायजेथाको तमसुकमा छाप लगाउन मात्र हुने राज्यको उपस्थितिलाई उपन्यासकारले नेपाली समाजको विद्रुप रुपमा चित्रण गरेक छन्। आफन्ती, छिमेकी भनेर विश्वास गरिएका अनेक पात्रहरु जस्तै सेते, टिमुरे, बिनोदबाट आयोजनावद्ध र षढयन्त्रका बन्दनमा न्याउली जेलिएकी छन्। एउटा सामान्य गरिखाने वर्ग कसरी भ्रष्ट दलाल पूँजीवादको सिकार बनेको छ भन्ने कुरा न्याउलीको पाबाङदेखि काठमाडौँ हुदै चीनको जेलसम्मको यात्राले स्पष्ट खाका प्रस्तुत गरेको छ।

देशको राजधानीमा सामान्य गाऊँबाट छिरेकी, राज्यले औपचारिक शिक्षाबाट चुकेकी न्याउलीले भोग्नुपरेको असहजता, बोलीको लवजमै खिसिटिउरी, श्रमको चरम शोषण, शारीरिक यातनाले पुरुषवादी सत्ता, सामाजिक संरचना, राज्यको एकमनावादी शासन र दलाल पूँजीवादको प्रतिस्पर्धाले जन्माएको आजको अवस्थालाई उपन्यासले मिहिन ढङ्गले उजागर गरेको छ।

एउटा निम्न वर्गीय अशिक्षित, गरिब अनि बेसहारा व्यक्ति कसरी भ्रष्ट दलाल पूँजीवादी प्रतिस्पर्धाको लडाइमा हिस्सा बनेर पिल्सन पुग्छ र आपराधिक कार्यमा फसाइन्छ भन्ने कुराको राम्रो उदाहरण बनेकी छन् न्याउली। उनलाई गाऊँकै चिनेको बिनोद (दाइ नाता पर्ने) ले लागु औषध बोक्ने भरिया बनाएर चीनको जेलसम्म पुर्‍याइदिएपछि रुइबा उपन्यास चीनभित्र प्रवेश गर्छ।

जब उनी चीन छङ्तु विमानस्थलमा ओर्लिएपछि चेकजाच (केरकार) मा पक्राउ पर्छिन् तब सुरु हुन्छ ठूला र भव्य सहर भित्रको साँघुरो जीवनको अर्को दुःख! पुस्तक पढ्दै गर्दा चीनमा सामाजिक, आर्थिक, राजनीतिक, न्यायिक, चालचलन र मान्यताका सूक्ष्म कुराहरुको गहन जानकारी पाइन्छ। यसो हुनको कारण रुइबा उपन्यासका सर्जक लामो समयदेखि चीनमा बसेर पत्रकारिता गरिरहेका र चीन- नेपालका अनेकौ विषयमा कलम चलाइरहेकाले पनि सहज भएको हुनसक्छ। उपन्यासकारले चीन बसेर चिनियाँ समाजलाई नजिकबाट हेर्न पाएको कुरालाई भरपुर लाभका रुपमा प्रयोग गरेका छन्। उदाहरणका रुपमा उपन्यासमा प्रयोग भएको चिनियाँ भाषालाई लिन सकिन्छ। चिनियाँ भाषाका शब्दलाई शुद्द उच्चारणमा लेखिएको छ। अन्य नेपाली पुस्तकमा यस्तो भेटिँदैन किनभने चिनियाँबाट नेपालीमा सोझै अनुवाद नभएर अग्रेजीको हुबहु अनुवाद भएको पाइन्छ जसले चिनियाँ भाषाका नामवाचक शब्दलाई पनि बिगार्ने गरेका छन्। जस्तो कि नेपालीमा सबैले माओत्सेतुङ भन्छन् तर खासमा हुनुपर्ने चाहिँ माओ चतोङ हो। चीनका हरेक चाडपर्व, सस्कृतिलाई क्रमबद्द रुपमा स्याउ न्याओ (न्याउलीको चिनियाँ नाम जसको अर्थ सानी चरी हुन्छ) मार्फत पाठकले थाहा पाउँछन्। भलै न्याउली जेलमा छिन् तर पनि उनीसँग जोडिएका पात्रका संवादसँगै घटना र परिवेशले स्वाभाविक रुपमा चिनियाँ चाडपर्व र संस्कृति आउने गरेका छन्। यस्तो कुरा लेख्नलाई चीनमै रहेर चिनियाँ संस्कृति बुझेको हुनुपर्छ जुन अवसर लेखकले पाएकाले संभव भएको हो भन्न सकिन्छ।

जेल भित्र नै कैदी साथीहरुसँग न्याउलीले चिनियाँ भाषा बुझ्दै जाँदा गरिएका संवाद निकै रोचक छन। केही संवादहरुले त चीनको पछिल्लो अनुहार पनि झल्काउँछ। यहाँ लेख्न मिल्थ्यो या मिल्थेन तर एउटा संवादले भने निकै मन बिझाउँछ। आइफोन किन्नका लागि दम्पतीले नजन्मदै बच्चा बेचेको र एक चिनियाँ महिलाले आफ्नो स्तन सानो भएर आधुनिक सौन्दर्य दुनियाँमा फिट गराउनका लागि स्तनको शल्यक्रिया गर्न खोजेको घटनाले चिनियाँ समाजमा बढेको विकृति र सामाजिक कलुसलाई व्यक्त गर्न खोजेको छ। त्यति मात्र होइन जेल भित्रको संवादले छोरा छोरी बाबु आमाको सम्बन्ध बस्तुको मोलमोलाई जस्तो मात्र देखिने, महिलाको शरिर फगत चेरिष्मटिक पर्दामा मात्र देख्न चाहने दलाल पूँजीवादी बजारमा चीनको पछिल्लो प्रतिस्पर्धा पनि सामान्य छैन।

आफ्नो नागरिकले विदेशी भूमिमा कानुनी उपचार समेत नपाई, अन्यायपूर्ण यत्रो जेल जीवन भोगिरहनु परेको छ तर बेखबर छ राज्यसत्ता। यही सूचना समेत यत्रो बर्ष पछि कुनै तेस्रो देशको नागरिकबाट पाउनुपर्ने बिडम्बनापूर्ण अवस्थाले पनि नेपाली दुरदराजका नागरिकको अवस्था एउटी न्याउली चरी जत्तिको पनि छैन। यही प्रसङ्गमा उपन्यासको अन्तिमतिर न्याउलीले लेखकलाई भनेको कुरा अत्यन्त मार्मिक छ। उनी भन्छिन् ‘एउटी न्याउली पिँजडामा परे पनि अरु विरह गाइरहेकै होलान वनमा। कुन चरी कहाँ गई, कसले हिसाब राख्छ र? सिकारीको नासामा परोस् कि कसैले जालमा थुनोस्? एउटी चरीको संख्या घटेर वनजंगल रित्तिने होइन क्यार।’

धादिङको पाबाङकी न्याउली वर्षौँदेखि चीनको जेलमा रहनु अनि यही कुरा नेपालको सरकारलाई थाहा नहुनु। जर्मन नागरिकले भनेपछि दूतबासबाट सोधखोज गर्न जानु सबै घटनाले के पुष्टि गर्छ भने न्याउलीको जीवन एउटी चरीको जत्ति मात्र छ। न्याउलीकै मुखबाट उल्लिखित कुरा बोल्न लगाएर लेखकले नेपाल सरकारको गालामा चड्कन हानेका छन्।

उपन्यासको सुरुदेखि अन्तसम्म पीडा नै पीडा छ। एउटै रसले मात्र भरिएको संभवत पहिलो उपन्यास हुनुपर्छ रुइबा। पीडा र दुःखका आँशुमा आहाल खेल्दै अगाडि बढेको न्याउलीको जीवन यात्राले पाठकका आँखाबाट किताब भिज्ने गरी आँशु बगेको पनि पत्तो हुँदैन। तर कहानी न्याउलीको मात्र होइन नेपाली समाजमा राज्यसत्ताले नचिनेका, सामन्ती संस्कारले कुल्चिएका, पहिचानबाट बन्देज भएका, कथित सामाजिक कुसंस्कारबाट दलनमा परेका, अपहेलना र अपमानको जाँतोमा पिसिएका, हरेक अधिकारबाट बन्चित सबै नेपालीको कथा उस्तै छ। त्यही भएर नै हो रुइबा पढ्दै जाँदा हरेक पाठकले आफ्नै गाउँठाउँको कथा सम्झन्छ र आफ्नै वरिपरीका पात्रहरु आँखैमा झल्झली नाच्न थाल्छन्।

तामाङ भाषा, संस्कार र संस्कृतिको अनेक पाटाहरु समेत जान्न र बुझ्न खोज्ने पाठकका लागि रुइबा उपन्यास एउटा राम्रो आख्यान हुनसक्छ। यो उपन्यासले नवीन कथा र विषय पनि उठान गरेको छ। काठमाडौँ वरिपरी बसोबास गर्ने सोझा तामाङ जातिलाई उनीहरुको दयनीय आर्थिक अवस्था, कमजोर चेतना स्तर र शैक्षिक अवस्थामा बन्देज हुनुपरेको दुरावस्थाको पाइदा उठाउँदै दलालहरुले लागुपदार्थ तस्करीमा प्रयोग गर्ने गरेको कुरा नेपाली आख्यात क्षेत्रमा संभवत पहिलोपटक उजागर भएको हुनसक्छ।

उपन्यासमा भएका कमिकमजोरी औँल्याउने ल्याकत त मसँग छैन। तर पनि पढ्दै गर्दा यदाकता अलिक केही रसिक सन्दर्भहरु जोडिदिएको भए हुने थियो कि जस्तो लाग्छ। न्याउली र उनकी आमालाई अचम्मै लाग्ने गरी सोझो र सरलपना भएको पात्रको रुपमा उभ्याइएको छ। के समाजमा यति धेरै थिचोमिचो हुँदा पनि पटक्कै विद्रोह गर्न नसक्ने व्यक्ति पनि हुन्छन् र जस्तो लाग्छ। सायद उपन्यासको पात्रको त्यस्तै विवशताले पनि होला सर्जकले सुरुदेखि अन्तसम्म पात्रलाई निरीह रुपमा उभ्याएका। अन्तिममा यति त भन्दै पर्छ मरुभूमिमा फुलेको क्याक्टसजस्तै विशाल पहाड चिरेर र समुन्द्र मन्थन गरेर निकै सुन्दर कलात्मक शैलीको विषयवस्तुमा उम्रदै फक्रिएको छ ‘रुईबा’ ।

(बसेल चीनको आन्हुई प्रान्तस्थित हफेइ विश्वविद्यालयमा केमिकल इन्जिनियरिङ गर्दैछन्।)

जागरणपोस्टलाई ट्विटरमा फ्लो गर्नुहोस – @jagaranpost

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८