काठमाण्डौ : सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणमा आज आर्मी र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) भिंडदै छन् । दशरथ रंगशालामा हुने खेल साँझ पौने ५ बजे सुरु हुनेछ । तेस्रो खेलमा आर्मी पहिलो जितको खोजीमा छ । आर्मीले अघिका दुबै खेलमा अंक बाँडेको थियो ।
पहिलो खेलमा विभागीय नेपाल पुलिससँग १–१ अन्तरले बराबरी खेल्दै अंक बाँडेको आर्मी दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबसँग गोलरहित बराबरी खेल्न बाध्य भयो । लिगमा आर्मीलाई बीबीसी सहज प्रतिद्वन्द्वी हुन सक्नेछ । पछिल्लो दुबै संस्करणको लिगमा आर्मीले सहज जित निकालेको छ । यसपटक समेत शारीरिक तथा प्राविधिक रुपमा बलियो आर्मी युवा खेलाडी सम्मिलित बीबीसीबाट तीन अंक खोस्ने दाउमा छ ।
बीबीसीविरुद्ध आर्मीले अग्रपंक्तिमा कप्तान भरत खवास र जर्ज प्रिन्स कार्कीलाई उतार्ने छ । बीबीसी युवा खेलाडीको उच्च मनोबलका साथ आर्मीलाई चुनौती दिन तयार छ ।
नेपाल यु–१६ टोलीका कप्तान समेत रहीसकेका रोशन राना मगरको कप्तानीमा रहने बीबीसी जारी लिगमा अपराजित छ । २ खेल खेलेका उसले १ जित र १ बराबरसहित ४ अंक जोडेको छ । सनोज श्रेष्ठको प्रशिक्षणमा रहेको बीबीसी आर्मीविरुद्ध अप्रत्याशित नजिता दिने योजनामा छ ।