नेपाली कांग्रेस महाधिवेशन : नेत्तृत्त्व परिवर्तनकै बिषय पेचिलो !

Jagaran Post २४ मंसिर २०७८, शुक्रबार १६:४०
Bijay Gyawali
        बिजय ज्ञवाली

आजदेखि नेपाली कांग्रेस १४औं महाधिवेशनस्वरुप काठमाण्डौको भृकुटीमण्डपमा धुमधामका साथ होमिएको छ।

पछिल्लोपटक सम्पन्न तीनै तहको निर्वाचनमा लज्जास्पद हार बेहोर्नुपरेको पीडा कांग्रेसजनका दोस्रो र त्योभन्दा तल्लो तहका नेता तथा कार्यकर्तामा परेको छ। तर नेपाली कांग्रेसवृत्तको पहिलो पंक्तिमा उक्त हारको बोध भने कहिल्ल्यै हुन सकेन। आफूलाई कांग्रेसको पहिलो कित्तामा उभ्याउन चाहने नेतृत्वमा अझै पनि अहम् छ, शक्तिको टकराव छ र सत्तालिप्सा छ। त्यसैले त सुध्रिएको छनक कदापी मिल्न सकिराखेको छैन।

नेतृत्व सबल, सक्षमसँगै सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेको भए मात्र उसले नेतृत्व गरेको संस्था या अन्य कुनै पनि निकाय सही मार्गमा हिँड्छन्। विषम परिस्थितिमा पनि विकल्पसहित सामुन्ने आउने सामर्थ्य राख्छन्। तर कांग्रेसमा यो क्षमता निरन्तर खट्किरह्यो। राजनैतिक खिचातानीकै तेस्रो दल भएर पनि आजका दिनसम्म आइपुग्दा प्रमूख सत्तारुढ दल बन्न पुगेको कांग्रेस नेतृत्त्वको सरकारको प्रगति भने शून्यप्राय: नै छ।

बूढो कांग्रेस त्यसै भनिएको अवश्य होइन। नेपाली कांग्रेस देखेरै भनेका होलान्। हुन पनि कांग्रेस जहिले देखिन्छ बूढो मात्र, यौवन अथवा युवा कांग्रेस कहिल्यै देखिएन। कमजोर धरातलका रूपमा नेकपा माओवादी, एमालेका साथै अन्य साना तथा मधेसबाट नेतृत्व गर्ने दल तथा नेता युगीन नहुनु तथा हुन नसक्नु राज्यका लागि थप भार हो। यी दल तथा नेताबाट राज्यको नेतृत्व हुनेछ र राज्य दिगो विकासको लक्ष्यसहित सुरक्षित गन्तव्यसम्म पुग्छ भन्नु केवल भूल सावित हुनेछ।

नेपाली कांग्रेस महाधिवेशनसंगै तंग्रिन चाहन्छ भने पहिलो सर्त बूढो नेतृत्वमुक्त कांग्रेस नै हुनुपर्दछ। सभापति शेरबहादुर देउवा न प्रस्ट बोल्न सक्छन् न नै कुनै पनि राजनीतिक मुद्दाको चित्तबुझ्दो जवाफ दिन सक्छन्। बोली बुझ्न नसक्नुमा उनमा कुनै समस्या होला, त्यसलाई हामीले त्यति ठूलो एजेन्डा बनाउनु पनि हुँदैन, तर नेतृत्व तहमा बसिसकेपछि दूरदृष्टिसहितको कार्ययोजना भने अवश्य हुनुपर्छ। रिसाहा स्वभावका देउवामा निर्णय क्षमता पनि कमजोर छ भने पार्टीमा सबैलाई समानरूपमा आबद्ध गर्नसक्ने ल्याकत पनि राख्दैनन्। अर्कोतर्फ देउवाका तर्क निरन्तर सतही र लहडी देखिन्छन्।

कुनै पनि विषयवस्तुमाथि देउवाको गहन विचार, जवाफ तथा दृष्टिकोण छैन। यसले गर्दा पनि आवरणमा कांग्रेस निरन्तर निम्छरो देखिन पुगेको छ। देउवाका अलावा उनको इर्दगिर्दमा घुम्न रुचाउने अन्य नेताको पनि शैली नितान्त सतही छ। परिवर्तित समयसँगै पार्टीको पछिल्लो पंक्तिमा रहेका नेता तथा कार्यकर्ता के चाहन्छन् र पार्टीलाई कुन दिशातर्फ मोड्दा समग्र कांग्रेसको वैचारिक धरातल मजबुत बन्न सक्छ भन्नेतर्फ नेतृत्व निरन्तर चुक्दै आइरहेको छ।

आन्तरिक लोकतन्त्र सबैभन्दा दरिलो खम्बा हो। कुनै पनि पार्टीलाई सबल एवं सक्षम बनाउन आन्तरिक लोकतन्त्रको अभ्यास अनिवार्य सर्त हो। यस्तोमा पार्टी नेतृत्वदेखि लिएर गाउँस्तरसम्मका कार्यकर्तालाई एक ढिक्का बनाउँदै पार्टी अनुशासनमा बाँधिरहन जरुरी छ। पार्टीभित्रका सबै सदस्यलाई समान व्यवहारको लागि शिक्षा प्रदान गर्नु जरुरी छ। पार्टी नेतृत्वले व्यावहारिक एवं नैतिकरूपमा इमानदारी प्रदर्शन गर्न सक्षम रहन्छ भने निश्चय पनि सिंगो पार्टीपंक्ति नै उक्त लाइनमा हिँडिरहेको हुन्छ। यसबाट फाइदा हुने भनेको आम कार्यकर्तादेखि नेतृत्व वर्ग हुँदै सिंगो देशलाई नै हो।

भ्रष्टाचार र गुटबन्दीले पार्टीलाई धराशायी बनाउँछ। तसर्थ पार्टीभित्रका भ्रष्टाचारी अनुहारलाई प्रोत्साहन नगरेकै राम्रो हुन्छ। विगतमा भ्रष्टाचारको आरोप लागेका अनुहारलाई प्रोत्साहन एवं संरक्षण गरेका कतिपय उदाहरणले पार्टीको छविमा गम्भीर दाग लागेकै हो। पार्टीका कतिपय नेताको गलत प्रवृत्तिका व्यक्तिसँगको साँठगाँठ एवं संरक्षणले आमविश्वास पनि खस्कँदै गएको छ। यस्तो प्रवृत्ति र आचरणबाट सिंगो पार्टीपंक्ति नै सतर्क रहनु उत्तम हुनेछ। यस्ता क्रियाकलापले लोकतान्त्रिक पद्धति स्थापित हुन सक्दैन। आमनागरिकमा भ्रष्टाचारीलाई प्रोत्साहन गरेको या संरक्षण गरेको भान पर्ने गरी पार्टीले गलत आचरण गर्ने व्यक्तिलाई संरक्षण या प्रोत्साहन दिँदै जान्छ भने विस्तारै गलत आचरण र आपराधिक चरित्रका व्यक्तिका लागि सिंगो पार्टी छहारी बन्न जान्छ। यसबाट दीर्घकालीन रूपमा सिंगो पार्टीलाई जोखिममा पार्ने मात्र नभई समग्र राष्ट्रिय राजनीतिमा पनि उत्तिकै प्रभाव पारिराखेको हुन्छ।

व्यक्तिगत स्वार्थ र कमजोर राजनीतिले आज मुलुकको स्वार्थ नै अन्य बाह्य शक्तिकेन्द्रका हातमा पुगिसकेको छ। नेतृत्व वर्गमा विद्यमान दूरदृष्टि, सिद्धान्त एवं नैतिकताको खडेरीले समग्र राष्ट्रिय राजनीति नै प्रभावमा परेको छ। परनिर्भर राजनीतिले स्वदेशी सामर्थ्यमा निर्णय लिन गाह्रो भइरहेको छ। नेतृत्वले एकपटक छातीमा हात राखेर भन्नुपर्दा आजका दिनसम्म आइपुग्दा पनि आफ्नै बलबुतामा सरकार गठन गर्ने हिम्मत कुनै पनि दलले राख्दैनन्।

०६२/६३ को जनआन्दोलनपश्चातका डेढ दशकमा यस्ता विकृति र अक्षमता देखिए र भोगिए पनि। सरकार गठनमा होस् या सरकारको निरन्तरताका लागि बाह्य शक्तिकेन्द्रको सद्भाव र सहयोगको आशमा अझै पनि भौंतारिरहने अवस्था छ। घरेलु सामर्थ्यका निर्णय कार्यान्वयन तहसम्म लैजान आफैं असमर्थ छ नेतृत्व। यसले गर्दा अस्थिरता फैलिँदो छ भने निर्णय क्षमतामा पनि ह्रास आइरहेको छ।

व्यक्तिगत स्वार्थमा देशलाई नै बर्बादीको दिशातिर उन्मुख गराउने पात्र धेरै छन् यहाँ। पैसा र शक्तिको आडमा देशलाई कंगाल बनाउन कत्ति पछि नहट्नेहरू बारम्बार सत्ताको इर्दगिर्दमा घुमिराखेका हुन्छन् भने पैसामा बिक्नेहरूले नै राजनीतिलाई फोहोरी बनाएका हुन्छन्। अन्ततः मुलुकलाई नै अप्ठेरोमा पारिएको हुन्छ। यस्ता तत्वको बेलैमा पहिचान गर्नु आवश्यक छ।

कूटनीतिक क्षेत्रमा पनि उस्तै अपरिपक्वता देखिँदै आएको छ नेतृत्व वर्गमा। जसले गर्दा अन्तर्राष्ट्रिय सम्बन्धमा पनि असहजता उत्पन्न गराएको छ भने कार्यसम्पादन र कार्यान्वयन तह पनि फितलो छ। जसले गर्दा राष्ट्रकै प्रतिष्ठामा निरन्तर आँच आइराखेको छ। नेतृत्वमा देखिएको कूटनीतिक विचलन तथा निर्णय क्षमता कमजोर हुँदा कतिपय विषयमा अपमान पनि सहनुपरेको छ। कतिपय महत्वपूर्ण उपलब्धि पनि गुम्दै गएका छन्। नेतृत्वको अति लाचारीपनाले राष्ट्र नै लज्जित हुनुपरेको तीतो विगत पनि छ। यसतर्फ हाम्रा राजनीतिक नेतृत्व, सरकार र सम्बन्धितको ध्यान कहिले पुग्ला ?

राष्ट्रिय साझा स्वार्थ हरेक नेतृत्वका लागि अपरिहार्य मूल मन्त्र बन्नुपर्छ। नेतृत्वको चारित्रिक अग्निपरीक्षा तब सुरु हुन्छ जब उसलाई अवसरसहित जिम्मेवारीमा पठाइएको हुन्छ। कुशल नेतृत्वले उक्त अवसर र जिम्मेवारीको सफल कार्यसम्पादन गर्छ भने गलत आचरणको नेतृत्वबाट यी सबै कार्य धराशायी हुन्छन्। सत्ता र पैसाको चंगुलमा डुब्ने नेतृत्व साह्रै खतरनाक हुन्छन्। यस्ता विकाउ नेतृत्वले देशलाई पत्तै नपाई डुबाइरहन्छन्। विगतमा कांग्रेस वृत्तबाट पनि मुलुक जर्जर बन्दै गएका दृष्टान्त छन्। यस्तै गलत प्रवृत्तिका अनुहार बारम्बार सत्तावृत्तमा दोहोरिरहनु मुलुकलाई झनै बर्बादीतिर धकेल्नु हो।

अनेकन कठिनाइ र नेतृत्वको सुझबुझका कारण विगत लामो समयदेखि जनचाहनामा रहिआएको संविधान लेखन कार्य नेपाली कांग्रेस को नेतृत्वमा सम्पन्न भएको थियो। यसमा नेपाली कांग्रेस धन्यवादको पात्र छ। संविधान लेखनसँगै मुलुक औपचारिक रूपमै संघीयतामा प्रवेश गरेको हो। संविधान कार्यान्वयनको पहिलो खुट्किलोका रूपमा परिभाषित केन्द्र, प्रदेश र स्थानीय तहमा सम्पन्न तीनवटै निर्वाचनमा नराम्रोसँग खुम्चिन पुगे पनि कांग्रेसले यस विषम परिस्थितिलाई अवसरमा ढाल्नु जरुरी हुनेछ। हुन त पछिल्लो पटक सम्पन्न महासमिति बैठकमा यसबारेमा समीक्षा भएकै हुनुपर्छ। पार्टीका दोस्रो तथा अन्य तहका नेताकार्यकर्ताले नेतृत्व परिवर्तनको मागलाई उठाइरहनुपर्छ। परिवर्तनका लागि दबाब दिइरहनुपर्छ।

पंक्तिकारले यसभन्दा अंघि पनि कमजोर प्रतिपक्ष भन्दैमा कांग्रेसले हतास मानसिकता बनाइहाल्नु हुँदैन भन्नेकुरा उल्लेख गरेको थियो। नभन्दै सत्ताको बागडोर सम्हाल्ने स्थितिमा कांग्रेस आईपुगेको अवस्था छ। दुईतिहाइको सरकार क्रमशः अराजकता, भ्रष्टाचार विकृति र विसंगतिउन्मुख भइरहेको थियो। मौलाउँदो भ्रष्टाचार, विकास निर्माणमा ढिलासुस्ती, सामाजिक असंवेदना तथा असुरक्षा, राज्यकोषमा ब्रह्मलुट, मनपरीतन्त्र, जवाफदेही तथा उत्तरदायित्वबाट विस्तारै विमुख हुँदै गइरहेको थियो। त्यस्तो अवस्थामा कांग्रेसले सकारात्मक हस्तक्षेप गर्न सक्तथ्यो, रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्तथ्यो, तर गरेन। राज्यका हरेक निकायमा हुने भ्रष्टाचार, ठूला घोटाला, अनियमितता, अराजकता, अनुशासनविहीनता तथा स्वेच्छाचारी शैलीलाई अंकुश लगाउन हरेक मुद्दा जनतामाझ लैजाने अवसरबाट कांग्रेस प्रतिपक्षमा छँदा चुकेकै हो।

वाइडबडी काण्ड मच्चियो, सुन प्रकरण ओझेलमा पर्यो, निर्मला बलात्कार तथा हत्याकाण्ड ओझेलमा पर्यो, एनसेललाई उन्मुक्ति दिईयो, एयर एसियालाई रकम नतिराई उन्मुक्ति दिइयो, ७० करोडको अडियो टेपकाण्ड दबाईयो। यी र यावत् मुद्दामा कांग्रेसले जरैदेखि खोतल्नु जरुरी थियो, तर गरेन। अब त आफ्नै नेतृत्त्वको सरकार छ। मौका पनि छ। कांग्रेसले यी मुद्दाहरु टुङ्याऊनु जरुरी छ र यिनै मुद्दा कांग्रेसले जनसमक्ष पुर्‍याएर वाहवाही बटुल्न सक्तछ। तर लहरो तान्दा पहरो कांग्रेसभित्र पनि थर्किन्छ र कांग्रेस चुप हुन बाध्य छ। किनकि भ्रष्टाचार र कमिसनको थुप्रोले कांग्रेस पनि नराम्रोसँग थिचिएको छ।

त्यसैले सहज नहुन सक्छ कांग्रेसलाई यी मुद्दा जनसमक्ष पुर्‍याउन। तर अठोट नै गर्ने हो भने पार्टीका कतिपय त्यस्ता काला अनुहार पनि सार्वजनिक गरेर, निष्कासन गरेर पार्टीलाई शुद्धीकरण अभियानमा लैजान सकिन्छ। केही पाउन केही गुमाउनैपर्छ। जनतामाझ लोकप्रिय हुनु छ र आगामी निर्वाचनसम्म पुनः कांग्रेसलाई मुलुकको पहिलो शक्तिका रूपमा उभ्याउनु छ भने केही कठोर निर्णय कांग्रेसले लिनैपर्छ।

संविधान कार्यान्वयनको सवालमा संविधानले निर्दिष्ट गरेका नियम, कानुन र निर्देशनलाई अक्षरशः पालना गर्ने वातावरण कांग्रेसले पनि तयार पार्न सक्नुपर्छ। कानुनभन्दा माथि कोही पनि नभएकाले कानुनको पालना गर्नु हरेक नेतृत्व अनि नागरिकको दायित्व रहन जान्छ। विशेष गरेर कतिपय नेतृत्वले कानुनको धज्जी उडाउँदै पैसा र शक्तिका आडमा अवाञ्छित गतिविधि गरिराखेको हामी बारम्बार देख्दै, भोग्दै र सुन्दै आएका छौं। यस्ता प्रकारका गलत हर्कतको निरुत्साह गर्नु असल नेतृत्वको पहिलो दायित्व हुन्छ।

संविधानमा स्पष्ट व्यवस्था भएबमोजिमका निर्देशन नेतृत्वले नै कार्यान्वयनमा ल्याउन सक्नुपर्छ। संविधानका प्रावधानलाई लत्याउँदै वर्तमान सरकारबाटै नियमविपरीत काम हुँदै आइराखेको छ। यी र यस्तै प्रवृत्तिले संविधान कार्यान्वयन पक्ष पनि फितलो हुँदै जान्छ भने मुलुकमा संविधान भए र नभएको महत्व हुँदैन। राज्यको नियमकानुनलाई लत्याउँदै सबैले आआफ्नो मनलाग्दो गर्ने हो भने भोलि गएर सम्पूर्ण प्रशासनिकसँगै आर्थिक, सामाजिकलगायतका सबै क्षेत्रमा मोनोपोलतन्त्र हावी भई भएको व्यवस्था पनि भताभुंग हुनेछ। यसतर्फ कांग्रेस नेतृत्वले गम्भीर रूपमा बहस चलाउन सक्छ।

कांग्रेसमा नेतृत्व परिवर्तन हुन जरुरी छ। नेतृत्व परिवर्तन भन्दैमा कालो गए सेतोलाई स्थापित गर्ने भन्ने बुझ्नु हुँदैन। कांग्रेसमा कयौं त्यस्ता नेता पनि छन्, जसमा भिजन छ, दल र देश दुवैलाई हाँक्न सक्ने क्षमतावान् पात्र पनि छन्, ती पात्रलाई मुख्य नेतृत्वमा स्थापित गर्न सके मात्र कांग्रेस जवान पनि देखिनेछ, कांग्रेस मात्र होइन, आगामी दिनमा देशले पनि एउटा सुयोग्य नेतृत्व प्राप्त गर्नेछ। चालू कांग्रेस महाधिवेशन ले कांग्रेसभित्र व्याप्त भ्रष्टाचार, गुटउपगुट अनि बुढ्यौली नेतृत्वविरुद्ध कांग्रेसका दोस्रो र त्योमुनिका नेताकार्यकर्ताले हस्तक्षेप गर्नैपर्छ। १४औं नेपाली कांग्रेस महाधिवेशनको शुभकामना।

twitter.com @gyawaligulmi

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८