घाँटी ङ्याँकिएको तीजको मौलिकता

Bijay Gyawali १२ भाद्र २०७६, बिहीबार १०:१५

सन्दीप थापा

“दैला मुनी के हो बाबा ठुलो रुख बडर
धेरै छोरी छन् भनेर हेला नगर”

साउने सक्रांतीको आगमनसंगै आमा, हजुरआमा, काकी, भतिजी, बुहारी, दिदी र बहिनीहरू आफ्ना दिनभरीका थकाई बिसाउन सांझ घरधन्धापश्चात सबैलाई पायक पर्ने ठाउँमा भेला भएर गाइने यी र यस्ता गीतहरू अचाल सुनिन छाडिसके। तीजको मौलिकतासंगै जोडिएका यी र यस्ता सामाजिक पृष्ठभुमीमा आधारित तीजगीतहरूलाई हाल नेपाली समाजले तिलाञ्जली दिइसक्यो भन्दा फरक नपर्ला।

भाद्र शुक्ल तृतीयदेखी शुक्ल पञ्चमीसम्म नेपाली हिन्दु नारीहरूलेआफ्ना दुख पीडा तथा समस्याहरूलाई लोकलयमा आधारित भै मादलको तालसंगैको गीत गाइ मनाइने हरितालिका तीजको मौलिकता समयक्रमसंगै सङ्कटमा पर्दै मात्र गएको छैन, पुस्ता हस्तान्त्रणसंगै बदलिएको परिवेशले सांस्कृतिक सभ्यतालाई समेत बिकृत तुल्याउँदै गएको छ। पहिलेपहिले महिलाहरू पिछोडिएका अवस्थामा आफ्ना दुख पीर र बेदनाहरू पोख्नका लागी तीज पर्खिनुको बिकल्प थिएन । तर अहिले अवस्था परिवर्तन भएको छ । महिलाको सामाजिक जीवनमा केहीहदसम्म परिवर्तन आएको पक्ष पक्कै खुसीको कुरो हो। तर यहि परिवर्तनको नाममा सदियौँ देखी मानिदै आएको पर्वमा गाइने पवित्र गीतलाई अपवित्र पार्नु परिवर्तनको कुन सिद्दान्तले स्विकार गर्ला? बिकास र सभ्यतामा आएको परिवर्तन र समयको बद्लिदो परिवेशको आडमा तीजको मौलिकता समेत प्रदुषित भएको छ । मघमघ बास्ना आउने पुराना मौलिक भाकामा आधारित सामाजिक यथार्थबादी गीतहरूलाई आजको आधुनिकताको डङ्गुरले आफैमा समाहित गरेर डुङ्डुङ्ती गनाउने बनाएको छ।

सासुहरूले बुहार्तन खप्नुपर्ने कुरा, बुहारीहरूले सासुको टोकसो सहनुपरेको विवसता, पत्नीहरूले पतीले गरेको दुर्व्यवहार, सौताको हैकम आदी कुराहरू मात्र होइन, पतिको प्रेम, सासुससुराको साथ, महिला शसक्तिकरणको माग लगायतका पक्षहरूलाई वर्षमा एकपटक आउने तीजको माध्यमबाट महिलाहरूले पोख्दथे, समस्याहरू आपसमा बाडीचुडी गर्थे, सबै दिदीबहिनीहरू माईतीमा जम्मा भएर जन्मभुमीको काखमा आफ्ना कुराहरू गीतको माध्यमबाट गाउँथे । अहिले अवस्था परिवर्तन भएको छ तर ? बिकास र सभ्यतामा आएको परिवर्तन र समयको बद्लिदो परिवेशको आडमा तीजको मौलिकता समेत प्रदुषित भएको छ । मघमघ बास्ना आउने पुराना मौलिक भाकामा आधारित सामाजिक यथार्थबादी गीतहरूलाई आजको आधुनिकताको डङ्गुरले आफैमा समाहित गरेर डुङ्डुङ्ती गनाउने बनाएको छ । गणतन्त्रको आगमनसंगै स्वतन्त्रता भन्दा पनि संशोधनमुखी चरित्रको हाँगो झाङ्गियो । बिकृती र बिसङ्गतीको जरो पनि अझ दरिलो बन्दै गयो । महिलाको स्थितीमा सुधार आएको आडमा समस्या नै नभएर मौलिक गीत बनेनन् भन्ने कुरा कदापी स्विकार्न सकिदैन।

दिदीबहिनीले दाजुभाइसंग भेट भएर आपसी सद्भाव साटासाट गर्ने पर्वको गीत आज रत्यौलीको रुपमा परिणत भएको छ । कलाकारहरूले इमानजमान बेचेर विदेशी भड्काउतन्त्रको मन्त्र जप्ने अथक साधना गरेको देखिन्छ । अहिले त तीज केबल प्रेमी प्रेमिकाहरूले आफ्नो भावना पोख्ने माध्यम जस्तै बनेको छ । उर्लिएर आएको जवानी संहाल्न नसकेर जहा मन लाग्यो त्यही पोख्न खोजेजस्तो देखिन्छन् अहिलेका तीजका गीतहरू।

कलाकारहरूले बहुअर्थी गीतको रचनामा आफुलाई बढी केन्द्रित गरेको पाइन्छ । गीतका प्रत्येक शब्दशब्दमा यौन मनोविज्ञान प्रदर्शन गरेर स्वच्छन्दताको नाममा शरीर प्रदर्शनको प्रयास गरेको पनि देखिन्छ । बहुअर्थ लाग्ने गरी गीत लेख्ने, सकेसम्मको क्लिक बेट राखेर युट्युबमा अपलोड गरेर भ्युज कमाउने चक्करमा कलाकारिता केन्द्रित छ । तीजको मौलिकताको अर्थलाई नै परिवर्तन गरेर समाज सुधार गर्ने भन्दा पनि समाजमा बिकृती फैलाउने साधनामा तत्पर देखिन्छन् केही कलाकारहरू । भ्युज र कमाइको लागी संस्कृतीको गीतलाई बिकृत पार्ने कलाकारहरूले पछि नाम र दामका लागी आफैलाई बेच्न अघि नसर्लान भन्न सकिन्छ र?

ठेल न बुढी ठेल, दुधको मुन्टा छुँदा, पिसाब लाग्यो, लगायतका यस वर्ष निस्किएका गीतहरूले द्विओटा अर्थ बोक्छन् । “दुधका मुन्टा छुँदा” भन्ने गीत त यस वर्ष निकै विवादमा पनि आयो । अन्ततः यस गीतलाई हटाइएको समेत थियो। त्यसो त सबै कलाकारहरूलाई एउटै दर्जामा राख्न सकिदैन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्री पङ्गेनी, पशुपती शर्मा, बिमा कुमारी दुरा, लक्ष्मी न्यौपाने,सिन्धु मल्ल शर्मिला गुरुङ्लगायतका कलाकारहरूले तीजको मौलिकता जोगाउने सङ्घर्षस्वरुप सचेतनामुलक गीत बजारमा ल्याएका छन्। मौलिकता जोगाउने प्रयत्न गरेका छन,तर हजारौँ बिकृत मानसिकता भएका कलाकारहरूको भिडमा यस्ता कलाकारहरू खोज्न दिउँसै टर्च बालेर हिड्नुपर्ने अवस्था छ । पुरुषोत्तम न्यौपाने, राजु परिवार , प्रजापति पराजुली हरिदेवी कोईराला, लगायतका मौलिक गीत गाउने गायक गाइकाहरूलाई यस युगले सङ्गीतबाटै बिदा गरिसकेको जस्तो देखिन्छ । मौलिक गीत गाउँदा जीन्दगी नै गुजार्न गारो भएपछी यी र यस्ता सज्जन मस्तिष्क भएका कलाकारहरू भने सङ्गीत साधनाबाट पछाडी हटेका हुन् कि भन्ने अनुमान गर्न सकिन्छ।

समाजमा गीत बन्नुपर्ने अनेक विषय छन् । सुदुरपश्चीमको छाउपडी प्रथा ज्युका त्यु छ । हिमाली भेगमा प्रचलित झूमा प्रथा, राजधानी तिरै देउकी प्रथाको स्थितीमा पनि सुधार आउन सकेको छैन । तराईमा दाइजोकै निहुमा चेलीहरू जल्ने क्रम अझै रोकिएको छैन। निर्मला जस्ता कैयौँ चेलीहरू आफ्नै दाजुभाइबाटै असुरक्षित छन् । तर संबृद्द चेतना भएका कलाकारहरूको मगजले ती कुराहरू ठम्माउन सकेको छैन । हुन त यस्ता गीतमा द्वीअर्थी क्लिक बेट राखेर यौन मनोविज्ञान प्रदर्शन गर्न सकिदैन । सायद त्यसैले पनि होला, फाइदा र नाफाको व्यापार गर्न विवस कलाकारहरूले “ढाडे बिरालो “ जस्ता गीत निकाल्ने प्रतिस्पर्धा गरेको । द्वीअर्थी गीतकै कारण यौन दुर्व्यबहारले समेत थप प्रसयता पाएको तर्फ कलाकारहरूको ध्यान नजानुको कारण के त? किनकि विकृतीमुलक साङ्गीतिक कुकोशेलीमार्फत् उनीहरूले पैसा त टन्न पाएका छन् नी, उनीहरूलाई यती भएपछी पुगीहाल्यो । स्टेज सो मा बोलाइने पनि यस्तै बिकृतिसाधक त हुन् । सामाजिक स्विकार्यता र अस्विकार्यता अनि सामाजिक प्रभावको कसले मुल्याङ्कन गर्दो रहेछ र हातमा दामका बिटा थामिएपछी।

आजका युवायुवतीहरू आफ्ना अभिभावकहरूसंग बसेर तीज गीत सुन्न लजाउनुपर्ने अवस्था छ। कानमा एयरफोन नलगाई सबैको सामुन्ने गीत प्ले गर्नु नै शर्म लाग्छ । प्रयोग गरिएका शब्द, भिडियोमा देखाइएका अस्लीलताले हाम्रो मुल पहिचानको पर्खाललाई गर्ल्यामगुर्लुम् पल्टाइसक्यो । आयातित संस्कृतीको सिको गर्ने नाममा हामीले आत्मियता, अपनत्व र विशिष्ट पहिचान बोकेको मौलिकताको अवशेषहरूलाई एक दशक अगाडीदेखी नै बागमतीमा सेलाइसक्यौँ । फलतः आफ्नै भूमीमा विदेशी सभ्यताको गुलाम बनेर बाँचेका छौँ हामीहरू ।
तीजको अघिल्लो दिन माइती पक्षले आफ्नी चेलीलाई माइत बोलाएर मिठोमिठो परिकार दरको रुपमा खुवाउने प्रचलनमा आज आधुनिकता मिसिएको छ । छोरी बुहारी र चेलीहरूलाई रातभरी नाचगान गर्नका लागी शक्ति प्रदान गर्ने उद्देश्यले खुवाइने दर अचेल तीज आउनुभन्दा एकएक महिनादेखी नै पाक्न थाल्छ । नया स्टाइलको दर, होटेलमा नगै नहुने रे दर उपभोग गर्न । दरमा वाइन नभए त्यो दर नै नहुने, डिस्कोमा नाचेर ननाच्दासम्म नाचेको जस्तो पनि नहुने । साउन्ड सिस्टम नघन्काउने हो भने त कहाँको तीजको रमझम हुनु । अहो हाम्रा पुर्वजहरूले के यही परिणामका लागी तीजको प्रचलन चलाएका थिए त?

युवायुवतीहरूले आफ्ना अभिभावकहरूले गाउने पुराना मौलिक पहिचान बोकेका भाकाहरू सुन्न पनि चाहादैनन् । पुरुषोत्तम न्यौपानेले गाउनुभएको सबैले ल्याए चेली र बेटी तीजको दिनलाई, मिर जाले हो तीजको दिनलाई” भन्ने गीतका अवशेषहरू अहिलेको पिडीले गुनगुनाउन पनि चहादैन । बुढ्यौलीको संघारमा पुगेकाहरूले मात्र तीजको मौलिकता रक्षा गर्न सक्दैनन् । पुस्ता हस्तान्त्रणसंगै देखिएको सांस्कृतिक विचलनले समाजको मुहारमा कालो पोतिदिएको छ । तर यसतर्फ कसैको ध्यान जान नसक्नुजस्तो बिडम्बनाको कुरो अरु कुन होला र?
हो, समयको गतीशीलतासंगै देखा पर्ने परिवर्तनलाई पक्कै अंगाल्नुपर्छ । बदलिँदो परिवेश र बदलिँदो दुनियासंगै आफू पनि अनुकुलित हुनुपर्छ । तर परिवर्तनका नाममा देखिएका विकृति र बिसङ्गतीका काला धब्बाहरूलाई सभ्यताको उपहार भनेर कहिलेसम्म स्विकार्ने?मुल अस्तित्वमा नै ह्रास आउने खालका भड्कावपनलाई बढोवा दिने असभ्यतालाई कहिलेसम्म जन्मन दिइरहने? दर्शकहरूले के क्लिक बेटमा क्लिक नगर्दा हुदैन । के अर्धनघ्नताको आडमा गीत बेचेर मिलिनियर बन्न खोज्नेहरूलाई बहिस्कार गर्न सकिदैन? सकिदैन भने हाम्रो कमजोरी हो । त्यो कमजोरी नसच्चाए हाम्रो मुल पहिचान तीज के विकृतीको मोलमोलाई गर्ने चाड नबन्ला भनेर भन्न सकिएला र?

कलाकारहरूको सिर्जनशिलताले समाज सुधार गर्नुपर्छ । सामाजिक संस्कारहरूमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ । तीजजस्तो मौलिक पर्वमा नाङ्गो नाच देखाएर पर्वको पवित्रतालाई डङ्गुरमा मिसाउनाले भविष्यमा गंभीर सांस्कृतिक दुर्घटना हुन सक्छ । परम्परा भण्दैमा सबै चीज छोड्नुपर्छ भन्ने मान्यता राख्नु त्यति उपयुक्त नहोला । प्रतिगामी तत्वहरुलाई छोड्नु पनि पर्छ । सामाजिक असमानतालाई प्रवर्धन गर्ने खुराकहरूलाई पक्कै रिडी राम्दी वा आरेघाटमै लगेर चिता बनाएर जलाउनै पर्छ। तर भाइचारा प्रवर्धन गर्ने, अपनत्व बोध गराउने, ‌आफ्नोपनको पहिचान दिलाउने, नेपाली पहिचानको चिनारी झल्किने तीज लगायतका अन्य सांस्कृतिक पर्वमा प्रस्तुत गरिने गीतहरूको मौलिकतामाथी बन्चरो प्रहार गर्नु आफैले आफ्नो घाँटी काट्नु समान छ ।
भविष्यमा हाम्रा उत्तराधिकारी अनुज पुस्ताहरूले पहिलेपहिले नेपालमा नारीहरूले आपसी बेदनाको बिनिमय गर्दै गीतको माध्यमबाट समाज परिवर्तन गर्नका लागी तीज भन्ने पर्व मनाउदै लोक लयमा आधारित गीत गुनगुनाउदै नाचगान गर्थे अरे भन्दै पाठ्यक्रममा रट्नुपर्ने अवस्था नआओस् । तीजको मौलिकता पनि दन्त्य कथा नबनोस्
आधा काटिएर अर्धकचल्टो भैसकेको तीजको मौलिकताको घाँटी ङ्याक्ने कि स्याहारसंहार गर्ने, जोगाउने?, त्यो त तपाइँ हाम्रै जिम्मा।।

लेखकबाट थप

पाल्पाका जागरण पोस्ट प्रतिनिधी सन्दीप थापाले सामाजिक विषयमा पनि कलम चलाउछन् ।
लेखकलाई फेसबुक ट्विटरमा मा भेट्न सकिन्छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८