काठमाण्डाै : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक भाेलि शनिवार बस्दैछ ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ ।
शनिवार बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवम् सदस्यलाई ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गरेलगत्तै केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।
गएकाे मङ्सिर २४ देखि २८ गतेसम्म सम्पन्न महाधिवेशनअन्तर्गत भएको चुनावबाट केन्द्रीय कार्यसमितिका एक सय ३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन् ।
यसबाहेक नयाँ विधानअनुसार केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्न बाँकी छ ।
‘निर्वाचित भएको प्रमाण पत्र’ वितरणका लागि सबै पदाधिकारी र सदस्यलाई खबर गरिसकेको र त्याे कार्यक्रमपछि पार्टी कार्यालयको ठूलो हलमा नै केन्द्रीय कार्यसमिति बैठक बस्ने उनले बताए ।
तेह्रौँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय समिति ८५ सदस्यीय थियो ।
बैठकमा सभापति देउवाले सबैलाई धन्यवाद दिने, स्वागत गर्ने, निर्वाचन आयोगमा दल दर्ताका लागि निर्णय गर्नेलगायतको कार्यसूची रहेको बताइएको छ ।
कांग्रेसले बैठकको निर्णयसहित शनिवार नै आयोगमा राष्ट्रिय सभा सदस्य चुनाव प्रयोजनका लागि दल दर्ताको निवेदन दिने सचिव रिजालले बताए ।
आयोगले यसअघि याे प्रयोजनका लागि यही पुस १० गतेसम्म अन्तिम म्याद तोकी सूचना प्रकाशन गरेको थियो ।