ब्रेकिङ न्युज:

राजनीति रक्तपातबिहिन युद्ध हो, त्यसैगरी युद्ध रक्तपातपूर्ण राजनीति हो : माओ त्से-तुङ्

Jagaran Post ११ पुष २०७८, आईतवार ११:४३
chandramani gautam
          चन्द्रमणि गौतम

आज २६ दिसम्बर (पुस ११) १२८औँ माओ जन्मजयन्ती हो । माओ त्से-तुङ् (१८९३–१९७६) चिनिया कम्युनिस्ट पार्टीका संस्थापक हुनुहुन्थ्यो । उहाँ मार्च २०, १९४३ देखि निधन नहुन्जेल कम्युनिस्ट पार्टीको अध्यक्ष रहनु भयो । उहाँका निकटतम अन्य अधिकारीहरूमा लिउ साओकी, लिन बियाओ, चाऊ एन–लाई र हुआ गुओफेङ् हुनुहुन्थ्यो । चीन र भारतमा एकै वर्ष, सन् १९२१ मा कम्युनिस्ट पार्टीको स्थापना भएको हो । तर आज भारतमा रहेबचेको कम्युनिस्ट पार्टी पनि अत्यन्त कमजोर हालतमा पुगेको छ भने चीनमा निकट भविष्यको महाशक्ति राष्ट्रको सञ्चालक पार्टी बन्दैछ ।

माओ त्से-तुङ् हुनान प्रान्तको शाओशान भन्ने गाउँमा पहिले गरिब तर धनाड्य बनेको परिवारमा जन्मनु भएको थियो। बाबुले माओ लगायत अन्य ३ छोराछोरीलाई कडा अनुशासनमा राख्ने क्रममा पिटिरहन्थे । उहाँकी आमा बुद्धमार्गी थिइन् । उनले माओलाई पनि बुद्धमार्गी बनाएकी थिइन्, तर माओले किशोरावस्थामै धर्म परित्याग गर्नुभयो । उहाँले १९१७–१९१९ को अवधिमा बेइजिङ्गमा गएर मार्क्सवादको मनोयोगका साथ अध्ययन गर्नुभयो भने चीनका प्राचीन युद्ध सरदार र रणनीतिकारका ब्युह रचनाहरू पनि पढ्नुभयो । यी सबैको निचोडमा उहाँले छापामार युद्धका सैन्य नीति बनाउनु भयो । साथै कृषकबहुल एशियाली मुलुकमा सर्वहारा क्रान्तिले मात्र होइन किसान आन्दोलनले पनि कम्युनिस्ट शासन स्थापना गर्न सकिन्छ भन्ने विचारधाराको विकास गर्नुभयो । माओ नेपालको स्वाधीनताका सच्चा समर्थक र नेपालका मित्र हुनुहुन्थ्यो। उहाँको माथि प्रस्तुत विचार ‘अध्यक्ष माओका संकलित रचना’, दोस्रो खण्डको ६४ औँ अनुच्छेदमा उल्लेखित छ ।

उहाँले प्रतिवादन गरेको एउटा छापामार युद्धका ४ सूत्र निकै चर्चित छ– “दुश्मन अगाडि बढ्छ, हामी पछि सर्छौँ । दुश्मन रोकिन्छ, हामी सताउँछौँ । दुश्मन थाक्छ, हामी हमला गर्छौँ । दुश्मन पछाडि हट्छ, हामी लखेट्छौँ।”

माओको आह्वान र कारणमा १८ हजार नेपाली नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको, एक दशकभरि अनगिन्ती नागरिक बेपत्ता, विस्थापित, आन्तरिक शरणार्थी, घाइते वा अंगभंग, विकासका आयोजनाहरूको विध्वंस, लूट तथा जबरजस्ती चन्दा, अपहरण, धम्की तथा दण्डहिनता अनेकौँ आपराधिक ब्यवहार नेपालले भोग्नुपरेको थियो। त्यसका असर र धङ्धङे अझै बाँकी छन्।

चीनको ‘दीर्घकालिन जनयुद्ध’ को सम्पूर्ण खाका, योजना, रणनीति र संगठन माओ त्से-तुङ् कै दिमागको उपज हो। उहाँले ‘जनमुक्ति सेना गठन गर्नुभयो । त्यो सेना बलियो नहुन्जेल चियाङ्ग काइशेकको ‘कुओमिन्ताङ्ग’ पार्टीसँग सम्झौता गरी जापानीहरूलाई चीनबाट धपाउने युद्ध चलाइयो । जापानीहरू धपाईएपछि क्वोमिन्ताङ्गसँग माओको कम्युनिस्ट पार्टीले सम्बन्ध बिच्छेद गर्यो । १९४९ मा कुओमिन्ताङ्ग पार्टीलाई पनि चीनबाट धपाईयो । चियाङ्ग काइ शेक ४ लाख सेना लिएर फर्मोसा (ताइवान) मा पुगे । १९४९ मा माओले जनवादी गणतन्त्र चीनको घोषणा गर्नुभयो।

माओ त्से-तुङ् को जीवनमा अनगिन्ती अनौठोपन छन् । उहाँ हत्तपत्त ननुहाउने अलिक फोहोरी (रफ) टाइपका हुनुहुन्थ्यो । दाँत नमाझ्ने, हरियो चियापत्ती चपाएर दाँतभरि घुमाउने गर्नुहुन्थ्यो । सत्ता आफ्नो पार्टीको हातमा नआउन्जेल र बेइजिङ्गको सुख सविधासम्पन्न रहनसहन नपाउन्जेल माओ बेईजिङ जानुभएन । बाथरुममा होइन मैदानमा दिसापिसाब गर्नुहुन्थ्यो। सुँगुरको भुँडी पखालेर बनाइने चिनिया गाउँले समाजमा लोकप्रिय ब्यन्जन ‘होङ्ग साउरु’ माओको प्रिय परिकार थियो, तर त्यसलाई पत्नी चियाङ् चिङ् घीनले हेर्न पनि सक्दिनथिन् । बेलाबखत होङ्साउरु खानुपर्ने कारणले पनि माओ र म्याडाम माओको भान्सा अलग भयो ।

१९६८ मा पाकिस्तानी विदेश मन्त्रालयबाट करिब ४० वटा पाकिस्तानी आँप उपहार दिएको र उहाँले पहिलोपल्ट आँप चाखेपछि आँपलाई उहाँले ‘आध्यात्मिक टाइम बम’ नाम दिनुभयो । १४ वर्षको उमेरमा उहाँको २० वर्ष उमेरकी कन्यासँग पहिलो बिहे भएको थियो । माओ भन्नुहुन्छ, “तर मैले उनलाई राम्ररी छोइन पनि ।” माओले जीवनमा ४ पटक बिहे गर्नुभयो । पछिल्लो बिहे सांघाई ओपेराकी नर्तकी चियाङ् चिङ्गसँग भयो । सांस्कृतिक क्रान्तिकालमा ‘म्याडाम माओ’ भनिने चियाङ्ग चिङ्को नेतृत्वमा ४ जनाको डफ्फा (चण्डाल चौकडी) को सर्वसत्तावादी शासनले पार्टीभित्रै ठूलो बेचैनी ल्याएको थियो । पार्टीका माथिल्लो तहका धेरै नेताहरू सांस्कृतिक विचलन आएको र वर्ग उत्थान आएको भन्ने आरोपमा कारवाहीमा परेका थिए । चण्डाल चौकडीका अन्य तीनजना झाङ् चुनकिआओ, याओ वेनयुवान र वाङ् होङ्वेन थिए । माओको निधन भएपछि चण्डाल चौकडीका दिन पनि सकिए । आजको चीनका अधिष्ठाता माओकै वैचारिक र प्रतिकात्मक अस्तित्व आजको चीनमा देख्न पाइन्न ।

चुरोट अति नै पिउने माओको आदतका कारण उहाँको स्वास्थ्य निकै कमजोर भएको थियो । निधनकै वर्ष उहाँलाई दुईपल्ट हृदयाघात भएको थियो । पछिल्लो हृदयाघात भएको ४ दिनपछि उहाँको निधन सेप्टेम्बर ९, १९७६ को राती १२ बजेर १० मिनेटमा भयो । तर औपचारिक घोषणा भने अपरान्ह ४ बजेमात्र भएको थियो । विदेशीसँग माओले गरेको अन्तिम भेट एक दिने बेइजिङ्ग भ्रमणमा आएका पाकिस्तानका प्रधानमन्त्री जुल्फिकर अली भुट्टोसँग मई २७, १९७६ मा गर्नुभएको थियो । उहाँको अन्तिम सार्वजनिक फोटो पनि त्यही होला । उहाँले अन्तिम शब्द पार्टीको पोलिट ब्युरोका तत्कालीन ७ सदस्य हुवा क्वो–फेङ्, मार्शल येह चियेन यिङ्, वाङ् हुङ्–वेन, चाङ् चुन–चियाओ, लि ह्सिएन निएन, चेन युङ्–कुई र याओ वेन–युवान समक्ष बोल्नुभएको थियो । उहाँका ‘अन्तिम शब्द’ रोचक छन्। त्यसमा उहाँले आफू मार्क्सलाई भेट्न जान लागेकोदेखि सत्य सँधै अल्पमतसँग हुनेगर्छ जस्ता अभिव्यक्ति दिनुभएको थियो।

वि.सं.२०१६ मा प्रधानमन्त्रीको हैसियतले बीपी कोइराला चीनको भ्रमणमा जाँदा भएको माओसँगको डेडघन्टा लामो भेट तथा सगरमाथासहित नेपाल–चीन सीमा विवादको अन्त्यका कारण माओ–बीपीको सो भेट नेपालको इतिहासमा महत्वपूर्ण घटनाका रुपमा रहेको छ (हे. विश्वेश्वरप्रसाद कोइरालाको आत्मबृत्तान्त, पुनर्मुद्रण ०६७, पृ. २५१) ।

चीनले सन् २०२० मा कम्युनिस्ट पार्टी स्थापना भएको शतवार्षिकी मनायो । त्यसपछि आफ्नो सम्पूर्ण शक्ति, समृद्धि र सामर्थ्य अमेरिकाको भन्दा अझ बढी बनाउने लक्षका साथ चिनियाहरू लागेका छन् ।

 

 

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९