ब्रेकिङ न्युज:

मरेको मान्छेलाई जिन्दावाद भन्नू, बाँचेका मान्छेलाई मुर्दावाद भन्नू, राजनीति भनेको यही हो : भूपि शेरचन

Jagaran Post १२ पुष २०७८, सोमबार ०७:१४

नेपाली लेखन क्षेत्रमा आख्यान नै बनेको ‘धेरै लेखे थोरै नाम, थोरै लेखे धेरै नाम’ भन्ने उक्ति कथाकार गुरुप्रसाद मैनाली, आयामेली कवि बैरागी काईँला लगायत कवि भूपि शेरचन (बि.सं. १९९३२–२०४६) मा समेत पुग्छ । गद्य कविताका बेजोड हस्ताक्षर भूपि शेरचन ले आफ्नो युगप्रवर्तक काब्य प्रतिभा ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता संग्रहमा प्रस्तुत गरेका छन् ।

शनिबार, पुस ५, ०७६ को दैनिक ‘नयाँ पत्रिका’मा वनस्पति तथा वातावरणीय वैज्ञानिक डा. तीर्थबहादुर श्रेष्ठले भूपि शेरचनका बारेमा देखे–भोगेको रमाईलो संस्मरणात्मक सामग्री प्रस्तुत गरेका थिए । उनी कवितामा मात्र होइन भाषणमा पनि चोटिला र घतलाग्दा विचार प्रस्तुत गर्ने विशेषताले चिनिन्छन् । डा. श्रेष्ठले नै उक्त लेखमा माथि प्रस्तुत विचारका साथै भूपिका प्रस्तुत अन्य भनाई टिप्न लायक छन्–

“कर्मचारीको धर्मै यस्तै हो, यिनीहरूले आउनेलाई ताली र जानेलाई गाली गर्छन् ।”

“सफल हुनलाई दुई ठाउँमा जान छोड्नु हुन्न, एउटा सलामी अर्को मलामी ।”

“छन्दमा लेख्ने कवि होइनन्, कालीगढ हुन् ।”

प्रसिद्ध गीतकारका रुपमा पनि भूपिलाई सम्झिनु पर्छ । प्रेमध्वज प्रधान तारादेवीले गाएको ‘यो नेपाली शीर उचाली….’, नारायण गोपालले ‘भागी विवाह’ गरी पेमलालाई लिएर पोखरामा केही अवधि बस्दा भूपीकै घरमा डेरा गरेका र त्यसबेला रचना गरेको र नारायण दाईले गाएको, ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटैमा….’ उनैका रचना हुन् ।

उनका दाजु काईला योगेन्द्रमान शेरचन नेपाली काँग्रेसका निकै प्रभावशाली नेता थिए । योगेन्द्रमानजीलाई मोटरले रहस्यमय तरिकाले किचेर हत्या गरिँदा भूपिले लामो कविता लेखेका थिए । ‘विश्वास गर त्यो सपना पक्कै पुरा हुनेछ’ शीर्षकको उक्त कवितामा योगेन्द्रमानजीलाई भाई कवि भूपिले ‘गान्धीजस्तो शान्त र आँधीजस्तो जल्दोबल्दो’ भनेका थिए :

अरूलाई बाटो देखाइरह्यो जीवनभरी
आफ्नो बाटोको कष्ट सोचेन उसले
सानैदेखि पूजापाठ गर्दथ्यो उ
जब कि उसकै पूजा गर्नुपर्दथ्यो
प्रगतिको शिखरमा पुग्दा उ मर्यो
जब कि अगतिहरूलाई मर्नुपर्दथ्यो ।
एउटा सुनौला बिहानीको सपना हेरेर
आठ वर्ष बन्दी गृहमा उसले बिताइदियो
अहिले घाम झुल्किएला कि भन्ने बेलामा
उ कहिल्यै नउठने गरी निदाईदियो ।……
(सर्वप्रथम ‘राष्ट्रपुकार’ साप्ताहिकमा २०२८ चैत्र १४ गते सोमबार प्रकाशित)

आफ्नो ४२ वटा प्रसिद्ध कविताको संग्रह ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ प्रकाशित भएकै समकालीन (२०२६ साल) स्थितिमा साहित्यकार उत्तम कुँवरलाई ‘स्रष्टा र साहित्य’ का लागि अन्तरवार्ता दिँदा कवि भूपि शेरचनले यो भनाई व्यक्त गरेका थिए ‘म दुइटा ‘क’ बाट पीडित छु। एउटा कविता र अर्को कम्युनिस्ट।’

भूपीजीको जीवनका करिब अन्त्यतिर एक साँझ उहाँलाई भेट्न निवास (नारायणचौर) गइयो । अक्सिजनको पाइप लगाइएका र अनेकौँ औषधी छेउमा राखिएको अवस्थामा कोठाभित्र पस्दै अभिवादनपछि मैले उहाँको स्वास्थ्यस्थितिबारे सोधेको थिएँ, ‘कविज्यू अहिले कस्तो छ ?’ छटपटीजस्तो कहिले सुत्दै कहिले बस्दै गर्नुभएका उहाँले मेरो जवाफ दिनुभयो, “को कवि ? म त मरिसकेको छु । औषधीहरूमात्र बाँचेका छन् ।” साथैमा हुनुभएकी म्याडमसँग एकछिन कुराकानी भयो र म हिँडेँ ।

०३५ सालतिर प्रज्ञा प्रतिष्ठानमा भेट भइरहने, गएपछि सँधै ‘चिया पिएर जानुहोस्’ भन्ने भूपीजीसँग मेरो अन्तिम संवाद त्यही दिनको थियो । उहाँको बारेमा विगत पत्रकारिताको क्रममा यथेष्ट कलम चलाउने मौका मिलेको थियो ।

थप : कवि भूपिको जन्म टुकुचे हिमालको फेदीमा अवस्थित टुकुचे गाउँ (धवलागिरि अञ्चलको, मुस्ताङ जिल्ला) मा भएको हो । त्यो जमानाका प्रतिष्ठित व्यक्ति सुब्बा हितमान शेरचन र पदमकुमारी शेरचनका कान्छा छोरा, उनको खास नाम भूपेन्द्रमान शेरचन हो।

(चन्द्रमणि गौतम)

twitter.com @jagaranpost

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९