आफ्नै देशमा अस्पताल बनाऊ, आफ्नै देशमा उपचार गर महोदय

जागरणपोस्ट १३ भाद्र २०७६, शुक्रबार १८:००
           बिजय ज्ञवाली

यस्तो लाग्छ अब देश नै बिमारी छ। बिमारी देशको उपचार गर्ने कुनै अस्पताल नै छैन। कुरा वस बुझाईमा फरक पर्दछ। मान्छेको भौतिक शरीर बिमारी भएको झर्लक्कै देखिन्छ, तुरुन्तै निदानतर्फ लागिन्छ। आफ्नो बलबुता र पहुँचले भ्याएसम्म सकभर राम्रै ठाऊँमा गएर उपचार गर्ने हरेक नागरिकको चाहना हुन्छ। आखिर ज्यान न हो, ज्यानको माया कसलाई पो लाग्दैन र? जति नै अस्वस्थ र बिमारिले गाँज्दै लगे पनि आखिर एकबारको जिन्दगी घाँडो कसलाई पो लाग्ला र? एकपला भएपनि धेरै बाँच्छु कि भन्ने त्राण सवैमा हुन्छ। यो सवै प्राणीको मानविय स्वाभाव नै हो।

जुम्ला, बाजुराका कुना कन्दराका निमूखा जनतादेखि यो देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत कथित उच्च ओहोदाका भनिने नागरिकको भौतिक संरचनाको निर्माण सायद यौटै नै होला। पुरुषका हकमा पुरुष जननेन्द्रीयहरु र महिलाको हकमा महिला जननेन्द्रीयहरुको संरचना यौटै होला र महिला पुरुष भनेर दूईवर्गमा वर्गिकृत मानिसको भौतिक उपस्थिति रहेको होला। हिमाली भेगका नागरिकको रगत चिसो र तराईका नागरिकको रगत तातो हुने कुरा पनि भएन। फेरि जुम्ला, बाजुरा, हुम्ला, डोटी, बझाङ्गदेखी लिएर देशभरका कुनाकन्दरमा रहेका आम नागरिकलाई लाग्ने रोग र सायद यो देशका उच्चपदस्थलाई लाग्ने रोगमा पनि भिन्नता नहोला। रगत यौटै अनि रोग पनि यौटै भएपछि सायद पीडा पनि यौटै होलान, साझा होलान। पूर्वराष्ट्रपतिलाई जिब्रोमा लागेको खटिरो सायद आम नागरिकलाई पनि लाग्दोहो भने वर्तमान प्रधानमन्त्रीकोजस्तै मृगौलाको समस्यासंग कयौं आम नागरिकहरु पनि जुधिरहेका होलान। रोग/ बिमारीमा आखिर फरक के नै पो रहेछ र?

फरक त आखिर वर्गिय खाडल पो रहेछ त ! यौटै वनावटको शरिरमा यौटै प्रकारको रोगले ग्रसित यो देशका आम जनता र कथित भिआईपी हुनुको फरक वास्तवमा यहिं नै रहेछ- पहुँच, पैसा, शक्ति र सामर्थ्य। अलिकति पैसा हुनेहरु अलिक स्तरिय अस्पतालमा उपचार गराऊंदै होलान भने अलिक धेरै पैसा हुनेहरु देशविदेशको अलिक राम्रै अस्पतालमा उपचार गराईरहेका होलान। राज्यको पहुँचमैं रहेकाहरुका लागी राज्य नै जमानी बसेर बिदेशका अति विलासी अस्पताल तथा होटलमा राखेर उपचार गराईरहेको छ। अर्को अर्थमा तिनै निमूखाले जेनतेन तिरेको करबाट विदेशमा अयासी गर्दैछन, विशिष्टप्रकारको उपचार गर्दैछन। तर, जेनतेन कर तिरेर तिनै शाषक पालिरहेका आम निमूखा नागरिकको बारेमा एकपटक गम्भीर भएर सोंचौ त? निमूखाको करबाट पालिएका शाषकले शासन गरेको देशका नागरिकको के हविगत कस्तो होला?

दूर्गममा त अझै पनि सवै नागरिक सहज र सर्वसुलभ अस्पतालको पहुंचमा छैनन। जेनतेन नजिकको अस्पतालमा पुगिहाले पनि तिनिहरुसंग औषधी किन्ने पैसा हुन्न। ल, औषधि त जेनतेन किनि पनि हाले, तर अस्पतालको चार्ज तिर्नसक्ने अवस्था रहँदैन। जेनतेन सरकारी अस्पतालमा केही सहुलियत प्राप्त गरे पनि सरकारी अस्पतालभित्रको दृष्य र व्यवहारले रोग निको हुनुको साटो झनै बल्झिएर जालाझैं हुँदैन। नेपालका दूरदराजका सरकारी अस्पताल न हुन, बिमारअनुसारको विशेषज्ञ डाक्टर नहुँदा हुन, डाक्टर भए औषधी नहुँदो हो, आवश्यक उपकरण र दक्ष जनशक्तिको अभावमा गम्भीर प्रकृतिका बिमारीको लागि बाहिर रिफर गर्नुपर्ने हुन्छ। जेनतेन सरकारी अस्पतालसम्म धाएका ती गरिव नागरिकले अब बाहिर गएर महंगो उपचार पद्धति कसरी गर्न सकुन? कहाँबाट जुटोस उपचार रकम? अझ अप्रेसन नै गर्नुपर्ने छ भने त अप्रेसन गर्नुभन्दा घरमैं रोगसंग जुधेर बस्नुको विकल्प देखिंदैन आर्थिक अभावको कारण। यस्ता घटना विकट जिल्लामा मात्र होईन, सुगम जिल्लाका पनि अधिकांश भेगमा देख्न पाईन्छ। र, पैसा नभएकै कारण उपचारबाट वन्चित हुनुपरेको पीडा तिनै भुक्तभोगीलाई मात्र थाहा हुन्छ, जसले उपचारलाई आकाशको फलसरह देख्दै रोगसंग जुधेर बसेको हुन्छ।

खासमा राज्यको नजर जानुपर्ने यतातिर हो। तर राज्यको यतातिर कुनै प्रवाह नै छैन। प्रशस्त धनसम्पत्ति, जायज्यथा, आकर्षक जागिर, राज्यको विभिन्न ओहोदामा रहेर काम गरिसकेको ख्यातिप्राप्त ब्याक्तिले आफ्नो उपचार गर्न आफै सक्षम हुन्छ र हुनुपनि पर्दछ। त्यस्ता ब्याक्तिले राज्यको आश गर्नु हुँदैन। त्यसरि राज्यको आश गर्नु भनेको निमूखाको स्वास्थ्यअधिकार खोस्नुसरह हो। यस्ता कुरा हामी आम नागरिकले भनिरहनुपर्ने कुरा पनि होईन। राज्यको नितिनिर्माण तहमैं बसेकाले बुझ्नुपर्ने हो। हामी आफ्नो उपचार गर्न आफै सक्षम छौं, हाम्रो उपचारको लागि छुट्ट्याईने रकम उपचारबाट वन्चित हुनपुगेका नागरिकको गुणस्तरिय उपचारमा खर्चियोस भनेर सवै विवेकशिल उच्चपदस्थ सरकारी अधिकारी, राजनैतिज्ञ र केन्द्रिय नितिनिर्माण तहमा बसेका अति विशिष्टज्यूहरुले एकसाथ भनिदिए यो देश कति स्वस्थ हुनेथियो होला हगि? यो देश कति खुशी हुनेथियो होला हगि? ती तमाम उपचारबाट वन्चित नागरिकको आत्माले कति आषिक दिंदोहोला हगि?

केहि समयपहिला सामाजिक संजालमा यौटा भिडियो भाईरल भएको थियो। नाईजेरियाका एक मन्त्रीलाई जर्मनमा आफ्नै देशमा राम्रो अस्पताल खोलेर उपचार गरा भन्दै उनीमाथी हातपात गरेको देखियो। खासमा उनी उपचार गराऊन भन्दै जर्मन गएका रहेछन। स्मरण रहोस, नाईजेरिया बोकोहरामजस्तो खुनखार आतंककारी समुहबाट आक्रान्त छ। राजनैतिक अस्थिरता, भ्रष्टाचार, बेरोजगारी, आतंक, घुसपैठ, आगजनी, बलात्कार, हत्याजस्ता घटनाले गर्दा नाईजेरिया अफ्रीकामैं बदनाम देशमध्ये एक हो। नागरिकलाई एकछाक खान धौ धौ छ। रोजगारी र सरकारी सुविधाको त कुरै नगरौं। नागरिकले तिरेको करमा सबै भ्रष्टाचार भएको छ। मुठ्ठिभरका शाषकहरुले भ्रष्टाचार गरेर जोडेको अकूत सम्पत्तिमा रंजाई गरिरहेका छन। आफ्नो देशमा यौटा गतिलो आपताल, स्कूल, पुर्वाधारलगायत निर्माण गर्नुको साटो आफ्ना छोराछोरीसंगै कालो धन पनि बिदेशमा थुपारेका छन भने सामान्य उपचारार्थ नेताहरु बिदेश पुग्ने गरेका छन। शाषकहरुले जनतामाथी गरेको चरम अन्यायको परिणामस्वरुप जर्मनीमा नाइजेरियन मन्त्रीमाथी हातपात भएको हो।

भ्रष्टाचार र कु-शाषनमा नेपाल पनि नाईजेरियाभन्दा केही कम छैन। कालो धन बिदेशमा थुपारिएकै छ भने नेताका छोराछोरी सबैले बिदेश बसेर पढेका छन। बिमारी हुँदा राज्यकोषको दोहन गरेर विदेशमा सुविधासम्पन्न औषधोपचार गराएकै छन भने किन चाहियो नेपालमा अन्तर्राष्ट्रिय स्तरका अस्पतालहरु? कम्तिमा पनि हरेक प्रदेश, अन्चल र जिल्लामा रहेका अस्पताललाई सरकारले पुर्वाधारलगयत दक्ष जनशक्तिसहित अलिकति भएपनि स्तरोन्नति गरिदिने हो भने अधिकांश नागरिकले सस्तो र सर्वसूलभ रुपमा स्वास्थ्योपचार प्राप्त गर्नेथिए। उपचार नपाएकै भरमा कसैले अकालमा मृत्यूवरण गर्नुपर्ने पनि थिएन। नेतृत्व तहमा बसेकाहरुले कम्तिमा पनि आफ्नै देशमा उपलव्ध विशेषज्ञ सेवा र अस्पतालको उपयोग गर्नेहो भने एक त उपचारको नाममा बर्षेनी बाहिरिने अर्वौं रुपियां जोगिने थियो। दोस्रो नेपालमैं कार्यरत डाक्टरहरुको हौसलामा अझै वृद्धि हुनेथियो। तेस्रो, नेपालमैं भएका अस्पतालको अझै स्तरोन्नति हुनेथियो भने गुणस्तरिय अनि स्तरिय अस्पतालहरु धमाधम खुल्नेक्रम बढ्दथ्यो। फलस्वरुप अस्पताल अस्पतालबिचको प्रतिष्पर्धाले गर्दा औषधोपचार सस्तो बनेर जान्थ्यो।

हामी नेपाली नागरिक धेरै सहनशिल छौं। हामीलाई हाम्रो नेतृत्व तहले पाईलैपिच्छे ठग्दै र लूट्दै हिंड्दा पनि हामी नाईजेरियाका युवाझैं आक्रामक हुन सक्तैनौ। नत्र त हाम्रो मनमा पनि हुँदो हो नि, आफ्नै देशमा स्तरिय अस्पताल बनाऊ , आफ्नै देशमा उपचार गराऊ भन्ने कुरा। जनताको सहनशिलतामा नेतृत्वले चरम मजाक गर्न हुँदैन। आम जनता के चाहन्छन, त्यो मनोविज्ञान नेतृत्वले बुझ्न सकेमात्र देश समृद्ध, सुखी एवं स्वस्थ रहनेछ। होईन भने नेपाली जनताको धैर्यताको बाँध फुट्न पनि के बेर र? भोलीको कुरा कसलाई के थाहा?

gyawaligulmi22@gmail.com

यो पनि पढ्नुहोसयस्तै ताल हो भने चिहानको हड्डी पनि फुक्न नपर्ला प्रमज्यू

जागरणपोस्टलाई ट्विटरमा फ्लो गर्नुहोस

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८