चन्द्रमणि गौतम – म राजतन्त्रवादी होइन र राजतन्त्रप्रति देवत्वकरण वा आसुरीकरण गर्नु पनि छैन । ता पनि पूर्वाग्रह नराखी सत्य बोल्नैपर्छ– पूर्वराजा ज्ञानेन्द्र वीर बिक्रम शाह (२००३– ) वर्तमान परिस्थितिको सन्दर्भ–केन्द्र र आकर्षणको अग्रणी स्थानमा देखिन्छन् । उनको पक्षमा उठेको असामान्य जनआकर्षणमा कति स्थायित्व छ, वा यो पानीको फोकाजस्तै क्षणिक हो, यसै भन्न सकिएन । गणतन्त्र राष्ट्रपतिको रत्यौली र लोकतन्त्र प्रधानमन्त्रीको गाईजात्रा हुने देशमा जनताले के खोजुन् त !
राजनीतिक दल र जुन हेरे पनि उस्तै गैरजिम्मेवार, गतिछाडा र निर्लज्ज नेताहरूका लोभी, पापी र भ्रष्ट आचरण भोगेर भाउन्न हुँदै ‘वाक्क’ भएका भुक्तभोगी जनताले ‘थुक्क !’ गर्दै राजा खोजेका हुन् कि ? बनावटी, सजावटी र देखावटी राजनीतिको दबदबामा यो पनि त्यस्तै हो कि ! असहायवोध र आपत आएपछि नै भगवानलाई सम्झिएजस्तै मानवोचित स्वार्थको यो पनि मनोवैज्ञानिक प्रतिक्रिया हुनसक्छ । त्यसैले त्यो भीडको पनि परीक्षा जो हुन बाँकी छ ।
जनसमुदायको स्वभाव र अपेक्षामा, ‘राजा आऊ देश बचाउ’ भन्ने खालका नारा सुनिएकोले सडकमा निस्किएको भीडले त्यस्तो दैवी चमत्कार गर्नसक्ने पौरखी राजा खोजिरहेको बुझिन्छ, जसले ‘देश बचाउन’ सक्नुपर्छ । नत्रभने त्यस्तो राजाको बिरुद्ध पनि यो समुदायको धैर्य तुरुन्त टुटिहाल्न के बेर ! हाललाई यसरी नै बुझौं, राजतन्त्रको पक्षमा सडकमा देखिएको विशाल जनप्रदर्शन, गणतन्त्रवादी नेता तथा कार्यकर्ताहरूका अतिवादी हर्कतको दुष्परिणामका रुपमा प्रस्तुत भईरहेको देखिन्छ । अर्कातिर, कतिपयका राजावादी मनोवृत्ति पनि उस्तैउस्तै लाग्छ, जसबाट गणतन्त्रको फैलावटलाई मलजल गरिरहेको छ; अर्थात गणतन्त्रवादीहरूको अतिवादले हौसिएका राजतन्त्रवादी, राजावादीहरूको सतीवादले फैलाएका गणतन्त्रवादी ! तब, मध्यमार्गी बिचारवालाहरूले भन्ने नै भए, “राजतन्त्रको संभावनामा कतिपय राजावादी पिशाचकै घात…!”
कुनै राजनीतिक परिवर्तनले पनि नेपाल र नेपालीका लागि सुविस्ताले सास फेर्ने दिन ल्याउन सकेन । बरदानको सपना देखाएर गरिएका परिवर्तन नारकीय अभिशाप र यातनायन्त्र हुनपुगे । संकट खडा गर्ने बद्नियत बोकेर समाधानको नाटक देखाउँदा जे हुनुथियो, आजको नेपाल त्यही भोगिरहेको छ । जनताले दिएको करिब दुईतिहाई बहुमतको जनादेश जसका लागि ‘कुकुरलाई घ्यू नपचेको’ जस्तो हुनपुग्यो, यो नै गतिछाडा राजनीतिको पछिल्लो संस्करण हुनपुग्यो । त्यसको नतिजाले ल्याएको सल्बलाहट जंगलका हिंस्रक जनाबरले पनि खिल्ली उडाउने खालको सिद्धान्तहिन, नैतिकहिन, सीमाविहिन, अनुशासनहिन, मानवताविहिन फोहोरी ‘राजनीति’को उदाहरण हो ।
पूर्वराजा ज्ञानेन्द्र ले ३०० औं पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते दिएको एक वक्तब्यमा माथिको भनाई राखेका छन्। यसमा असहमत हुन सकिन्न । के थाहा उनलाई नियतिले तीनचोटी राजा हुनै लेख्या रहेछ कि ! तर अब आएर के गर्ने ? देशको लागि केही गर्न सकिन्न भने कसको काँध चढेर किन ‘आउने’ ?
२००७ सालमा राजा त्रिभुवन सम्पूर्ण परिवार नयाँदिल्लीतिर लाग्दा मावलीमै छोडिएका ३ वर्षे ज्ञानेन्द्रलाई राणाहरूले च्याप्प उठाएर श्रीपेच लगाईदिएका थिए । भनिन्थ्यो, नावालकको टाउकोमा लगाईदिएको श्रीपेचले राजाका आँखा नै छोपिदिएर हिंड्न गाह्रो भएथ्यो रे ।
दोस्रोपटक २०६१ माघ १९ गते सत्ता हत्याएर ‘बोल्ने र केही गर्ने राजा’ हुन खोज्दा १५ महिनामै विदामात्र भएनन्, त्यसपछिको आन्दोलनमा राजगद्दी नै उड्यो । पद्धति, विचार र आचरणयुक्त जनउपयोगी राजनीति खोज्ने समुदायका लागि मूल्य–मान्यता र नैतिकताको राजनीतिक पद्धति को आउँदा बन्ने हो, त्यसैको खोजी हुनु मनासिब हो ।