इतिहासमा तक्मा – यौटा रोचक कथा

Jagaran Post २ माघ २०७८, आईतवार ०३:२९
            सुनिल उलक

झट्ट हेर्दा यि तक्मा कुनै मुस्लिम शासकका हुन् जस्तो लाग्दछ । यसमा उर्दु भाषा मात्र प्रयोग भएको छ । अन्य कुनै पनि भाषामा केही पनि लेखिएको छैन । तर एक तर्फ भने राजा सुरेन्द्रको तस्विर राखिएको छ । जसले गर्दा नेपालसंग यस तक्माको सम्बन्ध छ भन्ने सहजै अनुमान गर्न सक्छौ । एक हिन्दु राष्ट्रको हिन्दु राजाले केवल उर्दुमा लेखिएको तक्मा किन र कसलाई दियो होला भन्ने निकै रोचक कथा छ ।

आखिर यस तक्मामा उर्दु भाषामा के लेखिएको छ भन्नेमा जाउँ । यसमा लेखिएको उर्दुको नेपाली अनुवाद यस प्रकारको छ ।

(समर्पित) श्री महाराजाधिराजा सुरेन्द्र विक्रम शाह बहादुर र श्री जंगबहादुर राणा महाराजाको आदेशमा १५ वर्ष देखि तिब्बती कैदमा रहेका जम्मुका खालसा सिपाहीहरूलाई संवत् १९१२ (सन् १८५५-५६) को भोटसँगको युद्धमा मुक्त गराए। ”

यसले के देखाउँछ भने जंगबहादुरको शासनकालमा केवल नेपाल र नेपालीहरुको लागि मात्र होइन कैदमा रहेका जम्मुका सेनाहरुको लागि पनि महत्वपूर्ण कार्य गरेका थिए । करिव १५ वर्ष देखि तिब्बती सेनाको अधिनमा कैदमा रहेका ५६ खालसा सैनिकहरुको रिहाइ गराएका थिए । ति ५६ सैनिकहरु प्रत्येकलाई आफ्नो पूनर्जीवनको याद दिलाउन यो तक्मा दिइएको थियो । ति ५६ सैनिक को थिए वा कहाँ छन् भन्ने खोजी गरिएको छैन । तर ति सैनिकहरुले प्राप्त गरेका केही तक्मा भने भेटिएका छन् ।

अहिलेको भारतको हिमाञ्चल प्रदेशमा कुनै बेला डोगरा राज्य थियो । बिशाल जम्मु काश्मिर राज्यका राजा गुलावसिंह थिए । गुलावसिंहको राज्य बिस्तारको सपनासंगै लद्दाखमा गवर्नर रहेका सैनिक जनरल जोरावर सिंहको नेतृत्वमा सन १८४१ मा भोट आक्रमणको लागि पठाएका थिए । तर भोटसंगको युद्ध सहज थिएन । जोरावर सिंह युद्धमा मारिए । युद्धमा पुगेका सैनिकहरु पनि कति मारिए कति युद्धबन्दीका रुपमा ल्हासा लगिए । यि युद्धबन्दीमा ३४ ले दक्षिण तिब्बतमा नै बस्न चाहे भने १०६ युद्धबन्दीहरु भने जङ्गबहादुरको समयको नेपाल भोट युद्ध समाप्ति पछि भोट सरकारले नेपाल सरकारलाई हस्तान्तर गरिएको थियो । ति नेपाल पुगेका १०६ युद्धबन्दीमा केवल ५६ ले मात्र जम्मु फर्कने इच्छा ब्यक्त गरेपछि राजा सुरेन्द्र तथा श्री ३ जङ्गबहादुरले यो तक्मा पहिराइ बिदाइ गरेका थिए ।

नेपाल भोट युद्ध

बि.सं. १९०९ साउनको अन्त तिर जङ्गबहादुरले लेफ्टिनेन्ट भीमसेन कुँवरको नेतृत्वमा एक प्रतिनिधी मण्डल चीन पठाएका थिए । नयाँ सम्राट होङ झियाउक्विनको कार्यकाल सफल रहोस भन्ने शुभकामना तथा चीन नेपाल सम्बन्ध दरिलो बनाउने उद्धेश्य सहित गएको सो टोली पेकिङको लागि गएको सो टोलीको बारेमा कुनै पनि जानकारी जङ्गले करिव २ वर्षसम्म पाएनन् । सामान्य रुपले ८ महिनामा फर्कनु पर्ने सो टोली नफर्कदा चिन्तित रहेकै समय अचानक टोलीका प्रमुख भीमसेन कुँवर मात्र फर्किए । उनको जानकारी अनुसार बाटोमा तिब्बतीहरुले सामान लुट्नुको साथै अन्य सदस्यक हत्या गरिदिएको जानकारी पनि दिए । उनको हातमा चीनका सम्राटको सन्देश भएको हुँदा उनलाई जीवित फर्कन दिइएको भन्ने जानकारीको साथ उनले भोटमा रहेका नेपालीलाई पनि यसरी नै लुटपाट तथा हत्या गर्ने गरेको जानकारी पनि दिए ।

यसरी आफ्नो प्रतिनिधी मण्डलको हत्या र लुटपाटको साथै भोटमा रहेका नेपाली माथि पनि अत्याचार भएको सुनेका जङ्गले तत्कालै भोट माथि आक्रमण गर्ने तैयारी गरे । जङ्गले युद्धकै लागि भनेर १४००० पैदल सेना, १२०० घोडचढी सेना नयाँ भर्ना गरेका थिए । साथै ८० वटा बाह्र पाउण्डर टोप, २४ वटा ६ पाउण्डर टोप, साथै मोर्टार र हाउइट्जर गन पनि काठमाडौमा नै ढाल्न लगाएका थिए । गोला वारुद लगायत युद्धको लागि आबश्यक जंगी सामाग्रीहरु तैयार बनाउन कालीगढहरु तैयार बनाएर राखे । भोटमा अत्यधिक जाडो हुने हुँदा जाडोको लागि भनेर बक्खु, दोचा र भोटे टोपीहरु पनि हजारौ बनाउन लगाए । यसको साथै सेना तथा अन्य सहयोगीहरुको लागि आबश्यक राशनपानीको ब्यबस्था तराइका जमिन्दारहरुलाई गर्न लगाए ।

बि.सं. १९११ फागुन १४ गते जङ्गबहादुरका छोरा जीतजङ्गको राजा सुरेन्द्रको छोरी नरेन्द्रलक्ष्मीसंग भएको विवाह समारोहमा भाग लिन भोटको प्रतिनिधीमण्डल काठमाडौ आइपुगेको थियो । यहि अवसरमा भोटका प्रतिनिधीमण्डललाई देखाउने गरि जङ्गबहादुरले सैनिक परेद गराए । जसमा भोटे लुगा लगाएका २८ हजार पैदल सैनिक, १६०० घोडचढी सैनिक, ६० वटा १२ पाउण्डर टोप, ३५ वटा ६ पाउण्डर टोप, सयौ मोर्टार गन तथा हाउइट्जर गनको प्रदर्शन गराएका थिए । भोटका प्रतिनिधी सामु जङ्गले युद्ध तैयारीमा लागेको खर्च तथा भोटमा भएको लुटपाटको समेत गरेर एक करोड नेपाली रुपैयाँ क्षतिपूर्ति दिएमा युद्ध रोकी सन्धि गर्न तैयार रहेको जानकारी गराए । अन्यथा युद्ध शुरु हुने र तैयारीमा रहन समेत सचेत गराए । तर ति प्रतिनिधीमण्डलले भोटमा लुटिएको मुल्यांकन बराबर केवल ५ लाख मात्र दिन सकिने जानकारी गराए पछि जङ्गले युद्धको घोषणा गरे ।

बि.सं. १९११ फागुन २४ गते थापाथलीमा सैनिक कमाण्डरहरुलाई भेला गरि जङ्गबहादुरले सम्बोधन गरे । उनले सैनिकहरु सामु जोशका साथ भने, “बहादुर सैनिक जवानहरु हो । भोटेले हामीलाई हेला गर्यो । हाम्रो तागतलाई कम ठहर्यायो । हाम्रो देशवासीहरुको धनसम्पति लुटेर केहीको हत्या समेत गर्यो । हाम्रो यो बेइज्जती सही बसेमा तिनीहरुले अरु अत्याचार गर्ने साहस गर्नेछन् । तसर्थ हाम्रा देशवासीहरुमा पनि कति शक्ति छ भन्ने कुरा तिनले बुझ्न भन्न खातिर र हाम्रो देशको इज्जत नगरी हेला गरेको हुँदा तिनलाई बदला लिनका खातिर म तिमीहरुलाई युद्धमा खटाउँदैछु ।” भन्दै बडो जोशका साथ युद्धका लागि बिदा गरे ।

झण्डै एक वर्ष लामो लडाइमा भोट तर्फको ठूलो क्षतिको साथै हार भए पछि बि.सं. १९१२ को पुसमा सन्धिको प्रस्ताव लिएर भोटको प्रतिनिधीमण्डल काठमाडौ आइपुग्यो । एक वर्ष लामो नेपाल भोट युद्धमा नेपाली सेना तर्फ अफिसर र जवान गरि करिव ३५०० को मृत्यु भयो । भोटे तर्फ करिव ७ हजार सैनिकको मृत्यु भयो । भोट तर्फबाट सन्धिको प्रस्ताव आएको र नेपाल सरकारको ढुकुटी पनि युद्धका कारण रित्तिन थालेको हुँदा जङ्गबहादुर पनि उपयुक्त प्रस्तावमा सन्धि गर्न तैयार हुने मनसायमा बसेका थिए ।

अन्तत लामो छलफल पछि बि.सं. १९१२ चैत्र १३ गतेका दिन दुइ देश बिच सन्धि पछि अन्त्य भयो । सन्धि अनुसार भोटले सालाना दशहजार रुपैया उपलब्ध गराउने, भोटमा ब्यापार गरि बसेका कुनै पनि नेपाली ब्यापारीसंग कुनै पनि कर नलिने, एकअर्को देश बिच युद्ध नगर्ने तथा कुनै तेश्रो देशले कसैलाई पनि आक्रमण गर्न आएमा एकअर्कोलाई सहयोग गर्ने, भोटमा कैद रहेका सिख सिपाही, तथा नेपाली सिपाहीका साथै तिनका परिवार र भोटको अधिनमा रहेको नेपाली टोप तथा अन्य गोलीगट्ठाहरु पनि फिर्ता गर्ने । साथै नेपाली सेनाले पक्रि राखेका भोटका सैनिकहरुलाई पनि फिर्ता पठाउने । ल्हासामा नेपाल सरकारका तर्फबाट प्रतिनिधीका रुपमा भारदार राख्ने । ल्हासामा नेपालीहरुले खुशीले चाहेको ब्यापार गर्न छुट दिने । भोटमा रहेका नेपालीहरुमा लुटपाट भएमा भोटकाहरुबाट रकम भराउने । भोटे ब्यापारी माथि नेपालीले लुटपाट गरेमा नेपालीहरुबाट नै रकम भराइ लिने ।

यस सन्धिलाई थापाथली सन्धिका नामले चिनिन्छ । यस सन्धि पछि भोट सरकारले नेपाललाई क्षतिपूर्ति स्वरुप २ लाख ३३ हजार नेपाली रुपैया उपलब्ध गराएको थियो । साथै यो सन्धि अनुरुपको सालाना १० हजार रुपैया नेपाल सरकारले १०० वर्षसम्म बि.सं. २०१२ सम्म पनि पाइरहेकै थियो ।

यस सन्धिमा नेपालका तर्फबाट श्री ३ जङ्गबहादुरले हस्ताक्षर गरेका थिए भने भोटका तर्फबाट तत्कालिन पोटाला दरवारका ११औ दलाइ लामाको निधन भएको तर नयाँ दलाइ लामाको नियुक्ति नभइ सकेको हुँदा पोटाला दरवारको लामाको प्रतिनिधीका रुपमा छेन मेर डा वाङ ले हस्ताक्षर गरेका थिए ।

यसरी जङ्गबहादुरले भोटमा नेपाली माथि भएको अन्याय र अत्याचारको बदला लिएका थिए । पछि बि.सं. १९४० मा रणोद्वीपको समयमा पनि भोटको अन्याय बिरुद्ध लडाइको तैयारी भएको थियो ।

तस्विरमा देखाइएको तक्मा ५६ भोटमा रहेका डोगरा युद्धबन्दीमा बाँडिएको भए तापनि यसको २ वटा मात्र हाल भेटिएको छ । चाँदीको यो तक्मा ४२ मिमी गोलाइको तथा झण्डै २५ ग्राम तौलको रहेको छ । केही वर्ष अगाडी यस तक्मा ९००० पाउण्डमा बिक्रीमा राखिएको थियो ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८