
अनि, माघेसंक्रान्ति पर्वको दोस्रो दिन कालीगण्डकी भन्दै बडिगाढमा डुबुल्की मारेर फर्कियो….
नजिकैबाट ट्याक्टर देखेको खैरेनी सामान किन्न जाँदा हो। रिंडी- रुद्रवेनी- खैरेनी- वामिटक्सार सडक थियो त्यो। त्यतिबेला महिन्द्राका जीप र जर्मनमा बनेका रातो इन्जिनवाला `ओल्ड मेस्सी´ ब्राण्डका ट्याक्टर खुवै चल्थे उक्त बाटोमा।
गाऊँमा बिजुली थिएन। ट्याक्टर र जीपले घुम्ती पारेर हाम्रो गाऊँतिर पार्ने लाईट हेर्न राती १० बजेसम्म पनि खर्यान मैं बस्यौं। हुन पनि बढिगाढ पारी मोटबाटोको घुम्तीमा जीप र ट्याक्टरले बत्ती बालेर घुम्ती मोड्दा हामीलाई नै हेरेझैं हुन्थ्यो। ती साधन नेटो नकाट्दासम्म खर्यानबाटै हेरिरहन्थ्यौं।
स्कुल जाने बेलामा ट्याक्टर र जीप `दोहोरा´ परेको देख्यौं भने `दोहोरा´ नछुट्टिऊन्जेलसम्म हामी खुवै चाख मानेर हेर्दथ्यौं। त्यो पनि धेरै टाढाबाट। किनकि बढिगाढ खोला पारी मोटरबाटो थियो। वारि तर धेरै माथी हाम्रो गाऊँ र स्कुल थियो।
गुल्मीको मझुवामा काईंला काकाको दोकान थियो। कहिले कपाल काट्ने निहुँ ले त कहिले घ्यु लगिदिने निहुँले या कहिले त्यत्तिकै पनि हामी महिनाको १/२ शुक्रवार मझुवा जाने बाहाना बनाऊँदथ्यौँ। कारण ट्याक्टर र जीप देख्न पनि पाईने। चढ्न पनि पाईने रहरले।
जीपमा त झुण्डिन पाईएन। तर जहिले मझुवा ओहोरदोहोर गरियो तैले ट्याक्टरको ट्रलीमा झुण्डिएरै यात्रा गरियो। कच्ची बाटो कहिलेकाहिं त ट्याक्टरको ट्रली मुटु थर्किने गरि नै झ्याँक्ने। पछाडी केटाहरु झुण्डिएका छन भनेपछि ड्राईवरले ट्याक्टर झनै उपद्रो तरिकाले कुदाऊँने। हामी पनि के कम- सधै यात्रा गरियो, ट्याक्टरकै ट्रलीमा झुण्डिएरै यात्रा गरियो।
यसो त काईंला काकाले ट्र्याक्टरको ट्रलीमा झुण्डिएर जाने हैन नि, दुर्घटना हुन्छ भन्दै गाली गर्दै पैसा तिरेर जीपमा बसालिदिनुहुन्थ्यो। हामी मझुवाको हुंग्दी खोला नकट्दै जीपको ड्राईवरसंग पैसा वापस मागेर पछाडी आईरहेको ट्याक्टरको ट्रलीमा झुण्डिने योजना बनाईसकेका हुन्थ्यौं। कहिलेकाहिं त झगडा पनि पर्थ्यो।
- मेरो जागरण मेरो जीवन- (भाग १) बस्ती उठे, पानीका मुल सुके – अनिमात्र बिकाशको बाढी आयो
- मेरो जागरण मेरो जीवन (भाग-२) हजुरआमाको मधुस (सन्धुक) को कहानी
- मेरो जागरण मेरो जीवन – भाग ३ (कफी चोर्ने काईदा !)
त्योबेला जीपको ड्राईवरको भन्दा ट्याक्टरको ड्राईवरको इज्जत थियो सो बाटोमा। पछि बिस्तारै बस र ट्रक रिंडी, रुद्रवेनी, साहाघाट, खैरेनी, उल्लीखोला, चोरकाटे, सोता स्टेसन बनाऊन थाले त्यसपछि जीप र ट्याक्टरका ड्राईवरका इज्जत गए सो बाटोमा।
कुनैबेला बागलुङको बुर्तीबाङ्गबाट सोहि बाटो हुँदै बुटवलसम्म यात्रा गर्ने र ढुवानी गर्ने तिनै जीप र ट्याक्टरको साम्राज्य अब बस र ट्रकले लिएका थिए। आफ्नो साम्राज्य ढलेपछि ती जीप र ट्याक्टर बिस्तारै पहाडतिर चढ्न थाले। दुर्गम भेगतिर । तैपनि बस र ट्रक छुन पाईएको थिएन।
स्कुल जाने बेलामा अब जीप र ट्याक्टरको दोहोरो हैन। बस र ट्रकको दोहोरो हेर्न झनै मजा आऊन लाग्यो। अंघाढी ठोंडो नभएको जर्मन ट्रक भनिन्थ्यो हाम्ले। ठोंडो भएको र रातो रंग भएकोलाई टाटा ट्रक भनिन्थ्यो। तर नजिकैबाट देख्न भने पाईएको थिएन।
बस र ट्रकका विभिन्न थरिका हर्नले हामीलाई उद्देलित बनाऊँथ्यो। हुन पनि त्यतिखेर त्यो बाटोमा बस र ट्रकका ड्राईवर भगवानसरह लाग्थ्यो। अहिलेजस्तो मोवाईल र इन्टरनेटको सुविधा थिएन। जे उपलव्ध थियो- त्यसैमा आनन्द थियो जिन्दगी।
एकदिन बस चढ्ने रहर गरियो। स्कूल हाफेर खैरेनी पनि गईयो। उताबाट धुलो उडाऊँदै बस आयो पनि। हतार हतार चढ्न खोजियो। कन्डक्टरले सोधे- कहाँ जाने हो? मैले भनें- अल्ली परसम्म।
कन्डक्टर झोक्किंदै भन्यो- ह्या भाइ, झर। टाढै जाने भए हो। पैसा छ?
मैले भनें- छैन।
कन्डक्टरले भन्यो- जाऊ जाऊ। ह्याँ डिस्ट्रव नगर।
मैले भनें- काँ जाने हो र दाइ?
कन्डक्टरले भन्यो – बुटोल।
मैले ए ए भनेर घरको पेटिमा उंभिएर बसलाई खुव नियालें। ड्राईवरलाई भगवानसरह हेरिरहें। समग्रमा बस पहिलोपटक खुव मज्जाले हेरें।
यत्तिकै भयो । कमसेकम बस त छोईयो। साँझ पर्नै लागेको थियो। घर फर्कियो। स्वर्ग पुगेझैं भयो।
फेरि माघेसंक्रान्ति आयो। रुद्रवेणी नुहाऊन जाने भन्ने कुरो भयो। मसहित ३ जना साथीहरु रुद्रवेणी नुहाऊन जाने भन्ने सल्लाह भयो। तर साथमा पैसा थिएन। कसरी जाने? ट्रकको पछाडी बसेर जाने सल्लाह गरियो।
माघ २ गते आजैका दिन। विद्यालयले ३ दिनका लागि माघेसंक्रान्ति बिदा दिएको थियो। त्यसैले हामीले रुद्रवेणी नुहाऊन जाने सल्लाह गरियो। सो सल्लाहअनुरुप मसहित अन्य २ जना साथी खैरेनी झर्यौं। कसैका साथमा एक रुप्पे पैसा थिएन। बजारमा मगमगाऊँदो जेरी, छोले पुरीको बासना मनमनै थुक निलेर चित्त बुझाऊँदथ्यौं।
खैरेनीमा झरेको अन्दाजी ४ घण्टापछि उताबाट हर्न बजाऊँदै ट्रक आयो। हामीले रोक्न खोज्यौं, रोकेन। हामी बजारमा उसैको पछि पछि दौड्यौँ। बजार साँघुरो थियो। त्यसमाथी बजारमा यौटा घुम्ती थियो, जसमा बस ट्रकले बाटो काट्न लगभग ५/७ मिनेट त लाग्थ्यो नै। हामीले त्यसैको फाईदा उठायौं। ट्रकको ट्रलीमा लुकेर रुद्रवेनी जाने निर्णय भयो। तर रुद्रवेनी कहाँ पर्छ भन्ने थाहै थिएन।
ट्रक धुलो र हिलोमा झ्याँक्दै र पधार्दै कहाँ पुग्यो हामीलाई मेसै भएन। अबभने हामी आत्तिईसकेका थियौँ। ट्रकको भित्ता हान्न लाग्यौँ। कच्ची बाटोमा ट्रकको चालकले पनि मेसो पाएनन हामी चिच्याएको र ट्रकको भित्ता हानेको। अब भने हाम्रो माघेसंक्रान्ति स्नान गर्ने योजनामा बादल लागिसकेको थियो।
अन्तत: रुद्रवेनी र रिंडिको बिचमा साँघुरे भन्ने ठाऊँमा बससंग ट्रक दोहोरा पर्यो। छुट्टिन लगभग पौने घण्टा लाग्यो। हामी भने हतार हतार ट्रकबाट ओर्लियौं। देखे पैसा माग्छ भन्ने डरले अलिक परैबाट बस र ट्रक छुट्टिएको हेरेर फेरि डेढ घण्टा पैदल हिंडेर रुद्रवेनी फर्कियौं। जबकी त्यो स्थानबाट रिंडी आधा घण्टाको पैदल दूरीमा रहेछ। हामीलाई के थाहा? खासमा गुल्मी, पाल्पा, स्याङ्जा, अर्घाखाँची, रुपन्देहिलगायत आसपासका धेरै जिल्लादेखि मात्र नभई छिमेकी देश भारतबाटसमेत माघेसंक्रान्ति मेला भर्न आऊने रिडिमै हो। सो हामीलाई भने थाहा भएन। थाहा भएर पो के गर्नु? खल्तीमा कसैको एक रुप्पे थिएन।
रुद्रवेनी त आयौं। तर कता नुहाऊने भन्ने थाहा थिएन। उतातिर दूईवटा जति लास पोलेका थिए। त्यता जान डर लाग्यो। रुद्रवेनीको पुलमुनीबाट बगेको नदिमा गएर स्नान गरियो र माघेसंक्रान्ति पर्वलाई विधिवत रुपमा मनाईयो ! आखिरमा त्यो त हाम्रै बडिगाढ पो रहेछ। जतातिर लास पोलेका थिए- त्यो खासमा कालीगण्डकी रहेछ। हामीलाई के थाहा?
भोकभोकै लखतरान पर्दै हिंड्दै राती ८ बजेतिर घर आईपुगियो। घरमा हल्लाखोर कता गए यिनीहरु भनेर।
आखिर हामी माघेसंक्रान्ती नुहाऊन `गण्डकी´ हजुरआमाहरुको भाषामा `गन्नै´ गएको बडिगाढमा डुबुल्की मारेर फर्किएछौं😉
जीप, ट्याक्टर र रुद्रवेनीको पुलको सम्बन्धमा तीनवटा कुराहरु अहिले पनि अविष्मरणिय छन।
१) त्यतिखेर हाम्रो बा को पनि महिन्द्रा जीप थियो। जुन जीपको पछाडी लेखिएको थियो – राम युगमा दूध पियौं
कृष्ण युगमा घ्यू
कलियुगमा रक्सी पियौं
सोंची सम्झी पिऊँ
उक्त जीपको नम्बर चाहिँ मैले बिर्सिए।
२) बुटवलबाट सामान बोकेर आएको ट्याक्टर उल्लीखोलामा रोकेको थियो। त्योबेलाका ट्याक्टर। अंघाढी यत्रा यत्रा लाईट हुन्थे। हेर्दै हानौंला जस्तो गरेर हेरेझैं लाग्ने।
हाम्रा गाऊँका एकजना बा ले बिचरा बुटोलदेखी भारी बोकेर आएको। भोकाएको होला भनेर खेतमा गएर एक भारी बिँडुलोको डाला काटेर ल्याएर ट्याक्टरलाई फालिदिए। निर्जिव ट्याक्टरले घाँस के खाओस र बिचरा ! बुढा डाईवरको छेऊँमा गएर भने- यसलाई घँसाईसकेका हौ र? मतलव ख्वाईसकेक हौ र? डाईवरले हाँस्दै भन्यो – यसले घाँस हैन, डिजेल खान्छ बा।
३) रुद्रवेनीको पुलको उद्घाटन गर्न तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला आऊने भए। ट्याक्टरलाई घाँस काटेर हाल्ने बा खुंखार कांग्रेसी। ३ दिन पहिल्ल्यै रुद्रवेनी गएर बसे। हुन पनि गिरिजा चढेको हेलिकप्टर बढिगाढको माथी माथी हुँदै रुद्रबेनी पुग्यो। हाम्रो घर नजिकैबाट हेकिकप्टर देख्दा अहो ! स्वर्ग पुगेको अनुभूति भयो।
हाम्रा बा पनि कांग्रेसी। बा पनि रुद्रबेनी जानुभएको रहेछ।
भिडभाडमा ट्याक्टरलाई घाँस हाल्ने बा ले गिरिजालाई छुन पुगेछन।
गिरिजालाई के छोएका थिए ती बा ले हतारिंदै हाम्रो बासंग आएर भनेछन – `हेर त हेर चीना, आज मैले गिरिजालाई छोएँ।´
(हाम्रो बा को नाम चीनालाल ज्ञवाली हो।)