राष्ट्रिय जनगणना २०७८ – प्रारम्भिक तथ्यांक तयार, कहिले आऊला नतिजा?

Jagaran Post ११ माघ २०७८, मंगलवार १३:५०

बिबिसी – केन्द्रीय तथ्याङ्क विभागले बुधवार सार्वजनिक गर्न लागेको ‘नेपालको राष्ट्रिय जनगणना -२०७८’ को प्रारम्भिक नतिजामा अन्य लिङ्गीहरू नसमेटिने अधिकारीहरूले बताएका छन्।

विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार तत्काल लिङ्गको आधारमा महिला र पुरुषको मात्र सङ्ख्या सार्वजनिक गरिनेछ।

“गणकले भरेका मुख्य प्रश्नावली किताबको आवरणमा उल्लिखित विवरणका आधारमा प्रारम्भिक नतिजा प्रकाशन गर्न लागेका हौँ,” रेग्मीले बीबीसीसँग भने।

”मुख्य प्रश्नावलीको लैङ्गिक विवरणको खण्डमा अन्य लिङ्गी समावेश नगरिएकाले तत्काल उक्त समूहको सङ्ख्या सार्वजनिक गर्न सक्दैनौँ।”

यसै वर्षको भदौ ३० गतेदेखि असोज १८ सम्म भएको घर तथा घर-परिवार सूचीकरण र तथ्याङ्क सङ्कलनमा महिला र पुरुषबाहेक अन्य लैङ्गिक र यौनिक पहिचान भएकाहरूलाई समावेश गरिएको थियो।

तर कार्तिक २५ गतेदेखि मङ्सिर ९ सम्म मुख्य गणकहरूले घरघरमा गई हरेक परिवारको विस्तृत विवरण सङ्कलन गर्दा लैङ्गिक विवरणको खण्डमा उत्तरको दुईवटा विकल्प – महिला र पुरुष मात्र समावेश गरियो।

“पहिलो चरणमा सङ्कलित तथ्याङ्कका आधारमा छिट्टै अन्य लिङ्गीको विवरण सार्वजनिक गर्छौँ,” रेग्मीले भने।

फेरि तथ्याङ्क ‘सार्वजनिक नहुने जोखिम´

लैङ्गिक अल्पसङ्ख्यकहरूको मुद्दामा काम गर्ने संस्था नील हीरा समाजकी अध्यक्ष पिङ्की गुरुङका अनुसार प्रारम्भिक तथ्याङ्कमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको विवरण नराखिने र नौ महिनापछि मात्र उक्त विवरण सार्वजनिक गरिने जानकारी दिइएको छ।

“प्रारम्भिक तथ्याङ्कमै समेटिनुपर्ने विषय हो जस्तो लाग्छ। देशभरिको कुल जनसङ्ख्या, हिमाल, पहाड, तराई, प्रदेश, जिल्ला र वडा तहसम्मको जनसङ्ख्या सार्वजनिक हुँदा एउटा समूह छुट्नु उचित हो जस्तो लाग्दैन,” गुरुङले भनिन्।

लैङ्गिक अल्पसङ्ख्यकको क्षेत्रमा काम गर्ने तीनवटा संस्था नील हीरा समाज, मितिनी नेपाल र समावेशी मञ्चले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको सङ्ख्या थाहा पाउन सके आधारभूत अधिकार माग गर्ने आधार निर्माण हुने बताउँदै आएका छन्।

उपनिर्देशक रेग्मीले जनगणना सूचीकरणमा महिला र पुरुषसँगै अन्य लैङ्गिकता समावेश गरिएको यो पहिलो पटक नभएको बीबीसीसँग बताएका थिए।

उनका अनुसार यसअघि २०६८ सालमा गरिएको जनगणनादेखि नै अन्य लिङ्गीहरूको पनि विवरण सङ्कलन गरिएको थियो। कारणवश उनीहरूको सङ्ख्या प्रकाशन भएन।

यस पटक पनि प्रारम्भिक नतिजामा अन्य लिङ्गी नसमेटिँदा उनीहरूको सङ्ख्याबारे अन्योल कायम रहने जोखिम बढेको गुरुङ बताउँछिन्।

प्रारम्भिक तथ्याङ्कमा केके सार्वजनिक गरिन्छ?

जनगणना गर्दा हरेक गणकलाई ‘कन्ट्रोल बुक’ अर्थात् फारमहरू समेटिएको किताब उपलब्ध गराइएको थियो।

उक्त किताबको आवरणमा जम्मा कतिवटा घर गनियो, ती घरमा कति परिवार थिए, हरेक परिवारमा कति महिला र कति जना पुरुष थिए र ती घरका कति सदस्य विदेश गएका छन् भन्नेबारे विवरण उल्लेख गरिएको हुन्छ।

त्यसैले प्रारम्भिक नतिजामा नेपालमा जम्मा परिवार सङ्ख्या कति, महिला र पुरुषसहित जम्मा जनसङ्ख्या कति र अनुपस्थित अर्थात् विदेशमा रहेका जनसङ्ख्या कति भन्ने जानकारी प्रकाशन हुने उपनिर्देशक रेग्मीले बताए।

कहिले आउँछ अन्तिम नतिजा?

हाल केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना को लगत प्रशोधन गर्नका लागि जनशक्ति आह्वान गरेको छ। कुल ४०० कर्मचारी माग गरिएकोमा १,७०० जनाले आवेदन दिएको बताइएको छ।

“हामीले कोडर र सम्पादकमा १०० जना र तथ्याङ्क प्रवेश गराउन ३०० जना डेटा एन्ट्री अपरेटर भर्ना गर्दैछौँ। हाल अन्तर्वार्ता भइरहेको छ,” रेग्मीले भने।

अन्तर्वार्ताबाट छानिएकाहरूले फारम जाँच गर्नेदेखि विवरण प्रशोधन सम्मका काम गर्नेछन्।

छ महिनाभित्र जनगणनाको अन्तिम नतिजा प्रकाशन गर्ने योजना रहे पनि कोरोनाभाइरस महामारीका कारण केही प्रक्रिया ढिला हुने जानकारी रेग्मीले दिए।

“महामारी लम्बिएन भने करिब आठदेखि नौ महिनामा विस्तृत नतिजा सार्वजनिक हुन्छ होला र अन्तिम नतिजाको लागि अझै बढी समय लाग्छ,” उनले बताए।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८