प्रशान्त ज्ञवाली : प्रेम,निकै नै मीठो छ यो शव्द । भन्छन् यहि शव्दमा दुनिया चलेको छ । तर प्रेमको परिभाषा भने व्यक्तिअनुसार फरक फरक नै देख्ने गरेको छु । तर,मेरो विचारमा प्रेमलाई परिभाषित गर्न खोज्नु केवल मुर्खता मात्रै हो । प्रेम भावना हो, र भावनालाई शब्दमा वयान गर्न कहाँ सकिन्छ र । प्रेम त महसुस गर्ने कुरा हो, यसलाई दुई चार ओटा शब्दमा कसरी बयान गर्नु ।
प्रेमका विषयमा धेरै लेखकहरुले लेख लेखे, साहित्यकारहरुले साहित्य बनाए, कविहरुले कविता रचे, सायद धेरै नै विशेष भएर होला यो शब्द । कोई भन्छन् प्रेम साथ निभाउनु हो, कोई भन्छन् कुरा बुझ्नु प्रेम हो, कोई भन्छन् ख्याल गर्नु प्रेम हो, कोई भन्छन् जितेर चाहेको पाउनु प्रेम हो त कसैले लेख्छन् खुसीको लागि केही कुरा गुमाउनु प्रेम हो । अब एउटै शब्दका यति धेरै परिभाषाहरु छन्, खै कसरी बुझ्नु आखिर के हो त प्रेम ।
मैले अघि पनि लेखिसके, प्रेम भावना हो र यसलाई शब्दमा वयान गर्न सकिदैन, महसुस गर्ने हो । जुन कुराको पनि परिभाषा खोज्ने यो युगले प्रेमलाई केवल दुई शव्दमा मात्रै सिमित बनायो, त्यसैले त प्रेम प्रेम जस्तो रहेन । स्वार्थि युगमा प्रेमको पछाडी पनि स्वार्थै लुकेको छ, यसैले त प्रेम प्रेम जस्तो रहेन ।
हामी धेरैले नै राधा र कृष्णको प्रेम कहानी त सुनेकै हौला । हो प्रेम त्यस्तो पो हुनुपर्छ, निस्वार्थ भावनाले भरिएको । दुईदिने स्वार्थले भरिएको प्रेम भन्दा युगौयुग चल्ने प्रेमको चर्चा नै राम्रो नि । अब महादेव र पार्वतीकै प्रेमलाई हेरौ न, चोखो प्रेमको यो भन्दा उत्तम उदाहरण के नै होला र । जसरी महादेवको साथ पार्वतीले निभाउछिन् र पार्वतिको साथ महादेवले निभाउछन्, हो प्रेम त्यस्तो पो हुनुपर्छ । कालकुट विष पिउदा पार्वतीको एउटा स्पर्षले जसरी विष महादेवको घाटीमै रोकिई निलकन्ठ बन्दछन् हो साथी त्यस्तो पो हुनुपर्छ जसले तपाईलाई एउटा नयाँ पहिचान दियोस् । तर आजकाल त्यस्तो साथी पाउनु मरुभूमिमा हराएको सियो खोज्नु जस्तै गाह्रो छ त्यसैले त प्रेम प्रेम जस्तो रहेन ।
प्रेम महशुस गर्ने कुरा हो, बुझ्ने कुरा हो । तर इन्टरनेटको यो द्रुत दुनियाले प्रेमलाई केवल आइ लभ यु र आइ लभ यु टु मा मात्रै सिमित गरायो, त्यसैले त प्रेम प्रेम जस्तो रहेन । आफ्ना सिमित आवश्यकता पुर्ती र यौवनको प्यासले गरिएका प्रेमहरुले प्रेम शब्दलाई नै दुर्गन्धित बनाइरहेका छन् । त्यस्ता जोडिहरुले प्रेमलाई केवल युज एन्ड थ्रो मा मात्रै सिमित बनाए । स्वार्थ प्राप्तिका लागि गरिएको प्रेम प्रेम हैन, त्यो केवल सौदाबाजी मात्रै हो । तर आजकाल निस्वार्थ भावनाले गरिएको प्रेम खोज्न उहीँ अध्यारोमा हराएको सियोलाई लालटिन बालेर खोज्नु जस्तै हो । त्यसैले त प्रेम प्रेम जस्तो रहेन ।