जागरण न्यूज नेटवर्क – लियो रोज क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेमा राजनीतिशास्त्रका प्राध्यापक हुन् । उनी पहिलो पटक १९५७ मा नेपाल आएका थिए र नेपालकै विषयमा उनले क्यालिफोर्निया वि.वि.बाट विद्यावारिधि गरे । उनको चर्चित पुस्तक ‘नेपाल : स्ट्रटेजी फर सर्भाइभल’ सन् १९६६ मा प्रकाशित हुँदा तत्कालीन पञ्चायती शासनले प्रतिबन्ध लगाएको थियो । ४ खण्ड १२ अध्याय र अन्य धेरै उपशीर्षकमा लेखिएको यस पुस्तकमा पृथ्वीनारायण शाहको कार्यकालदेखि नै नेपालले आफ्नो स्वाधीन अस्तित्व कायम राख्न चलाएका उपायहरूको बारेमा खोजपूर्ण तथा विश्लेषणात्मक विवरण छ । ऐतिहासिक तथ्यका आधारमा नेपालले आफ्ना दुई विशाल छिमेकीसँग राखेको सम्बन्धको बारेमा यथेष्ट प्रकाश पारिएको छ ।
क्यालिफोर्निया वि.वि.को बर्कले क्याम्पसमा लियो रोज का ६० वर्ष बिते । त्यही क्रममा उनी १९८४–८५ मा १ वर्षजति अमेरिकी सरकारको दक्षिण एशिया स्रोतव्यक्तिका रुपमा पनि कार्यरत रहे । उनैको सक्रियतामा क्यालिफोर्निया विश्वविद्यालयमा दक्षिण एशिया केन्द्र स्थापना भएको हो । नेपालबारे करिब ६ हजार पुस्तक तथा अन्य प्रकाशनहरू छन् । यो लियो रोजकै योगदान हो ।
यसो पनि सुनिन्छ, २०४७ को नेपालको संविधानबारे आफूलाई यहाँको निकै मैहूँ भन्ठान्नेहरूलाई अत्तोपत्तो नहुँदा पनि उनीसँग त्यो संविधानको पहिलो मस्यौदा थियो (अँग्रेजी साप्ताहिक नेपाली टाइम्स, १३ अक्टोबर २००५) । २०१७ सालको परिवर्तनपछि राजा महेन्द्रसँगको उनको सम्बन्ध चिसिएर गयो । अल्जाईमर्स् समस्याले गर्दा सन् २००५ उनको निधन भयो ।
उनको माथिको भनाई सोही पुस्तकबाट झिकिएको हो, जसको अझ स्पष्ट रुप यस्तो छ, “२००७ सालको क्रान्तिको निर्णायक लडाईँ नेपालका पहाडमा होइन, नयाँ दिल्लीका हलमा लडिँदै थियो, जुन प्रक्रियामा मध्यमार्गी समाधानका उपाय वार्तामा हावी भएको थियो। क्रान्तिका सामाजिक आर्थिक उद्देश्य त्यागिएको थियो वा दिल्ली सम्झौता अन्तर्गत पन्छाइएको थियो,
(The decisive battles in this struggle, however have not been fought in the hill of Nepal but in the halls of New Delhi where the insistence upon a “middle way” solution had dominated the proceedings. The social and economic objectives of the revolution had been abandoned, or postponed under the Delhi compromise. ‘The Politics of Revolution’ (pp. 194, 1966 edtition)
२००७ सालको जनक्रान्तिको अन्त्य गरेरर राजा, राणा र काँग्रेसबीचको मिलिजुली सरकार दिएको दिल्ली सम्झौताबारे वीपी कोइलाले आत्मबृत्तान्तमा भन्नुभएको छ, “….हामीहरूको मोहन शम्शेरसँग कुनै कुरा भएन सम्झौता गर्ने प्रक्रियामा । कुराहरू जवाहरलालजी मार्फत भए । जवाहरलालले पनि कुनै कुरा गरेका होइनन् । राजाले त्यसमा कुनै भाग लिएका होइनन् ।अरूहरूसँग कुरा गरेको भए मलाई थाहा छैन । एउटा काल्पनिक कुरा हो दिल्ली सम्झौता भनेको (पृ. १४६)।”
– चन्द्रमणी गौतम।