न्युयोर्क टाइम्सले सेप्टेम्बर ८,२०१८ मा एउटा समाचार छापेको थियो ट्रम्प प्रशासनले भेनेजुएलाको विद्रोही समुहसँग गोप्य बैठक गरी मदुरोको सरकार फाल्ने निर्णय । यो खबरको अमेरिकी सरकारले खण्डन गर्न सकेन । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन खुलेआम भेनेजुएलामा कु गर्ने उद्देश्य त्यहाँको तेल र प्राकृतिक सम्पदा कब्जा गर्ने हो भन्छन् । विदेशमन्त्री माइक पोम्पिओ, सिनेटर म्याक्रो रुबिओ र हालै भेनेजुएलाका लागि नवनियुक्त विशेष दूत इलिएट अब्राम्स जो १९९१ को इरान–कोन्ट्रा काण्डमा अमेरिकी कांग्रेससामु झूठो बोल्ने अभियुक्त हुन तिनीहरू नै अहिले भेनेजुएला विरुद्ध आक्रमक देखिएका छन् । भेनेजुएलामा विरोधीहरूलाई राहतका लागि भनेर अमेरिकाले २० मिलियन अमेरिकी डलर सहयोग गरेको छ । रुजवेल्टले एकपल्ट अमेरिका अन्तर्राष्ट्रिय पुलिस शक्ति हो भनेका थिए त्यही मानसिकता अमेरिकी सरकारहरूको अहिलेसम्म रहेको देखिन्छ । भेनेजुएलाको मामिलामा तीन विकल्पहरू आइरहेका छन् पहिलो मदुरोको समर्थनमा, दोस्रो अमेरिकी पक्षमा र तेस्रो युरोपेली धार नयाँ निर्वाचनमा ।

हरेक दिन अन्तर्राष्ट्रिय परिस्थितिमा द्रुत परिवर्तन भइरहेको छ । गएको शुक्रवार फेब्रुअरी १ मा भेनेजुएलाका विदेशमन्त्री जर्ज आरेजाको प्रतिनिधि मण्डललाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले जनवरी २३ मा आफूलाई स्वयं घोषित राष्ट्रपति घोषणा गरेका भेनेजुएला राष्ट्रसभाका सभापति जुआन गुआइदोको राष्ट्रपति मानिदिने निवेदन अस्विकार गरी मदुरोलाई समर्थन गरेको बताए । जनवरी ३१ बिहीवार इटली सरकारले गुआइदोलाई दिएको समर्थन फिर्ता लिएको विदेश सहसचिव म्यानलिओ डी स्टेफानोले घोषणा गरे । क्यानाडामा लिमा ग्रुपका १४ सदस्य राष्ट्रहरूको बैठकमा क्यानाडाली जनताले बैठकमै अबरोध गरेपछि गुआइदोलाई समर्थन गर्ने लिमा ग्रुपका ११ प्रतिनिधिहरूको भागाभाग भएको थियो । नोम चोमस्की सहित ७१ अमेरिकी बुद्धिजीबीहरू र ओवेन जोन्स लगायत १६ जना प्रतिष्ठित वेलायती बुद्धिजीबी कलाकारहरूले मदुरोको समर्थनमा वक्तव्य निकाले । अमेरिकी आगामी राष्ट्रपतिको प्रतिस्पर्धामा रहेकी तुलसी गाबार्ड लगायत रो खन्ना, बारबरा ली र बर्नी स्यानडर्सले भेनेजुएलामा हस्तक्षेपको विरोध गरे । जापानले अमेरिकालाई साथ नदिएर तटस्थ बस्ने फेब्रुअरी ५ मंगलवार क्याबिनेटका मुख्य सचिव योसीहिदा सुगाले जानकारी दिए । भेनेजुएलामा गुआइदोको प्रदर्शन सडकबाट खुम्चिएर भेनेजुएला काराकसको केन्द्रीय विश्वविद्यालयमा सीमित भएको छ भने मदुरोको समर्थनमा भीड बढिरहेको छ । भर्खरै गरिएको एउटा सर्वेक्षणले ८६ प्रतिशत भेनेजुएलाका जनता युद्ध विरोधी र ८१ प्रतिशत जनता अमेरिकी आर्थिक नाकावन्दीको विरोधमा देखिएका छन् ।
भेनेजुएला अहिले आर्थिक संकटबाट गुज्रीरहेको छ । सन १९९६–२०१० मा गरिबी ४० बाट ७ प्रतिशतमा, कुपोषण २१ बाट ५ प्रतिशतमा झरेको थियो र भेनेजुएला यो क्षेत्रकै आय असमानता (गिनी कफिसियन्ट) सबैभन्दा कम भएको देश थियो । निर्यातको ९५ प्रतिशत तेल उद्योगले ओगटेको छ तर तेलको मूल्यमा लगातार आएको गिराबटले अर्थव्यवस्था अस्तव्यस्त छ । केही वर्षदेखि औसत ५० देखि ६० अमेरिकी डलर प्रति ब्यारेल तेलको मूल्य २०१६ जनबरीमा त ३५ अमेरिकी डलर प्रति ब्यारेल सम्म झरेको थियो जसले गर्दा ५ वर्षमा भेनेजुएलाको अर्थतन्त्र ४४.३ प्रतिशतले खुम्चियो । अमेरिकी आर्थिक नाकाबन्दीले ३७ प्रतिशत तेल उत्पादनमा कमि आयो । क्यानाडाका अर्थशास्त्री जोय इमर्सबर्गरले २०१७ को हिसाब निकाल्दा भेनेजुएला ६ बिलियन अमेरिकी डलर नोक्सानमा परेको देखियो । भेनेजुएला संसारको सबैभन्दा ठूलो तेल भण्डार भए पनि अमेरिका यसलाई आफ्नो ग्यास स्टेशन बनाउन चाहन्छ । मुद्रास्फिति २००८ मा ३१ प्रतिशत जति थियो भने २०१८ मा २५ लाख (हाइपर इनफ्ल्यासन) प्रतिशत पुगेर भयावह स्थितिमा छ । भेनेजुएलाले तेल र सुन बेचेर जम्मा गरेको १.२ बिलियन अमेरिकी डलर अमेरिकाको निर्देशनमा बैंक अफ इंल्याण्ड पचाउन खोजिरहेको छ ।
निकोलस मदुरोको पार्टी युनाइटेड सोसलिस्ट पार्टी अफ भेनेजुएला समाजवादी पार्टी हो कि होइन भन्ने बहस छ यद्यपि जनताहरू कास्ट्रो, चे र चाभेजलाई आदर्श मान्दछन् । देशको अर्थतन्त्र ७० प्रतिशत निजी व्यक्तिहरूको अधिनमा छ । पुँजीवादी बजारमा जस्तै मूल्य अस्थिर रहन्छ । नेपालबाट १५ हजार किलोमिटर टाढा रहोको बेला न कुबेला भेनेजुएला भन्नेहरूलाई एउटै दृष्टान्त प्रर्याप्त हुनेछ । भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोधमा प्यालेस्टाइनको गाजा क्षेत्रमा विशाल प्रदर्शन भयो । प्यालेस्टाइनीहरूभन्दा स्वतन्त्र देशको पीडा कस्तो हुन्छ कसले अनुभूति गरेको छ र ? आज फेब्रुअरी ७ उरुग्वेको मोण्टेभिडिओमा उरुग्वे र मेक्सिकोको पहलमा वार्ता बोलाइने कार्यक्रम थियो तर अमेरिकाले यो अस्वीकार गर्दै ५००० सैनिक कोलम्बिया पठाएको छ । यदि भेनेजुएलाको वहानामा युद्ध थोपरियो भने अमेरिकाद्वारा विश्वको स्वतन्त्र देशहरूमा ६८ औं आक्रमण हुनेछ र त्यो विश्वका लागि सबैभन्दा बदनाम विकल्प मानिने छ ।