आमा को फरियामा लुटपुटिँदै ताते-ताते गर्ने र लोरी सुन्ने लेखान्त कमैको भाग्यमा हुन्छ। म तिनै कम मध्येकी एक भाग्यमानी नातिनी हुँ जसको जीवनकथा तिनै बज्यैको काखबाट सुरु भयो, अझ दुई हजुर आमा हरूसँगै।
बुबाममी दुवै शिक्षण पेसामा हुनाले उहाँहरूले दिन नसक्नु भएको समय हजुरआमाहरूले दिनुभयो। त्यसैले पनि मेरो जीवनमा हजुरआमाको स्थान विशेष छ।
आज यो लेख लेख्दै गर्दा मेरी बालसखा, मेरी प्राणप्रीय स्वर्गीय हजुरआमाहरूको याद दिलाइरहेको छ। उहाँहरूलाई गुमाउनुको पीडाले मलाई अझ पनि पीडा दिन्छ।
२०७१ सालमा मेरो विवाह भयो। त्यही वर्ष मैले आफ्नो पहिलो हजुरआमालाई गुमाएको थिएँ। विवाहको समयमा मैले उहाँलाई धेरै सम्झेको थिएँ। आमाको याद आएरै होला जसलाई देख्दा पनि आमाजस्तै लाग्थ्यो।
विवाहको दिन गृह प्रवेश गर्दैगर्दा एकजना बुढीआमालाई देखेँ। उहाँ मेरो श्रीमानको हजुरआमा हुनुहुँदो रहेछ। मेरा आँखा एकछिन एकटक भएर उहाँलाई नै हेरिरहे। उहाँ त्यो बेला उमेरले ८४ पूजा गर्ने संघारमा हुनुहुँदो रहेछ।
उहाँको मुहारमा मन्द मुस्कान, शान्त स्वभाव प्रष्टै देखिन्थ्यो। मैले देखेजस्तै वास्तवमै उहाँ शान्त स्वभावकी मायालु हुनुहुँदो रहेछ। केही दिनपछि उहाँको चौरासी पूजा भयो। पूजा सकेको केही दिनपछि मेरो श्रीमानले हजुरआमाको पालनपोषणको सम्पूर्ण जिम्मेवार मलाई सुम्पिनु भयो।
त्यो बेला म झसंग भएँ। बिहे नहुँदासम्म उल्टै हजुरआमाहरूको स्याहारसुसारमा हुर्किएकी म अब एक्लैले वृद्ध आमाको स्याहार गर्न सकूँला र? तैपनि श्रीमानले सुम्पिनु भएको जिम्मेवारीलाई स्वीकार्दै पूजा लगत्तै काठमाडौंमा आएँ, पर्सिबाट मेरो फाइनल परीक्षा सुरु हुँदै थियो।
झलझली आँखीझ्यालमा पर्दा बनेर सम्झना आयो माइतीमा खेल्दै, रमाउँदै बुबाममीको डरले पढेको र यहाँ जिम्मेवारीसँगै आफ्नै कहरमा पढ्दै गरेका संघर्षका दिनहरू। फुपूलाई पछि हजुर काठमाडौँ आउँदा हजुरआमालाई लिएर आउनु भन्ने वचन दिएँ। मलाई वचन दिन जति सजिलो थियो उत्तिकै गाह्रो त्यो दायित्व पूरा गर्नु थियो।
अन्ततः हजुर आमा काठमाडौं आउनुभयो।
सम्झेँ, माइतीमा छँदा ममीले दुई हजुरआमा र एक चौरासी पूजा गरेका हजुरबुबाको सेवा गर्दै भन्नुहुन्थ्यो- ‘हजार चन्द्रमा पार गरेर चौरासी पूजा गरेका बुबाआमा भगवान सरह हुनुहुन्छ, उहाँहरूको दर्शन गर्नु, स्यारसुसार गर्न पाउनु त सौभाग्य हो।’ म त्यहीँ कुरा सम्झँदै अहो! कति भाग्मानी रहेछु, मैले पनि अब ममीले जस्तै पुन्य कमाउने भएँ भनेर खुसी लाग्यो।
उहाँको केयर गर्ने काम साथै एउटा स्कुल पढाउन सुरु गरेकी थिएँ। बिहानै उठेर पूजापाठ सकेर हजुरआमाको बेडरुममा चिया पुर्याउँथेँ। चिया खाएपछि उहाँलाई दिनदिनै सारी र पेटिकोट फेरिदिन्थेँ। त्यो सरसफाइपछि बेडरुममा खाना पुर्याएर दिउँसोको लागि थर्मसमा तातो चियासँगै केही खानेकुरा छोडेर खानु भन्दै स्कुल जान्थेँ।
स्कुलबाट फर्केर उहाँलाई तातो केही खाजा बनाएर दिन्थेँ। स्नातकसम्मको पढाइ पनि सकियो। त्यसपछि स्नातकोत्तर अध्ययनको लागि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा जान थालेँ। त्यतिबेला पनि मेरो कामको सेड्युल उस्तै थियो जस्तो पहिला गर्थें।
जागिर, पढाइ, घरधन्दा सबथोक भ्याइनभ्याई थियो। त्यसको बाबजुद पनि हजुरआमाको लागि मेरो हृदयको कुनामा माया र सेवाको एउटा छुट्टै स्नेहपूर्ण मझेरी थियो। घरमा हजुरआमा भएपछि उहाँलाई भेट्न आउने जाने पाउनाको चहलपहल निकै हुन्थ्यो।
हजुरआमा पनि मसँग बस्न थालेपछि झन् राम्री, हृस्टपुष्ट देखिन थाल्नु भयो जसले गर्दा भेट्न आउने मान्छेहरूको गाइगुइँ कुरा चल्न थाल्यो। कोही भन्ने गर्थे- ‘यति धेरै छोराछोरी पाएर आखिर यस्तो भर्खर कि केटी नातिनी बुहारीले स्याहार गरेकी, छोराछोरी पाएर के काम?’
‘न कुनै तलबभत्ता न कुनै पेन्सन, न कुनै सम्पत्ति। यो नानीलाई आखिर कत्ति माया यो बुढीको!’ भन्दै कोही मलाई सुनाउँथे।
त्यो सुन्दा म अचम्म मान्दै आफैले आफैलाई प्रश्न गर्थें- के हामी आजका युवाको भोलि त्यो अवस्था आउँदैन? के आमाबाबाले शरीरमा बल रहुनजेल सन्तान र परिवारका लागि बगाएका प्रत्येक पसिनाको मूल्य, सन्तानले वृद्धाआश्रममा लगेर चुकाउने हो? के आफ्नै जन्मदाता कर्मदाताको सेवाको खातिर तलबभत्ता र टनाटन बसकपत्र चाहिने हो? प्रश्नहरूले मेरो माथिंगल हल्लाउँथ्यो जब समाजमा यस्तै अनेकौं तरहरका वृद्धाहरूप्रति गरिने व्यवहार देख्दा।
एक साँझ भान्सामा खाना तयार गर्दै थिएँ, एउटा सेमेस्टर सकिएको सफल रिजल्ट आयो। हाम्रो सेक्सनमा ५० विद्यार्थी मध्य ८ जना पास भएछन्, त्यो ८ मध्येमा म एक परेछु! अचम्ममा परेँ। खुसी हुँदै हजुरआमाको पाउँ परेँ र सम्झेँ, साँच्चीकै वृद्धा आमाबुबाको सेवा त संसारकै सबैभन्दा श्रद्धा र सहजको काम रहेछ।
त्यसपछि झनै उहाँको सेवाप्रति मोह जाग्यो। उहाँसँग बस्दा, खाँदा, स्याहार गर्दा मलाई छुट्टै खुसी मिल्यो। साथै उहाँको माया पनि पाएँ। त्योभन्दा नि ठूलो कुरा उहाँको आशीर्वाद पाएँ।
यसरी नै दिनहरू बित्दै थिए। एकदिन फुपूले हजुरआमालाई आफ्नो घर लगेर जानु भयो। केही दिनपछि हजुरआमा पलङबाट लडेर गम्भीर स्थितिमा पुगेको खबर आयो। उहाँको मस्तिष्कमा असर पुगेछ। उहाँले विगत सम्झन छाड्नु भएछ। कम्मरदेखि तलको भाग चल्न छोडेछ। डक्टरलाई सोध्दा अब उहाँलाई निको नहुने, यत्तिकै रहने थाहा भयो।
केही दिन हस्पिटल राख्दा पनि हजुरआमाको स्वास्थ्य सुधार भएन। अन्ततः घरमा लग्यौँ। फुपूको घर जाँदा ‘म छिट्टै आउँछु है’ भन्दै आफै हिँडेर जानु भएकी आमा घर आउँदा कसैको सहारामा आउनुभयो, त्यो पनि एकदम अचेतजस्तै अवस्थामा।
उहाँ पूर्ण रुपमा बिस्तरामै पर्नु भयो। मानौँ एउटा छ महिना नपुगेको बच्चाजस्तै खुवाइदिनु पर्ने, सुताइदिनु पर्ने, डाइपर लगाइदिनु पर्ने भोक लाग्दा आफै खाना खान नसक्ने, प्यास लाग्दा पानी पिउन नसक्ने। मलाईसम्म चिन्न नसक्ने, सम्पुर्ण कुरा अरुकै सहारा लिनुपर्ने अवस्थामा पुग्नु भो।
एउटा आमाले आफ्नो बच्चालाई जसरी स्याहार सुसार गर्दछ त्यसैगरी मैले नजन्माएको मेरो बच्चाजस्तै बन्नु भो उहाँ। म उहाँलाई नजन्माएकी एक आमाजस्तै बनेर उहाँको हेरविचार गरेँ। यस्तै गर्दै हजुरआमा बेडमा परेको पनि ६ महिना बितिसकेछ।
घरमा जति पनि मान्छे हजुरआमा भेट्न आउनुहुन्थ्यो उहाँको अवस्था देखेर दुखी हुँदै भन्नुहुन्थ्यो, ‘यस्तो अवस्थामा बाच्नुभन्दा त अब भगवानको प्यारो हुनु आफ्नै दुःख लुकिन्थ्यो। यहाँ बिरामीलाई पनि गाह्रो, बिरामी स्याहार गर्ने यी नातिनी बुहारीलाई पनि गाह्रो।’
तर म उहाँले भनेको विरुद्ध थिएँ। हजुरआमा बिरामी भएर बिस्तरा परेदेखि उहाँको सुस्वाथ्य र दीर्घायुको कामना गर्दै अझै धेरै वर्ष हजुरआमाको सेवा गर्न पाउँ भनेर दिनदिनै बिहान-साँझ पूजाकोठामा दियो बाल्दा भगवानसामु बिन्ती बिसाउँथेँ।
तर त्यो बिन्ती एकदिन अनर्थ हुन आयो। एकाबिहानै हतारमा सब काम सकेर हजुरआमालाई ओट्स खुवाएर कीर्तिपुर क्याम्पस गएँ। क्लास सकिनासाथ धेरै साथीहरू मलाई पनि खाजा खान अनुरोध गर्दै क्यानटिन तिर लागे। तर मैले साथीहरूसँग माफी माग्दै घरतिर हिँडेँ। घरमा ती ८४ वर्षीय हजुरआमाको भोको रित्तो पेटले मेरै बाटो कुरेर बसिरहेको हुन्थ्यो।
बाटोमा ठूलो पानि पर्यो। म एउटा होटलको ओत लागेर बसेँ। त्यही खाजा खाएँ अनि हजुरआमालाई एक प्लेट मम लिएर घर आएँ। आउँदा सुतेर ढोकातिरै बाटो हेरी टोलाइरहनु भएको थियो। मैले मम खान आग्रह गरेँ। सबै खानुभयो। एकछिनपछि अनुहार रातो भयो, पसिना आयो।
उहाँको पसिना पुछ्दै पानी पिलाइदिएँ, अलिकति फ्रुटी चुसाइदिएँ। एकछिन उहाँको मुहारमा शीतलता छायो। दुई दिन जति भएको थियो अनुहार मलिन थियो। त्यसैले मैले सोधेँ, ‘हजुरआमा, हजुर हिजोदेखि किन चुपचाप हुनुहुन्छ?’
‘बोल्नुहोस् न केही त। एकछिन हाँस्नुस् न। मलाई आशीर्वाद दिनुहोस् हजुरआमा’ भनेँ। उहाँ मुसुक्क मुस्कुराउनु भयो। मैले किन हाँसेको भन्दै उहाँको गालामा मेरो हात लगेर सुमसुमाएँ। उहाँको घाँटी लल्याकलुलुक भएर मेरो हातमा अडियो, आँखा फनन्न घुम्यो र आफ्नो अन्तिम प्राण त्यही त्याग्नु भो। मलाई सपनाजस्तो लाग्यो, विश्वास नै गर्न सकिनँ।
मेरा आँखाअगाडि मेरै हातमा उहाँले अन्तिम श्वास छोड्दा छाँगाबाट खसेको महसुस गरेँ। बेस्सरी चिच्चाएर रुन थालेँ। त्यो समय घरमा नितान्त एक्लै थिएँ।
यसरी हजुरआमा ले छोडेर गएपछि घर घरजस्तो रहेन, फुङ्ग उडेको छानो बिनाको घरजस्तो भयो। घर आउँदा मन झसंग हुन्थ्यो। मेरा आँखाहरू खालि हजुरआमा सुतेको रित्तो बेडमा गएर अडिन्थे र आँखाबाट बेप्रवाह अश्रुधारा बग्थे। म सन्तानसँग बिछोडिएको सन्तान विहीन एक आमाजस्तै एक्ली भएकी थिएँ।
यसैगरी समय बित्दै जाँदा हजुरआमा बितेको एक वर्ष नहुँदै मेरो गर्भमा बच्चा बस्यो। कस्तो संजोग भनौँ या पुनर्जन्म, त्यसको एक वर्षपछि मेरो छोरीको जन्म भयो। तर भ्रम या यथार्थ जे भएता पनि आज म मेरो छोरीभित्र हजुरआमाको प्राण पुर्नजाग्रित भएको देख्छु, यसैमा चित्त बुझाउँछु।
आमा को वार्षिक तिथिमा मिलेसम्म मृत आत्माको शान्तिको कामना गर्दै पशुपतिको माथि डाँडामा गएर योगीहरूकाई दान दक्षिणा गरेर फर्कन्छु। थाहा छैन यो सब गर्दा स्वर्गीय हजुरआमालाई शान्ति मिल्छ या मिल्दैन, तर मेरो मनमा एकदमै सकूनको दीप बल्छ।
तर जति यी सब गर्दा पनि हरेक पल पछुतोपनले मलाई पछ्याइरहेको हुन्छ। जिउँदै छँदा पूरा गर्न नसकेका हर कुराले प्रत्येक पल पिरल्दो रहेछ। जुन कुरा आज सम्झनु सिवाय अरु केही गर्न नसकिँदो रहेछ। हिजो मसँग हजुरआमा हुनुहुन्थ्यो उहाँसँग बस्ने, कुरा गर्ने, घुम्ने समय थिएन। तर आज सबथोक छ, हजुरआमा हुनुहुन्न।
हजुर आमा, हजुरबुबा गुमाएपछि आजकल यो मन वृद्धावस्थाका उही आमा बुबा खोजिरहेको छ जोसँग यो मुटु जोडिएको थियो। त्यो सब टुट्दा आज मनमा अनेक तरहका भविष्यमा गर्ने सपनाहरू आउन थालेका छन्। भविष्यमा दुःख र मेहनत गरेर सहरमा होस् या गाउँका एउटा घर बनोस् जहाँ त्यस्तो वृद्धामैत्री वातावरण बनोस्, त्यो ठाउँमा वृद्धा बा-आमाको उपस्थितिले कोठाको शोभा बढोस्।
घर उज्यालो बनाउन झुम्मरको प्रयोग हैन, वृद्ध बा-आमा को मुहारमा देखिएको उज्यालो मुहार होस्। जहाँ भगवानको आशीर्वाद लिन बिहान-बिहान मन्दिरको ढोका ढकढकाउन हैन, एक मिठो मुस्कानसागै वृद्ध बा-आमाको ढोकामा एक कप मिठो चिया प्रसाद सरि लगी उहाँहरूको दर्शनसहित आशीर्वाद ग्रहण गर्न पाइयोस्।