३२ योजनाको फाइल गायब मुख्यमन्त्री कार्यालयबाट

Jagaran Post १३ चैत्र २०७८, आईतवार १६:१८

जनकपुरधाम: मधेस प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तीन दर्जन बढी योजनाको फाइल गायब भएको छ। ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ र ‘मुख्यमन्त्री स्वच्छता अभियान’अन्तर्गत सम्झौता भएर कार्य सम्पन्न भइसकेका योजनाको फाइल गायब भएको हो।

मुख्यमन्त्री कार्यालयका पूर्व सचिव यमप्रसाद भुसाललाई निर्माण व्यवसायीहरुले मधेस भवनभित्रै घेराबन्दी गरेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट फाइल गायब भएको बाहिरएको छ। दुई महिनाअघि मुख्यमन्त्री कार्यालयबाट सरुवा हुँदै जाँदा सचिव भुसाल रावाना कमिशन नपाएका तीन दर्जन योजनाको फाइल लिएर गएका थिए। तर, काम विशेषले दुई महिनापछि मधेस भवनमा आएको थाहा पाएपछि व्यवसायीहरुले गत बिहीबार ८ घण्टा घेराबन्दी गरेपछि घटनाको रहस्य बाहिर आएको हो।

तत्कालीन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिव भुसाल मुख्यमन्त्री कार्यालयको ‘बेटी पढाउ बेटी बचाउ र स्वच्छता अभियान’ का मुख्य हर्ताकर्ता थिए। सचिव भुसालले २० प्रतिशत मागेको र पहिले नै कमिसन नदिएपछि भुक्तानीको फाइल सरुवासँगै लिएर गएको एसके मल्टी सप्लायर्सका सञ्चालक दशरथ साहले सुनाए।

‘सचिव भुसाल सरुवा भएर जाँदा कार्यालयमा हामीले भुक्तानीको लगि बुझाएको फाइल नै नरहेको कर्मचारीहरुले बताउने गरेको छ। हामी दुई महिनादेखि भौतारिरहेका छौं,’ व्यवसायी साहले भने, ‘२० प्रतिशत पहिला नै कमिसन दिनुपर्ने अडान राखेका थिए। हामीले पहिला भुक्तानी गर्न भन्यौं। आलटाल गर्दागर्दै पछि सरुवा भएपछि फाइल नै लिएर भागे।’

एसके मल्टी सप्लायर्सले प्रदेश प्रमुख कार्यालयमा फर्निचर, मर्मत, शौचालय निर्माणसहितको २५ लाखको काम गरेको बताएको छ। साहले आफ्नै एसके कन्ट्रक्सनबाट प्रदेश प्रमुख कार्यालयको पर्खाल निर्माण र रंगरोगनको ५ लाखको काम गरेको छ।

अर्का कम्पनी गौरी एण्ड उज्ज्वल कन्ट्रक्सनले विभिन्न नारा लेखिएको मुख्यमन्त्रीको तस्बिरसहितको होडिङ बोर्डको ३३ लाख रुपैँया भुक्तानी रहेको सञ्चालक अरुण यादवको भनाइ छ। सुरुमा कमिसन मागेको र सो नदिँदा आफ्नो पनि फाइल सचिव भुसालले गायब गरेको यादवको आरोप छ। उनी आफूहरुजस्तै कम्पनीको ३२ वटा फाइल गायब गरेको र सो फाइलहरु नभेटिँदा व्यवसायीहरु पीडित भएको उनले बताए।

सचिव भुसाललाई व्यवासयीहरुले घेराबन्दी गरेपछि कमिसन नदिँदा भुक्तानी नगरेको व्यवसायीको आरोप गलत रहेको र फाइल घर नलगेको र कार्यालयमै हुनुपर्ने दाबी गरे। ‘उहाँहरुको भुक्तानी हुन्छ। म सरुवा भइसके पनि भुक्तानीका लागि पहल गरिदिन्छु,’ उनले भने।

मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव कृष्ण बहादुर राउतले फाइल गायब भएको व्यवसायीसँग स्वीकार गरे पनि सार्वजनिकरुपमा फाइल गायब भएको विषयमा जानकारी नभएको प्रतिक्रिया दिए।

‘म एउटा कार्यक्रममा थिएँ। सचिव भुसाललाई घेराबन्दी गरेको विषयमा मलाई जानकारी छैन। फाइल हराएको विषयमा पनि थाहा भएन,’ उनले भने। सचिव भुसाल मुख्यमन्त्री कार्यालयमा छँदा नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत साइकल खरिदसम्बन्धी फाइल र मुख्यमन्त्री स्वच्छतासम्बन्धी केही फाइल लगेको थियो।

स्वच्छता अभियानको विषयमा पनि अख्तियारले पटक-पटक फाइल पठाउन मुख्यमन्त्री कार्यालयलाई पत्राचार गर्ने गरेको छ। स्वच्छता अभियानको धेरै फाइल पूर्व कर्मचारी इन्जिनियर भगवान झाले आफ्नो घरमा राखेको र केही फाइल सचिव भुसालले लुकाएको व्यापक चर्चा छ। मधेस सरकारको लोकप्रिय यी दुई कार्यक्रम बदनाम भएपछि अन्य मन्त्रालयमा समायोजन गरिएको छ। ‘बेटी पढाउ बेटी बचाउ’ अभियान समाजिक विकास मन्त्रालयमा समायोजन गरिएको छ भने स्वच्छता अभियान खानेपानी तथा सरसफाई मन्त्रालयमा समायोजन गरिएको छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८