जुम्ला — जुम्लामा स्याउ खेती व्यावसायिक लगानी बढ्दै गएको छ । अहिले जिल्लाका विभिन्न ठाउँमा ठूलो लगानीमा फुजी स्याउको व्यावसायिक खेती गर्नेहरू बढिरहेका छन् । गुठीचौर गाउँपालिका–५ जलजलामा नेपालकै ठूलो फुजी स्याउ बगैंचा स्थापना भएको छ ।
गुठीचौर एग्रो फार्मका अध्यक्ष मीनबहादुर भण्डारीले उच्च घनत्व जातको आधुनिक स्याउ बगैंचा निर्माण गरी फुजी स्याउको व्यावसायिक खेती थालेका हुन् । झन्डै ८ करोड रुपैयाँको लगानीमा जलजलामा स्याउ बगैंचा बनाइएको छ । उनले बगैंचामा ३० हजार फुजी स्याउ रोपेका छन् । १ लाख ५० हजार वर्गमिटर जग्गामा विभिन्न पूर्वाधारसहितको स्याउ बगैंचा निर्माण गरिएको उनले जानकारी दिए ।
जुम्लाको झन्डै ३ हजार ४ सय ५० हेक्टरमा स्थानीय जातको स्याउ उत्पादन हुँदै आएको छ । २ वर्षयता भने व्यावसायिक रूपमा फुजी जातको स्याउ खेती भइरहेको छ । पहिलोपटक २ वर्षअघि जुम्ला एग्रो फार्मका सञ्चालक लोकदर्शन श्रेष्ठले चन्दननाथ भैरवनाथ गुठीको जग्गा लिजमा लिएर फुजी स्याउको व्यावसायिक खेती सुरु गरेका थिए । त्यसलगत्तै हाम्रो कृषि सहकारी संस्थाले पनि स्याउको व्यावसायिक र सामूहिक खेती थालेको थियो । जिल्लामा फुजी स्याउप्रति दिन प्रतिदिन आकर्षण बढ्दै गएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए । ‘कृषिमा ठूलो लगानी गर्न चाहनेले फुजी स्याउमा लगानी गरिरहेका छन्,’ उनले भने, ‘साना लगानीमा पनि किसानहरूले गाउँगाउँमा स्थानीय जातको व्यावसायिक स्याउ बगैंचा निर्माण गरेका छन् ।’
तातोपानी गाउँपालिका–६ हियाखोलाका किसानले पनि १९ हेक्टर जमिनमा नमुना स्याउ बगैंचा निर्माण गरेका छन् । उक्त नमुना बगैंचाको २ किलोमिटर क्षेत्र सुरक्षित घेराबारसहितको छ । मालिका स्याउ उत्पादन कृषक समूहको सक्रियता तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन र तातोपानी गाउँपालिकाको आर्थिक सहयोगमा स्याउ बगैंचा निर्माण गरिएको हो । जसमा कृषि अनुसन्धान केन्द्रले पनि लगानी थपेको छ । उक्त स्याउ बगैंचामा स्थानीय जातका ४ हजार ५ सय स्याउका बिरुवा रोपिएको छ । हियाखोला, धौलापानी र हाँकुका २ सय किसानले थप ४ हजार ५ सय बिरुवा रोपेका छन् । स्याउ खेतीप्रतिको स्थानीयको आकर्षणलाई देखेर उत्साहित भएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।
खेतीमा अनुदान बढ्दै
पछिल्लो समय जुम्लामा स्याउ खेती गर्ने किसानका लागि तीनवटै तहका सरकारले अनुदान बढाइरहेका छन् । स्याउका बिरुवाको मूल्य २५ रुपैयाँ पर्ने भए पनि जिल्ला कृषि विकास कार्यालयले २ रुपैयाँमै बिरुवा उपलव्ध गराइरहेको छ । प्रदेश सरकारले पनि स्याउ बगैंचा निर्माण, घेराबारा, सिँचाइलगायतमा अनुदान दिइरहेको कृषि विकास प्रमुख देवकोटाले बताए । उनका अनुसार स्याउ खेतीका लागि विभिन्न सरकारबाट बर्सेनि झन्डै ५ करोड रुपैयाँ खर्च भइरहेको छ ।
यस्तै, जुम्ली स्याउको गुणस्तर बृद्धि गर्न यहाँका किसान बगैंचा व्यवस्थापनमा जुटेका छन् । एक महिनाअघि जुम्लामा भारी हिमपात भएको थियो । हिउँ परेसँगै किसानहरू स्याउको बिरुवा काँटछाँटमा जुटेका हुन् । चन्दननाथ नगरपालिकाका–१० की माया कुमाईले परिवारका ५ सदस्य बिहान सबेरैदेखि राति अबेरसम्म बिरुवा काँटछाँटमै व्यस्त हुन थालेको बताइन् । उनका अनुसार काँटछाँट गरे स्याउका बिरुवामा रोगकिराको प्रकोप कम हुन्छ भने गुणस्तरीय स्याउ फल्छ ।
कर्णाली राजमार्ग खुलेपछि स्याउ खरिद गर्न व्यापारीहरू बगैंचामै पुग्ने गरेपछि किसानहरू व्यावसायिक बन्दै गएको गुठीचौरका पूर्ण धितालले बताए । उनका अनुसार राजमार्ग सञ्चालनमा आउनुअघिसम्म प्रतिकिलो ५ रुपैयाँमा बिक्री नहुने स्याउ अहिले कम्तीमा ७० रुपैयाँ प्रतिकिलो बिक्री हुने गरेको छ । बगैंचा व्यवस्थापनमा जुटेका किसानले फागुन अन्तिम सातासम्म बिरुवाको काँटछाँट गरिसक्नुपर्ने कृषि विकास कार्यालयले जनाएको छ ।
कृषि विकास कार्यालयले कृषि प्रसार कार्यक्रम र स्याउ आत्मनिर्भर कार्यक्रममार्फत स्थानीय तहसँगको समन्वयमा स्याउ काँटछाँट अभियान नै चलाउने गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण सुपरजोन स्याउ परियोजनाले पनि स्याउको बगैंचा व्यवस्थापनमा जोड दिइरहेको छ ।
अहिले कृषि प्राविधिकहरूले स्याउका बिरुवा काँटछाँट गर्ने, बोडोपेस्ट लगाउने, बोडो मिश्रण छर्नेदेखि मलखादको व्यवस्थापनमा किसानलाई सघाइरहेका छन् । समयमै स्याउका बिरुवा काँटछाँट गर्दा स्याउ उत्पादनमा वृद्धि हुने स्थानीय किसान हरि शाहीले बताए । जुम्लामा एक घर, एक बगैंचा कार्यक्रम लागू भएपछि स्याउ खेती गर्नेहरूको संख्या ह्वात्तै बढेको हो ।