
अबिमेल गुज्म्यान अर्थात् क. गोन्जालोको मृत्युपछि पेरुको जनयुद्धको चर्चा चल्नु स्वभाविकै हो । पेरु कम्युनिस्ट पार्टीको स्थापना जोसे कार्लोस मारियाटेगीले गरेका थिए । गुज्म्यान (क. अल्भारो) सन १९५६ मा पार्टीको सदस्य बनेका थिए । जनयुद्ध सुरुभएपछि गुज्म्यानले पार्टी नाम गोन्जालो राखे। गोन्जालो जर्मन भाषाको शब्द हो जसको अर्थ योद्धा हुन्छ। जनयुद्ध सुरुभएको बेला पेरु कम्युनिस्ट पार्टी साइनिङ्पाथमा १९ केन्द्रीय सदस्य जसमा आधीजति महिला थिए । दोस्रो वरियतामा अगास्ता ला तोरे (क. नोराह) र तेस्रो वरियतामा एलिना इपारागुरे (क. मिरियम) थिए । यी दुबै महिला पार्टीका माइक्रोस्कोप र टेलिस्कोप मानिन्थे ।
साइनिङपाथमा ४० प्रतिशत महिलाको सहभागिता थियो । गोन्जालो १९६४ र १९६७ मा चीन गएका थिए जुनबेला चीनमा सांस्कृतिक क्रान्तिको उभार थियो । गोन्जालो सांस्कृतिक क्रान्तिबाट निकै प्रभावित थिए । पेरुमा सन १९८० बाट जनयुद्ध सुरु भयो । जनयुद्ध चलेको १२ वर्ष पछि गोन्जालो सेप्टेम्बर १२, १९९२ मा पेरुको राजधानी लिमाको ४५९ भार्सोभा स्ट्रीटबाट गिरफ्तारीमा परे । सेप्टेम्बर २४, १९९२ मा उनलाई सार्वजनिक गर्दा गोन्जालो अन्तर्राष्ट्रिय गाइरहेका थिए । सेप्टेम्बर ११, २०२१ मा २९ वर्षको जेलजीवनपछि उनको मृत्युमा विश्वभरि चर्चा चलिरहेको छ ।
पेरुको जनयुद्ध दबाउन राष्ट्रपति एलेन गार्सिया असफल भएपछि १९९० को राष्ट्रपति निर्वाचनमा अमेरिकी प्रायोजनमा पेरुका उपन्यासकार जनयुद्ध विरोधी मारियो भर्गास लोसालाई अगाडि सारियो । लोसालाई सघाउन अमेरिकी उच्च राजनीतिक परामर्श संस्था सोएर मिलर पेरु आएको थियो । लोसाका छोरा एल्भारो लन्डन स्कुल अफ इकोनोमिक्सबाट बाबुलाई सघाउन आउने नै भए । भतिजा लुइस लोसा हलिउड एनाकोन्डा मुभिको टिमनै लिएर लोसोको चुनाव प्रचारका लागि पेरु आएका थिए । धेरै मिडियाले लोसाको जित निश्चित बताए पनि जापानी मूलका कृषि इन्जिनियर अलबर्टो फुजिमोरी डार्कहर्सको रूपमा उदाएर पेरुको राष्ट्रपति चुनाव जिते । लोसा निराश भएर १९९३ मा स्पेनको नागरिकता लिएर पेरु छाडे । फुजिमोरी १९९० देखि २००० सम्म पेरुको राष्ट्रपति थिए ६०० मिलियन अमेरिकी डलर भ्रष्टाचारको आरोपमा उनी कार्वाहीमा परे । शरण लिन जापानलाई निवेदन गरे पेरुको सर्वोच्च अदालतको आदेशमा फुजिमोरीलाई २५ वर्षको जेल सजाय भयो । फुजिमोरीका भ्रष्टाचार सहयोगी मोन्टेसिनोले अपराध बोधले अपरिचित बन्न अनुहारको प्लास्टिक सर्जरी नै गराए ।
मार्क्सवादको विरुद्ध पुँजीवादको प्रायोजनमा धेरै पुस्तकहरू लेखिएका छन् । मार्क्सका विरुद्ध मेरी ग्याब्रीएलको लभ एन्ड क्यापिटल, लेनिनको विरुद्ध एलेक्जेन्डर सोल्जेनित्सिनको लेनिन इन जुरिच, माओको विरुद्ध लि झिसुइको द प्राइभेट लाइफ अफ चेयरम्यान माओ, र गोन्जालोको विरुद्ध ओरिन स्टार्न र मिगुएल ला सेनोको द साइनिङपाथ: लभ, म्याडनेस एन्ड रिभोल्युसन इन एन्डेज केही नमूना उदाहरणहरू हुन् । द साइनिङपाथमा नेपालको जनयुद्ध र प्रचण्डबारे अध्याय १६ र १९ मा थोरै चर्चा गरिएको छ । पेरुको जनयुद्धको प्रभाव नेपालमा परेकै हो । फेब्रुअरी १३, १९९६ बाट नेपालमा जनयुद्ध सुरु भयो । नेकपा (मशाल) मा क. विश्वासका नामले परिचित पुष्पकमल दाहाल जनयुद्धको समय नेकपा (माओवादी) मा प्रचण्डको नामले चर्चित भए । दसवर्षे जनयुद्ध सम्झौतामा सकियो । नेकपा (माओवादी) नाम फेर्दै काम फेर्दै संसदवादमा भासिएर टुक्राटुक्रामा विभाजन भयो । माओवादी केन्द्र टाउकाको मूल्य तोक्ने शेरबहादुरलाई संसदमा सघाइरहेको छ । एउटा समुह जातिवादमा जकडिएको छ । अर्को समुह जनमतसंग्रह भन्दै जुलुस निकालिरहेको छ । एउटा टुकडी बहुदलमा दल फेरिरहने अभ्यासमा अभ्यस्त भएको छ । केही क्षेत्रीयताको नारामा रुमलिएका छन् । छुटपुट एमाले, एनजीओ, जाति, जनजाति, दलित, मधेसको मन्त्रमा मदहोस छन् । प्रचण्डको राजनीति ग्राफ गिर्दो छ । उनका लागि खुमलटारदेखि बालुवाटारको दुरी बढिरहेको छ । संविधान निर्माणका बेला सुब्रमन्यम जयशंकरले धम्क्याए, एमसीसी पासगराउन फातिमा सुमारले घुर्काइन । मन्त्री नपाए मर्छौं भन्ने सिपाहीहरूको कमान्डर भएका छन् प्रचण्ड ।