
अध्यक्ष एवं अभियन्ता – बालबालिकाका लागी जिवन्त शिक्षा अभियान
बिकास के हो र के होइन ? बिकास कस्तो बिकास? भन्ने कुरा स्थान, परिवेश, आवश्यकता अनि ब्यक्तिका चाहना आदीले निर्धारण गर्दछ । अर्थात् जस्लाई जुन कुराले छुन्छ र जीवन निर्वाहमा सघाउ पुर्याउँछ; बस, उस्का लागि त्यही हो बिकास । शहरका घरघरमा मात्र नभै भान्सा, शैचालय,, कौसी लगायत सबैतीर पानीको धारा हुनु र त्यसको टुटीबाट पानी झर्नु सामान्य मानिएला । तर पानीको चरम अभाव भोगेको कुनै गाउँवस्ती (काकाकुल गाउँ) का लागि ४/५ घरलाई मिलाएर एक धारा निर्माण भै त्यसको टुटीबाट पानी खस्नु तत् क्षणका लागि खानेपानीको क्षेत्रमा राम्रो प्रगति अर्थात् बिकास भएको मान्न सकिन्छ । कुनै दुर्गम गाउँमा सिटामोल मात्रै पाइन थाल्नु पनि एकखाले प्रगति मानिन्छ तर त्यही कुरा शहरमा अत्याधुनिक ल्याव र गुणस्तरीय उपचार सुबिधा भए नभएको सँग तुलना गरिन्छ ।
बिकासका भिन्न भिन्न तह र चरणहरु हुने गर्छ । ब्यक्तिका लागि शारीरिक बिकास, मानसिक बिकास, बौद्धिक एवं क्षमताको बिकास, आर्थिक बिकास, आत्मिक बिकास, जीवन निर्वाहनका लागि आवश्यक बिभिन्न शीपको बिकास आदी बिकासका स्वरुपहरु हुन । त्यस्तै सामाजिक तहमा आपसी सहकार्य र सामुहिक भावना सहितको आर्थिक, भौतिक, सास्कृतिक र अध्यात्मिक क्षेत्रमा हुने बिकासलाई कुनै पनि समाजको बिकास मान्न सकिन्छ । अनि राज्यको तहमा आएर आधारभुत सेवा (शिक्षा, स्वास्थ्य उपचार, खानेपानी, इन्धन एवं उर्जाको आपूर्ति आदीलाई लिन सकिन्छ) को उपलब्धता, स्रोतको समानुपातिक बितरण, ठुला पुर्वाधार एवं भौतिक संरचनाको निर्माण, शुसासनको प्रत्याभुति र न्यायमा पहुँच हुनुलाई बिकास मान्न सकिन्छ । तहगत रुपमा भने आधारभुत आबश्यकता परिपुर्ति देखि लिएर सामाजिक सुरक्षा, भौतिक/प्राकृतिक मनोरञ्जन, आपसी सम्बन्ध र चेतनाको उपल्लो बिकास हुँदै आत्मिक जागरण (मास्लोको बिकासबादी शिद्धान्त झै) सम्म पर्न आउँछ ।
बिकासले ब्यक्ति, समाज अनि सिङ्गो राष्ट्रको अवयवहरुलाई छुन सक्नु पर्छ । भौतिक बिकास भन्दा अगावै गरिखाने सोच र अधिकार सहितको कर्तव्यबोध (अब्बल, चरित्रवान र जीवनपयोगी शिक्षामा सहज पहुँच) मा ज्यादातर ध्यान दिनुपर्छ । तब न भौतिक प्रगति र संरचना टिक्न सक्छ, लक्षित उपलब्धि हाशिल गर्न सकिन्छ । असल चेतनाको उच्चतम बिकासले ब्यक्तिको सर्वाङ्गिण बिकासमा निकै बल पुग्छ । फलस्वरूप ब्यक्ति विवेकी भै के गर्न हुने, के नहुने छुट्टाएर आफु स्वयंको प्रगतिको बाटो पहिल्याउन सक्षम भै परेका बखत परिवार, समज अनि राष्ट्र समेतलाई योगदान दिन तत्पर रहन्छ । यसरी ब्यक्ति, ब्यक्तिको तहमा प्रगति हुँदै गएपछि राष्ट्रको प्रगति त स्वत नै हुने भो ! किनकी एक स्वतन्त्र राष्ट्र हुनको लागि ४ आवश्यक चिज मध्ये जनता नै प्रमुख एवं चलायमान तत्व हो । किनकी बिकास ब्यक्तिको सोचाइको तहबाटै शुरु हुन्छ ।
- के नेपाली राजनीतिकर्मीहरु, परजीवी नै हुन् त ?
- अरुलाई खसालेर को पो माथी उठ्न सक्ला र ?
- नेताजी, जनसमुदाय भनि बिल्कुलै सम्बोधन नगर्नुस, किन झुक्याउनु हुन्छ ?)
अहिलेको हाम्रो राज्य संरचनाले कि त लादिएको वा बितरणमुखी बिकासमा जानी नजानी जोड दिदै आएका छन् । सामुदाय केन्द्रित र बिभेद रहित बिकास अझै सम्म पनि हुन सकेको छैन । खानेपानी सम्म नपुगेको गाउँमा समेत राज्यकै लगानीमा सभाहल, भ्युटावर जस्ता अनुत्पादक र जनजीवन नछुने बिकास हुन थालेका छन । खासगरि राजनीति दल वा प्रशासनतन्त्रमा रहेर राज्यका स्रोतमा पहुँच जमाएकाहरुले आफ्ना कार्यकर्ता, आफन्त, आसेपासे र तिन कै स्वार्थ एवं गुणगान गाउने समुहलाई केवल कागजी बिधी पुर्याई अन्धाधुन्द स्रोत/रुपियाँ बाडिरहेका छन्, बाड्दै आएका छन् । यो एक किसिमको कनिका छराइ हो र यही कारण सवै तहमा मनोमानी बढ्दै गएर सामुहिक बिकासको ठाउँमा स्वार्थी एवं जालझेल पुर्ण बिकास झाङ्गिन गएको छ । यो बिकास हुँदै होइन, कुविकास हो र यसबाट केही ब्यक्ति मात्रै मोटाउने (भौतिक एवं आर्थिक प्रगति हुने) र बाकी नागरिक अनि राष्ट्र दुब्लाउदै, खिइदै जाने निश्चित छ ।
हाम्रो सवालमा कस्तो बिकास? भन्ने सवालमा बिकास यस्तो होस कि त्यसले विद्यमान नागरिकको अवस्था र दैनिकीमा साकारात्मक एवं अर्थपूर्ण परिवर्तन ल्याउन सकोस । उदाहरणको लागि कुनै मोटर बाटो नपुगेको गाउँमा मोटर बाटो पुग्नुलाई हामी बिकास मान्ने गर्छौ । तर त्यस मोटरबाटो बनेकै कारणले उक्त गाउँमा के कस्तो सकारात्मक/नकारात्मक प्रभाव परेको छ, त्यो अक्सर हेर्ने गर्दैनौ । मोटरबाटो पुगेकै कारणले गाउँका मानिसको आवागमनमा सहजता भो, सार्वजनिक यातायातका साधन गाउँमा पुगे, उत्पादित बस्तु खेर जानुको सट्टा बजार पाउन थाले, बाहिरी दुनियाँ सँग नयाँ सम्पर्क कायम भो अनि आपसी तथा ब्यवसायिक सम्बन्धमा सुधार हुने अवस्था सृजना भो भने त्यसलाई सकारात्मक बिकास मान्न सकिन्छ । कतिपय यस्ता ठाउँ छन्, जहाँ मोटरबाटो त खनियो तर त्यहाँ गाडी गुड्न सकेन, गाउँलेका खेतीयोग्य जमीन र जंङ्गल समेत नासियो, बाटो खनेकै कारणले बाढी पहिरो जस्ता बिपत्ति आइ लाग्न थाल्यो,बाटो छेउमा एकाध भट्टी खुले र जुवातास अनि रक्सी पिउने थलोको बिस्तार भो भने त्यसलाई के भन्ने ???
भन्न खोजेको के भने बिकासले जनता दैनिकीलाई छुन र सहजता प्रदान गर्न सक्नु पर्छ । वृत्ति बिकास र सही चेतना भर्न सक्नु पर्छ । जीवनपयोगी सीपको बिकास र क्षमता बिस्तार गर्न सहायक सिद्ध हुनपर्छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य लगायत आधारभुत सेवाको सहज उपलब्ध गराइ ठुला भौतिक पुर्वाधार केन्द्रित बिकास हुनु जरुरी छ । राज्यको स्रोतको समतामुलक वितरण र सहज न्यायमा पहुँच हुन सके बाकी सब जनता आफैले सम्हाल्ने छन । र राज्य हाम्रो हो भन्ने भावनाको राम्रै बिकास हुन थाल्नेछ ।
अब प्रश्न उठछ कि अहिलेको नेपाल राज्यमा कस्तो बिकास हुँदै आएको छ? लादिएको, उत्पादनमुखी, सुबिधाभोगी एवं मनोरञ्जनात्मक, आसेपासे पोस्न कनिका छराइ वा अनुत्पादक बिकास ? अझ बेमेल र झगडाको बिउँ रोप्दै द्वन्द्व सृजना गर्ने बिकास ? वा जातिय, साम्प्रदायिक र भेगीय असन्तुलन निम्त्याउने बिभेदकारी बिकास !
यद्यपि, कामना गरौ कि राज्य संयन्त्रका नीति निर्माता र स्रोतमा पहुँच राख्ने दलीय नेता अनि स्थायी सरकारको रुपमा रहेका प्रशासनतन्त्रका प्रमुखहरुको चेत ढिलोचाडो खुलोस ! अनि सही, सकारात्मक र साच्चै अर्थपूर्ण बिकास गरेर देखाउन !
जय हो जीवन्त शिक्षा !