युक्रेनको राजधानी किएभभन्दा १७ माइल उत्तरपश्चिममा रहेको शहर बुचामा रुसी सैनिकहरूले सर्वसाधारणको हत्या गरेको आरोप लगाइएपछि संसारभरि रुसविरुद्ध आक्रोश फैलिएको छ । पछाडि हात बाँधिएका मृत शरीर बाटोभरि छरिएको पाइएको छ । मार्नुअघि मानिसलाई नजिकैबाट गोली हानिएको थाहा हुने गरी लाशमा चोट देखिन्छ । कतिपय मानिसलाई मार्नुअघि यातना दिइएको पनि पाइएको छ । रुसी सैनिकहरू उक्त ठाउँबाट पछि हटेपछि यस्तो दृश्य देखिएको हो । रुसले युद्धअपराध गरेको र बुचामा कुनै भूताहा फिल्मको जस्तो दृश्य छोडेर गएको आरोप युक्रेनी अधिकारीहरूले लगाएका छन् ।
बुचामा यसरी लाशहरू देखिएपछि युरोपेली नेताहरूले ज्यादतीको भर्त्सना गर्दै मस्कोविरुद्ध थप कठोर प्रतिबन्ध लगाउन माग गरेका छन् । जर्मनीका रक्षामन्त्रीले रुसबाट ग्यास आयातमा प्रतिबन्ध लगाउन समेत सुझाव दिएका छन् । किएभ नजिकका शहरमा ४१० जना नागरिकहरूको लाश फेला परेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
बुचामा मात्र २१ जनाको लाश विभिन्न ठाउँमा भेटिएको एसोसिएटेड प्रेसका पत्रकारहरूले बताएका छन् । नौवटा लाश भएको ठाउँमा पुग्दा सबैजनाले सर्वसाधारणले लगाउने लुगा लगाएको पाइएको छ । त्यस ठाउँलाई रुसी सैनिकहरूले आफ्नो अड्डा बनाएका थिए । त्यहाँ मानिसहरूलाई नजिकैबाट गोली हानेर मारेको जस्तो देखिन्छ । दुईजनाको हातलाई पछाडि लगेर बाँधिएको छ । एकजनाको टाउकोमा गोली हानिएको छ भने अर्काको गोडा बाँधिएको छ ।
युक्रेनी अधिकारीहरूले यो हत्याका लागि रुसी सैनिकहरू जिम्मेवार रहेको बताएका छन् । राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले यसलाई रुसले गराएको नरसंहार भनेका छन् ।तर रुसको रक्षा मन्त्रालयले झूटो आरोप लगाएर विश्वलाई रुसविरुद्ध उत्तेजित पार्नका लागि चालिएको कदम भनेको छ ।
द न्युयोर्क टाइम्सले पनि बुचामा भएको नरसंहार रुसी सैनिकले नै गरेको भनी स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिने बताएको छ । रुसले किएभ र चर्निहिभबाट सेना हटाएर युक्रेनको पूर्वी भागमा आक्रमण बढाउने निर्णय लिएलगत्तै बुचामा लाशहरू फेला परेका हुन् । फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेलगत्तै रुसी सैनिकहरू बुचा पुगेका थिए र मार्च ३० सम्म त्यहीँ थिए ।
नाम खुलाउन नचाहने एक स्थानीयले रुसी सैनिकहरू बुचाको प्रत्येक भवनमा गएको अनि बेसमेन्टमा लुकेर बसेका सैनिकहरूलाई बाहिर निकालेको बताए । रुसी सैनिकहरूले स्थानीयको फोन चेक गरेर रुसविरोधी गतिविधि गरे नगरेको हेरेका थिए । अनि उनीहरूलाई अन्यत्र लग्ने वा गोली हान्ने काम पनि उनीहरूले गरेका थिए ।
अर्की निवासी हान्ना हेरेगाले बताएअनुसार, न्यानोका लागि काठ खोज्न गएका एक छिमेकीलाई रुसी सैनिकहरूले गोली हानेका थिए । युक्रेनी राष्ट्रपतिका सल्लाहकार ओलेक्सी आरेस्तोभीचले बुचाका सडकमा छरिएका लाश कुनै भूताहा फिल्मको दृश्य जस्तो देखिएको बताए । केही महिलालाई बलात्कार गरेर मारिएको अनि रुसीहरूले उनीहरूको लाश जलाएको दाबी पनि उनले गरे । घटना सार्वजनिक भएपछि भिडियो सम्बोधन गर्दै जेलेन्स्कीले नागरिकको हत्या गर्ने वा यातना दिने रुसी सैनिकहरू यसका लागि जवाफदेही रहने बताए ।