तल तल झर्दै गरेको हबाइजहाजको सानो झ्यालबाट देखिएका पूर्ब देखि पश्चिमसम्म लमतन्न फैलिएको हिमालयको काखका हरिया फाँटहरुले सबैभन्दा पहिले मलाई नेपालप्रतिको छाप दिलाएका थिए । त्यसपछि काठमाण्डौबाट भारतीय सीमा नजिकको सानो शहरसम्म हामीलाई बसमा लगिएको थियो, जसबाट बाटोमा पर्ने जङ्गल, धानका फाँट,चियाबगान, केराका खेतिका रमाइला दृश्यहरु हेर्न पाइएको थियो ।
सोभियत संघ र नेपाल को कूटनीतिक सम्बन्ध स्थापना भएका कारण संसारको सुदूर कुनामा रहेको यो अधिराज्यमा, हामी सोभियत ईन्जिनियरहरु को एक समूहलाई काम गर्ने मौका मिलेको थियो। सन् १९६० र १९७० को दशकमा हाम्रो देशको सहयोगमा दर्जनौं अस्पताल, जलविद्युत आयोजना, कारखानाहरु र अन्तमा १०९ किमी लामो “सिमरा-जनकपुर” राजमार्गको निर्माणका कारण हामी संसारको उच्चतम शिखरको फेदीमा पुगेका थियौँ ।
हामीभन्दा अघिल्लो समूहले ५४ किमि बाटो बनाइसकेको थियो र हामीले त्यसमा ५५ किमि थप गरेका थियौं ।
“के पहाड खनिरहन्छौ ?आराम गर!”-शुभचिन्तकहरु भन्ने गर्दथे । तर हामि बौलाहा झैँ बिहान सबेरै देखि अबेर साँझसम्म काम गरेको गरेइ गर्दथ्यौँ ।
नेपालीहरु साह्रै मेहनति, अनुशासित र बुद्धिमान हुँदारहेछन् । सानैदेखि कडा परिश्रम गर्न बानि परेकोले यस्तो भएको हुन सक्छ।स्थानीय किसानहरु अझै पनि पाखो भिरमा कोदालो खनेर बालिनालि लगाउदछन्, बाटोघाटो, घरहरु नागबेली आकारका ठाडा उकालो ओरालो बाटाहरुमा काँध र पिठ्यूँमा ढुंगा बोकेर अनि सामन्य हाते घनले ढुंगा फुटाएर बनाउदछन् ।
हाम्रो काम गर्ने ठाँउमा यहाँका केटाहरुले केहि दिनमा नै जुनसुकै व्याबसायिक काम-वेल्डिंग गर्ने, ड्राइभिंग गर्ने,सिकर्मी काम सबै गर्न सिके । त्यसमाथी धेरैजसोले स्कूले शिक्षा समेत पाएका थिएनन् ।
उदाहरणका लागि, हामीले गंगा नदीको एउटा प्रमुख शाखा, बागमती नदी, जसले पुरै हिमालय पर्बतलाई चिरेर बग्दथ्यो, मा एउटा बिशाल पुलको डिजाईन गरेका थियौँ। यसका लागि हामीलाई लामा लामा आर सि सि बीमहरु बोक्ने ‘जिल-१३१’ जस्तो २५ मिटर लामो ट्रेलर भएको भारी ट्रक चलाउने ड्राइभर आबश्यक परेको थियो ।
काम खोज्दै एउटा २० बर्ष जतिको केटो आयो, मेशीनको बारेमा पुरै अनभिज्ञ।यस्ताले के ड्राईभरको काम गर्ला ? जस्तो लागेको थियो।तर कुरो अर्कै भयो!यो केटोले जम्मा ३ दिनमा सबै सैद्धान्तिक र ब्यबहारिक ज्ञान लिन भ्यायो।काम गर्दा उसले एउटा पनि गल्ति गरेन,जब कि यत्रो जटील मेशीन चलाउन असाध्यै राम्रो दक्षताको जरुरत पर्दछ ।
पुलहरु झण्डै हरेक किलोमीटरमा एउटा बनाउनुपर्दथ्यो(१०९ किलोमिटरमा झण्डै सयवटा), किनकि यो बाटो हिमालयको फेदैफेदबाट गुज्रन्छ जहाँ अनेकौँ नदीनालाहरु बग्दछन्।नेपालमा अप्रिलदेखि नोभेम्बरसम्म आउने मुसलधारे मनसुनले समेत यति धेरै पुल पुलेसाहरु मध्ये एउटा पनि भत्काउन सकेन ।
उष्णप्रदेशको भीषण बर्षा गाग्रीले पानी खन्याए झैँ बर्सन्छ, अनि पहाडी नदीहरु तीब्र बेगले आफ्नो बाटोमा पर्ने सबै चिजलाई सफाइ गर्दै बग्छन्।बाढीले ढुंगा, माटो,जरा समेतै उखेलिएका रुखहरु बगाउन बाँकि राख्दैन र बाढीपछि दशौँ मीटरसम्म बाक्लो गेग्रन थुपारेर छोड्छ।यसैले पुलको जग २५ मीटरसम्म गहिरो हाल्नुपरेको थियो, झण्डै पृथ्वीको गर्भैसम्म पुग्ने भन्दा पनि हुने गरी ।
हामीले बनाएका पुलहरु साह्रै हलुका लाग्दथे।अरु देशले बनाएका पुलहरुका बीमहरु १.५ मी बाक्ला हुन्थे भने हामीले बनाएका जम्मा ४० सेन्टिमीटर मात्रै।
जाँच गर्नेहरु शुरुमा शंकालु नजरले हेर्ने गर्दथे, यति हल्का बीमहरु मोटर हिड्दा भाँचिन्छन् होला भनेर। जबाफमा मैले एक्स्काभेटर र बुलडोजरहरु गडगडाउदै पुलमा हिडाएर देखाइदिएँ। त्यसपछि गाडिको लहरै अगाडि पछाडि गरेर पुलमा हिडाइदिएँ। पुललाई के हुन्थ्यो? केहि पनि भएन ।
जब कि हरेक मनसुन पछि तेहि समयमा चिनियाहरुले बनाएका ९० प्रतिशत पुलहरु भत्कन्थे र अंग्रेजहरुले बनाएका ७० प्रतिशत भत्कन्थे।हामीले बनाएका मध्ये एउटा पनि भत्केन। हाम्रो डिजाईन अत्यन्तै सही थियो, हाम्रो स्टील राम्रो थियो, डिजाइन गर्ने मस्कोको “सयुजदोरनिई”का इन्जिनियरहरुको समूह र स्थानीय गाउँले केटाहरुको काम गर्ने समूह साँच्चिकै उत्कृष्ट थियो ।
यी स्थानीय केटाहरुसंग काम गर्न सहज थियो। सबैतिर गरिबीले छाएको देश भएता पनि नेपाल खुशी मानिसहरुको देश हो।सबै मेहनति, खुल्ला हृदयका र हँसिला छन्।दुइ बर्षको बसाइमा मैले यिनीहरुबाट एउटा पनि खराब शब्द बोलेको सुनिन, खराब हाउभाउ र खराब नजरले हेरेको कहिलै पनि पाइन ।
मेरो पद अनुसार मलाई सरकारी मोटर चलाउन भनेर एउटा व्यक्तिगत ड्राइभर दिइएको थियो।उसको नाम राम देव रौश थियो।हामी दिनभर उज्यलो छउन्जेल काम गर्दथ्यौ, स्थानिय चाडपर्वमा भने आराम गर्दथ्यौ।रामदेव कहिलै पनि थकाइ लाग्यो भनेर गुनासो गर्दैनथ्यो, न त लामो समयसम्म घर जान नपाएकोमा पनि।म यो कुरा बुझ्दथेँ र बलपूर्बक उसलाई केहि आराम गर्न र बाबु आमालाइ सघाउन घर पठाइदिन्थेँ ।
रामदेवसंग मैले नेपाली भाषा सिक्ने निधो गरेँ(उ आफैँ पनि केहि टाक्कटुक्क रसियन बोल्न जान्दथ्यो, मभन्दा अघिकाले सिकाए अनुसार)।हुन त हामीसंग अंग्रेजीबाट नेपालीमा अनुबाद गर्ने एउटा दोभाषे हुन्थ्यो, तर उ सधैँ यताउति गइरहन्थ्यो , तेसैले हामीलाई साइटमा काम गर्न कामदारहरुसंग बोल्ने साझाभाषा खोज्नुपर्दथ्यो ।
हरेक दिन यो मेरो गुरुले मलाई १०-१५ वटा नयाँ शब्दहरु सिकाउदथ्यो।चाडै नै मैले अपरिचित वाक्यहरु पनि अन्दाज कै भरमा बुझ्न थालैँ र तीन महिना पछि त मज्जाले नेपाली हरुसंग कुरा गर्न सक्ने भएँ।जोकहरु समेत रसियनबाट नेपलीमा अनुबाद गरेर भन्न सक्ने भएँ।एकदिन हामीकहाँ एकजना कामदारको बाबु आयो।उसले मेरो बारेमा छोरालाई सोध्यो ।
-सुन् त छोरा, उ यहि जन्मेर हुर्केको हो?
-आबुइ के भनेको,-छोराले हाँस्दै भन्यो,-ऊ भर्खरै मात्र आएको हो ।
-हुनै सक्दैन!-बुढाले बिश्वास गर्न सकेन।–तेसो भए कसरी उसले हाम्रा उखान टुक्काहरु जानेको त?
जब म रसिया फर्केँ, मेरा इष्टमीत्रहरुले सोध्न थाले: भान्या, तँ त अचम्मको देश पुगेर आइस्, अब सुना नेपालीहरु हामी भन्दा के फरक रहेछन्? उनिहरुको चालचलन के फरक रहेछ? मैले भनेँ “उनि हरु सबै कुरामा फरक रहेछन्-बिहेबारी, अन्तेष्ठी,धर्म कर्म, जिवन सबै फरक छ”।
उदाहरणको लागि त्यहाँ बजारमा मासु किन्न पाईदैन-बेच्ने चलन नै छैन त्यहाँ। केहि नेपालीहरु भैँसीको मासु खान्छन् भने अरु जनावरको मासु खान त्यहाँ निषेधित छ। कुनै पनि प्राणीको हत्या गर्न त्याहाँ पाइदैन।
एकदिन जंगल फाँड्दै थियौँ। केटाहरु रुख काट्दै थिए। कराएको आबाज आयो। के भयो? एकजना कामदारलाई बिच्छिले टोकेछ। मैले रक्तसञ्चार रोक्न टोकेको ठाउँभन्दा माथितिर बाधिदिएँ (हामीलाइ यस्तो गर्न पहिले नै मस्कोमा सिकाइएको थियो)। बिच्छि हिडिरहेको मैले देखिहालेँ।“मार तेसलाई”-म चिच्याएँ। सबैले एकैस्वरमा भने,-“ मार्न हुँदैन”। मैले आफै लट्ठीले हिर्काउन खोजेँ, दिएनन्। ममाथि सबै एकैचोटी खनिए-यो देउता जस्तै हो , यसलाई केहि गर्न हुँदैन।
माकुरो मार्न कसैले पाउँदैन। त्यहाँ सबैले ढोग्छन् तेसलाई, सबैभन्दा अमूल्य किरा मानिदो रहेछ। म आफैँ पनि यो आठखुट्टे किरोलाई मान्न लागेँ, हुन पनि हो यसले मानिसलाई कुनै नराम्रो गर्दैन, बरु उल्टै सबै किसिमका बिषाक्त पदार्थबाट बचाउदछ।
यदि कुनै मान्छे अपराधी छ भने चाँहि नेपालीहरु उसलाई किराफट्यांग्रालाई भन्दा पनि बढि घृणा गर्न पछि पर्दैनन्। अहिले कस्तो छ, थाहा छैन तर तेसबेला गाऊघरमा कुनै सुरक्षा निकायहरु थिएनन्। पुरै क्षेत्रभरि एउटा पुलिस र एकदुई कर्मचारी मात्र हुन्थे तेसबेला। यदि कुनै अपराधी समातिएमा जेल पठाउने हैन, गाउमा नै छिनोफानो गरिन्थ्यो।
एकदिन बाटोमा हिड्दै थियौँ। एकजना मानिसलाई रुखमा बाँधेर राखिएको रहेछ। के भएको रहेछ भनेर बुझ्न म रोकिएँ। केटाहरुले तँछाड मछाड गर्दै भने “चोरलाई सजाँय दिन लागेको”।
-कति भो यसरी बसेको?- मैले सोधेँ।
-तेश्रो दिन हो।
-भैगो पुगिहाल्यो त नि, छोडिदेउ अब त।
-हुदैन, चोर हो नि त
एकजना पाको मान्छेलाई बोलाएँ र पाँच रुपियाँ दिएँ र भनेँ- “तिमी पर जाउ र नदेखे झैँ गर, हामी यसको डोरी फुकाइदिन्छौँ”। उसले आफ्ना साथीहरुलाई लिएर जंगलतिर गयो, मैले डोरी फुकाइदिएँ, पानी दिएँ र गाँउमा पुर्याइदिएँ।
कहिले काँहि पाइने बिदाको दिनमा हामि श्रीमतीहरुसंग नदीमा जान्थ्यौँ, हात्ती चढ्थ्यौँ, निकुञ्जतिर जान्थ्यौँ, गैँडा, बाघ हेर्थ्यौँ।भारततिर पनि जान्थ्यौँ।स्थानिय प्राचीन स्मारकहरुको त कुरै नगरौँ।मन्दीरहरु कति राम्रा छन् नेपालमा, शब्दमा बर्णन गर्न सकिदैन। हो, त्यहाँ सबै कुरा राम्रा छन्-प्रकृति,बास्तुकला, मानिसहरु।
मलाई बिश्वास गर्नुस्-नेपालमा नराम्रा मानिस मैले कहिलै देखिन।चाडपर्बमा हामीलाइ आफ्ना स्थानीय पोशाकमा फूलका माला लगाएका केटीहरुले नाच देखाउदथे, शुरुमा त थाहै भएन, पछि पो थाहा भयो यी त केटीको लुगा,गहना लगाएका केटाहरु पो रहेछन्।कति राम्रा मिलेको अनुहार भएका यिनिहरु!(हामीलाइ साँच्चिकै केटीहरुको प्रदर्शन चाँहि स्थानिय चलन अनुसार नमिल्ने रहेछ।)
यस्तो बिरानो देशमा बस्न हामी बानी परिसकेका थियौँ।घरपालुवा जनाबरहरुको बारेमा त मैले बिर्सिसकेको थिएँ।एकदिन पानी परेपछि आफ्नो “गाज-६९” मोटरमा गइरहेको थिएँ, एउटा पानीको दहले मलाई बाटो रोक्यो।एक हुल बाँदरहरु नुहाँउदै रहेछन्।मैले लट्ठिले भुँइमा ठोकेको के थिएँ, सबै गुरुरु रुखमा चढे।एउटा सानो बाँदरचाँहि झाडिमा लुक्यो, रुख चढ्न पाएन, मैले तेसलाई समातेर ल्याएँ।
दुइ महिना पछि मसंग त्यो बाँदर एकदम रत्तियो, मेरो काँधमा बस्न मन पराउदथ्यो।हामी जंगल नजिकैको घरमा बस्थ्यौँ, जहाँ प्रसस्तै बाँदरहरु हुन्थे।मैले पालेको बाँदर देखेर अरु बाँदरहरु मबाट उसलाई खोसेर लान चाहन्थे, तर त्यो मेरो बाँदर चाहिँ भागेर मकहाँ नै आउदथ्यो।
१९७२को डिसेम्बर महिनामा “सिमरा-जनकपुर” सडकमा पुरै यातायात सञ्चालन खुल्ला गरियो।यस उद्घाटन कार्यक्रममा नेपालका राजा बिरेन्द्र, सोभियत राजदूत बोरिस किर्नासोभ्स्की, निर्माण कार्यका चीफ इञ्जिनियर पाबेल क्राभ्चोभ , सबै निर्माणमा खटिएका नेपाली र रसियनहरुले भाग लिएका थिए।
अब छुट्टिने बेला आइसकेको थियो।नेपालीहरुले हामीलाइ बाटोभरी फूलैफूल छरे, माला लगाइदिए र केहि उपहार पनि दिए(मलाई पत्थरले सजिएको राष्ट्रीय हतियार खुकुरी दिइएको थियो) र निसंकोच रोए।साच्चै भन्ने हो भने, हामीहरु पनि कहाँ रोकिन सक्यौँ र? यहाँका मानिसहरु र उनिहरुको देशसंग हामी निकै आत्मीय भैसकेका थियौँ।
हामी सोभियत बिशेषज्ञहरु हाम्रा नेपाली साथीहरुसंग छुट्टिएको पनि धेरै बर्षहरु बितिसक्यो।तर अहिले पनि हामीहरु सधै एक आपसमा भेट्दा त्यो बेलाको रमाइलो समय, जब हामी उष्णप्रदेशीय जंगलको उखरमाउलो गर्मी, धुलाम्मे समतलको सडक र उर्लदा नदीहरुको किनारामा काम गर्दथ्यौँ, का बारेमा कुरा गर्दछौँ।
पैसा भए देखि एकपटक फेरि त्यो हिमालयको काखमा जान पाए हुन्थ्यो भनेर सधैँ सोच्दछु, तर अझै मिलेको छैन ।
अहिले हृदयदेखि नै नेपालीहरुको बारेमा साह्रै पीर लागिरहेको छ।यस्तो कठीन परिस्थिति झेल्न उनिहरुलाई बल प्राप्त होस् र जीबनमा खुशियाली छावस भनी कामना गरिरहेको छु। रसिया सधै नेपालको साथमा रहने छ !
(महेन्द्र राजमार्ग ढल्केबर-पथलैया खण्डको निर्माणमा खटिएका एक सोभियत ईञ्जिनियर इभान मिखाइलोभिच गोन्छारोभले नेपालमा भूकम्प गएपछी लेखेको सम्झनाका केहि पंक्तिहरुको नेपाली अनुबाद। अनुबादक: राजेन्द्रराज शर्मा काफ्ले)
स्रोत : जिवा लामिछाने / फेसबुक ।