फ्री-फायर गेम मार्फत चिनजान भएकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
प्रहरीले चन्द्रागिरि नगरपालिका-८ मातातीर्थ बस्ने २७ वर्षीय महेश उदाशलाई सोमवार पक्राउ गरेको हो ।
ती बालिकाको अभिभावकले आफ्नी छोरी हराएकोले खोजी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौं र मातहत वृत्त तथा प्रभागहरूमार्फत् बालिकाको खोजी गर्ने क्रममा चन्द्रागिरि नगरपालिका-८ मातातिर्थबाट फेला पारेको थियो ।
आरोपी उदाससँग ती बालिकाको विगत १ वर्षदेखि फ्री-फायर गेम खेल्ने क्रममा चिनजान भएको र फेसबुक, म्यासेन्जरमा भिडियो कल तथा म्यासेजहरूमार्फत कुराकानी हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उदासले ती बालिकालाई विवाह गर्नेलगायतको आश्वासन दिएर चैत २९ गते पाल्पाबाट मोटरसाइकलमा राखी काठमाडौं ल्याएको र चैत ३० गते राति काठमाडौं टोखा नगरपालिका-६ स्थित बसुन्धरामा राखी जबरजस्ती करणी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
उनीमाथि जबर्जस्ती करणी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट १० दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको छ ।