दाङ : दाङका उपमहानगरपालिकाले कक्षा आठको परीक्षा सञ्चालनका लागि तयार पारेका प्रशन पत्रमा लापरबाही गरेको देखिएको छ। माध्यमिक तहको शिक्षासम्मको अधिकार पाएका स्थानीय सरकारहरुले एसईईभन्दा तल्लो तहसम्मको परीक्षा सञ्चालन गर्दे आएका छन्।
पहिले जिल्लाले गर्ने जिल्ला स्तरीय परीक्षा अहिले स्थानीय सरकारले गराउँदै आएका छन्। जिल्ला स्तरीय परीक्षाको रुपमा रहेको कक्षा आठको परीक्षा सञ्चालनमा भने स्थानीय सरकारहरु चुकेका छन्। उनीहरु प्रश्नपत्र निर्माणमै चुकेका हुन्।
दाङका दुई उपमहानगरपालिका तुलसीपुर र घोराहीका शिक्षा शाखाहरुले प्रश्नपत्र निर्माणमा गम्भीर लापरबाही गर्दा विद्यार्थीहरु मर्कामा परेका छन्। उमहानगरको शिक्षा शाखाले तयार गरेको कक्षा आठको विभिन्न विषयको प्रश्नपत्रमा नेपालीबाट सोधिएको प्रश्न र अग्रेजीबाट सोधिएको प्रश्न फरक फरक हुँदा विद्यार्थीहरु अन्यौलमा छन्।
तुलसीपुर उपमहानगरपालिकाले तयार परेको सामाजिक शिक्षाको प्रश्न पत्रमा ठूलो लापरबाही देखिएको छ। ७५ पूर्णाङ्कको सामाजिक शिक्षाको परीक्षामा विद्यार्थीलाई ९३ पूर्णाङ्कको परीक्षा गराइएको छ। त्यसमा पनि संविधानसँग सम्बन्धित प्रश्नमा नेपालीमा एउटा र अंग्रेजीमा अर्को अर्थ लाग्ने प्रश्न राखिएको छ।
घोराही उपमहानगरपालिकाको शिक्षा शाखाले तयार पारेको जनसंख्या शिक्षाको कक्षा ८ को प्रश्नपत्रमा पनि ठूलो गल्ती गरिएको छ। नेपालीमा लागु औषध सम्बन्धि प्रश्न सोधिएको छ भने अंग्रेजीमा बायु प्रदुशनको विषय राखिएको छ। यस्ता प्रश्नले विद्यार्थीहरुलाई दोधारमा परोको र प्रश्नपत्र निर्माणमा देखिएको यो लापरबाहीले शिक्षकलाई उत्तर पुस्तिका परीक्षणमा समेत समस्या हुने देखिएको शिक्षकहरुले बताएका छन्।
तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले प्राविधिक कारणले प्रश्नपत्रमा केही गल्ती भएको स्वीकार गरे। आगामी दिनमा यस्ता गल्तीहरुलाई सुधार गरेर लैजाने बताए।