रुसी लेखक तथा राजनीतिक कार्यकर्ता म्याक्सिम गोर्की (१८६८–१९३६) को पूरानाम एलक्सेई म्याक्सिमोभिच पेश्कोभ हो । साहित्यमा समाजवादी यथार्थवादको प्रयोग गरेका कारणले पनि उनी चर्चित छन् । उनलाई नोबेल पुरस्कारका लागि ५ पटक मनोनयन गर्दा पनि पुरस्कृत हुन सकेनन् ।
उनले कारखानाको क्रान्तिकारी मजदूरहरूको विषयवस्तुमा आधारित प्रख्यात ‘आमा’ उपन्यास (१९०६) लगायत धेरै उत्कृष्ट कृतिहरू लेखे । ती कृतिहरू उनले सोभियत गणराज्यहरूमा घुमेर पाएका अनुभूतिमा आधारित भएकोले धरातलीय यथार्थ मानिन्छ । आमा उपन्यास १९०५ को असफल कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवन दिने ध्येयले आमा जालोमोभा र छोरो पियोतर जालोमोभ, जोसँग गोर्कीको टाढा साईनो थियो, कै जीवनमा आधारित भएर लेखिएको थियो ।
धेरै वर्षअघि नै पढेको यो कृतिलाई स्मृतिमा राखेर मातातीर्थ पर्वको सन्दर्भलाई पनि ध्यानमा राख्दै गोर्कीबारे म लेखिरहेको छु । उनको उपरोक्त भनाई आमा उपन्यासबाटै लिईएको हो । “यही डरले नै हो हामी सबैलाई बर्वाद गरिरहेको छ । कसैले हामीलाई दवाउँछन्; उनीहरू हाम्रो डरको फाईदा उठाउँछन् र हामीलाई अझ त्रसित बनाउँछन् । ख्याल राख्नुहोला, जबसम्म मानिसहरू डरपोक भईरहन्छन्, उनीहरूले दलदलमा भोजपत्रलाई जस्तै सडाईरहने छन् । हामी निर्भीक भएर बस्नुपर्छ; बेला यही हो!”
(This fear is what is the ruin of us all. And some dominate us; they take advantage of our fear and frighten us still more. Mark this: as long as people are afraid, they will rot like the birches in the marsh. We must grow bold; it is time!) सोही उपन्यासबाट ।
नेता लेनिन, स्तालिनका साथै प्रसिद्ध साहित्यकार लियो टाल्स्टाय र एन्तोन चेखबसँग गोर्कीको हेलमेल थियो । तर पछिल्लो समयमा आएर उनी लेनिनका कटु आलोचक बन्नपुगे । उनी लेनिनलाई निर्लज्ज महत्वाकांक्षी, सत्ताको आशक्त र क्रुर भनी गाली गर्थे । त्यसैले उनी धेरै वर्षसम्म निर्वासित जीवन बिताउन बाध्य भए ।
१९३२ मा स्तालिनले व्यक्तिगत रुपमै आमन्त्रण गरेपछि उनी स्वदेश फर्केका हुन् । स्तालिनको दमनकारी शासन बढ्दै गएपछि सोभियत संघमा महत्वपूर्ण व्यक्तिहरूका रहस्यमय हत्या हुने थाले । गोर्की नै अघोषित नजरबन्दमा राखिनु र १९३४ मा उनका छोरा म्याक्सिम पेश्कोभको रहस्यम मृत्यु हुनुले खतराको तरबार उनीमाथि झुन्डेको उनले बुझे ।
हुन त उनको निधन निमोनियाबाट भएको हो तर उनको मृत्यु पनि स्वाभाविक होइन भन्ने दाबी त्यही बेला सुनिन्थ्यो । जे होस् यिनी आफ्नो जमानाका युगनिर्माता लेखक (साहित्यकार) हुन् । श्रमलाई पवित्र मानिने कम्युनिस्ट शासनको विपरीत “काम सुखद छ भने जीवन आनन्दमय हुन्छ । यदि काम कर–कर्तब्य भयो भने जीवन दासमय हुन्छ” भन्ने यिनको मान्यता थियो ।
–चन्द्रमणी गौतम / फेसबुक