मेडिकल साइन्सको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा शिक्षा मन्त्रालयले छलफल चलाएको छ । मंगलवार चिकित्सा शिक्षा, त्रिभुवन शिक्षण अस्पताल, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, संस्कृत विश्वविद्यालयलगायतका पदाधिकारीसँगको छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मेडिकल साइन्सको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा छलफल गरेका हुन् ।
मेडिकल शिक्षा आर्जनका लागि बर्सेनि ९८ अर्ब रूपैयाँ रकम देश बाहिर गइरहेको बताउँदै नेपालमै व्यवस्थित र स्तरीय बनाउनुपर्नेमा मन्त्री पौडेलले जोड दिए । ‘देशमा मेडिकल शिक्षा पढ्ने विद्यार्थीको आकर्षण बढ्दो छ,’ मन्त्री पौडेलले भने, ‘देश बाहिर पढ्न गएकाहरू नेपालमा आएर परीक्षा दिई डाक्टर बनिरहेका छन् । उनीहरूलाई नेपालमै पढ्ने र परीक्षा दिने व्यवस्था गरौँ ।’
देशमा पढ्ने व्यवस्था मिलाएर शिक्षा प्राप्तिका लागि बाहिरिने रकम नेपालमै रहनेमा उनको जोड रहेको छ । मन्त्री पौडेलले कागजमा दक्ष जनशक्ति पर्याप्त देखिए पनि फिल्डमा नभएको गुनासो गरे । ‘अवसरमा प्रतिस्पर्धा गर्ने दायर बढाइ क्वालिटीको शिक्षामा ध्यान दियौँ भने मात्रै उत्पादित जनशक्ति बेरोजगार बस्नुपर्दैन,’ मन्त्री पौडेलले भने, ‘शिक्षालाई नियमन गरौँ भन्दा हामी खुम्चिएका छौँ ।’केही ऐन र कानूनको जटिलताले गर्दा सीमितबाहेकले देशमा पढ्न पाउने अवसर गुमाइरहेको उनको भनाइ छ । छलफलमा मेडिकल क्षेत्रमा बजेट कम हुँदा धेरै समस्या आएको बताउँदै बजेट बढाउन मन्त्रीलाई आग्रह गरेका थिए ।