काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघले धान, गहुँ, मकै, फलफुल, तरकारीको आयात प्रतिस्थापन लक्ष्य निर्धारण आग्रह गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने विषयमा सुझाव दिदै महासंघले धान, गहुँ, मकै, फलफूल, तरकारीको आयातबाट अर्बौ रुपैयाँ बाहिरिएको भन्दै त्यसलाई रोक्न वार्षिक प्रतिस्थापन लक्ष्य निर्धारण गरी सोहीअनुसार काम गर्नुपर्ने बताएको हो ।
महासंघले निर्यात प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त प्रयोगशाला स्थापना गर्नुपर्ने सुझाव दिएको छ । महासंघले बढी निर्यात हुने मुलुकहरूसँग एमओयू गरी ती ल्याबहरूको शाखा नेपालमा खोल्ने वा नेपाल गुणस्तर तथा नापतौल विभागको सर्टिफिकेटलाई मान्यता दिने व्यवस्था गर्नुपर्ने जनाएको छ । साना उत्पादकहरूको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन एक्सपोर्ट हाउसको नीति बनाइ कार्यान्वयन गर्न पनि सुझाएको छ ।
निर्यातकर्तालाई हुने जोखिम कम गर्न निर्यात क्रेडिट इन्स्योरेन्सको नीति बनाउन पनि महासंघले माग गरेको छ । यस्तै तरलता व्यवस्थापनका लागि देशको कन्ट्री रेटिङ गर्नुपर्ने जनाएको छ । त्यसले वैदेशिक लगानी, निजी क्षेत्र र बैंकले विदेशबाट ऋण लिन सहज हुनेछ महासंघको ठम्याई छ । तरलता व्यवस्थापनका लागि पूँजीगत खर्च समयमै गर्नुपर्नेमा महासंघले जोड दिएको छ ।
बारखरीबाट सभार गरिएको