काठमाडौँ– सरकारले विज्ञापन बोर्डमा सूचीकृत नभएका सञ्चारमाध्यमहरुलाई विज्ञापनको कारोबार गर्न नदिने भएको छ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले आगामी साउन १ गतेदेखि लागू हुनेगरी सो व्यवस्था गर्न लागिएको बताएका हुन्।
त्यसका लागि बोर्डले तत्काल सबै सञ्चारमाध्यमहरुको सूचीकरण गर्ने कामलाई अघि बढाउने योजना बनाएको छ।
बोर्डमा सूचीकृत भएका विज्ञापन एजेन्सीहरुले मात्रै विज्ञापनको कारोबार गर्न पाउने व्यवस्था पनि गर्न लागिएको अध्यक्ष हुमागाईंले बताए।
बोर्डले शुक्रबार र शनिबार (हिजो र आज) काठमाडौँमा आयोजना गरेको विज्ञापनसम्बन्धी तालिम कार्यक्रममा बोल्दै उनले भने, ‘विज्ञापन बोर्डले निकट भविष्यमा नै सञ्चारमाध्यमहरुको सूचीकरण गर्ने, सञ्चार माध्यमहरुलाई वर्गीकरण गर्ने र सञ्चार माध्यमहरु विज्ञापन बोर्डमा सूचीकरण नभइ विज्ञापनको कारोबार गर्न नपाउने एउटा व्यवस्था गर्दैछौँ भने अर्को विज्ञापन एजेन्सीहरु पनि विज्ञापन बोर्डमा सूचीकरण हुनुपर्ने र सूचीकरण भएपछि मात्रै विज्ञापनको कारोबार गर्न पाउने गरी हामी व्यवस्थापन गर्दैछौँ। यी व्यवस्थाहरु आगामी साउन १ गतेदेखि लागू हुनेछन्।’
- युट्युवमा अब मदिरा, जुवा र राजनीतिका विज्ञापन राख्न नपाईने
- अनलाइन मिडियाले पनि लोककल्याणकारी विज्ञापन पाउने
- अफगानिस्तानमा विज्ञापनमा महिलाको फोटो प्रयोगमा प्रतिबन्ध
बोर्डले विज्ञापन बजारलाई पारदर्शी बनाउन, विज्ञापन व्यवसायमा संलग्नहरुलाई दक्ष बनाउन सो तालिम सञ्चालन गर्नु परेको पनि स्पष्ट पारेको छ। बोर्डले आगामी वर्ष विज्ञापन बजारको अनुसन्धान गरी उनीहरुको साईज एकीन गर्ने, आमसञ्चार माध्यमहरुको लोकप्रियताको समेत एकीन हुने गरी रिसर्चको काम सम्पन्न गरी त्यसलाई सार्वजनिक गर्ने योजना पनि तय गरेको छ।
उनले भने, ‘यो तालिममा विज्ञापन नियमन गर्ने ऐन, विज्ञापनको आचारसंहिता, विज्ञापनको क्रियटिभिटी, ब्राण्डिङ, रिसर्चलगायतका विभिन्न विषयहरुमा प्रशिक्षण दिइरहेका छौँ। र यो प्रशिक्षणबाट विज्ञापन व्यवसाय गर्ने व्यक्तिहरुको क्षमता विकास हुने, उनीहरुले आफ्नो कामलाई अझ बढी प्रभावकारी ढंगले सञ्चालन गर्न सक्ने, विज्ञापन बजारलाई पारदर्शी बनाउन सकिने अपेक्षा राखेका छौँ। यो तालिमबाट हामीलाई के सिकाई भएको छ भने सबभन्दा पहिलो कुरा विज्ञापन बजारको साइजको अनुसन्धान गर्नुपर्ने, दोस्रो चाहीँ सञ्चार माध्यामहरुको सर्कुलेशन एकीन गर्नुपर्ने। तेस्रो, विज्ञापन बजारलाई पारदर्शी बनाउनुपर्ने। आगामी वर्ष विज्ञापन बोर्डको विज्ञापन बजारको अनुसन्धान गर्नेछ। र, यो बजारको साईजलाई एकीन गर्नेछ। यसलाई निकट भविष्यमै सार्वजनिक गर्नेछ।’
विज्ञापन बोर्डले हाल तर्जुमा गरिएको विज्ञापन ऐनलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न पनि विज्ञापन व्यवसायमा संलग्नहरुलाई त्यससम्बन्धी तालिम दिने कामलाई निरन्तरता दिन लागिएको जनाएको छ।
फेसबुकमा हामीलाई Jagaran News Network – JNN , ट्विटरमा @jagaranpost युट्युवमा Jagaran Post फलो गर्नुहोस।