मोरङ– सुनसरीको धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराएका दुई जनाको सदस्यता खारेज भएको छ।
कांग्रेस सुनसरीका पार्टी सचिव वीरेन्द्र साहका अनुसार आफ्नै पार्टीको निर्देशनविरुद्ध उम्मेदवारी दिएका धरानका रोशन अधिकारी र कृष्ण भट्टराईको सदस्यता खारेजी गरिएको हो।
धरान वडा नम्बर १ का वडाध्यक्षसमेत भएका अधिकारीले यसपटकको निर्वाचनमा राप्रपाका तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका छन्।
त्यसैगरि धरान–१४ का निवर्तमान वडाध्यक्ष भट्टराईले पनि राप्रपाबाट सोही वडामा अध्यक्षको उम्मेदवारी दिएका छन्। दुवैजनालाई पार्टीको विधान २०१७ संशोधनसहितको दफा ३४(१) अनुसार कारबाही गरिएको साहले जानकारी दिए।
कारबाहीका क्रममा दुवै जनाले पार्टीको आदर्श, सिद्धान्त र नीति विपरीत कार्य गरेको उल्लेख गरिएको छ।
त्यसैगरि पार्टीको विधान, नियमावली विपरीत कार्य गरेको, पार्टीको आचारसंहिता उल्लङ्घन गरेको र पार्टीको उम्मेदवारको विरुद्ध उम्मेदवारी दिएका कारण विधान बमोजिम अनुशासनको कारबाही गरिएको सचिव साहले जानकारी दिए।