गैरआवासीय नेपाली संघ (एनआरएनए) का बर्तमान कोषाध्यक्ष हुनुहुन्छ- हिक्मत थापा। नाईजेरियाको प्रतिष्ठित ब्यवसायिक ग्रूप डाङ्गोटे ग्रूपको उच्च नेतृत्वमा समेत रहनुभएका थापाले एनआरएनए को आसन्न केन्द्रिय चुनावको लागि नाईजेरियाबाटै उपाध्यक्ष पदको लागि उम्मेदवारी दर्ता समेत गराऊनुभएको छ। साहित्य लेखन तथा समाजसेवामा समेत उत्तिकै रुचि राख्नुहुने थापाले नाईजेरिया आसपासको सामुदायिक परिवेशलाई समेटेर `चिवोकका केटिहरु´ नामक साहित्यिक किताब समेत बजारमा ल्याऊनुभएको छ। बोलीमा बिनम्रता तथा सहयोगी स्वाभावका थापासंग आज हामिले एनआरएनए को वर्तमान स्थिती, आगामी कार्यदिशा तथा एनआरएनएले नेपालको अर्थतन्त्रमा पुर्याऊनसक्ने सम्भाव्यताका विषयवस्तुहरुमाथी छलफल गरेका छौं। प्रस्तुत छ, एनआरएनएको उपाध्यक्ष पदका उम्मेदवार थापासंग जागरणपोस्टका प्रधानसम्पादक बिजय ज्ञवालीले गरेको कुराकानीको सम्पादित अंश:
नमस्कार, एनआरएनए जस्तो विश्वभर संजाल भएको यौटा ठूलो संस्थाको उपाध्यक्षजस्तो गरिमामय पदमा उम्मेदवारी दिनुभएको छ, त्यसको लागि अग्रिम बधाई तथा शुभकामना छ।
हजुर, धन्यवाद यहाँलाई।
एनआरएनएको वर्तमान कोषाध्यक्ष हुँदै उपाध्यक्ष पदको लागि भिड्दै हुनुहुन्छ, के छन हजुरका कार्ययोजनाहरु?
मूख्यत: ८१ वटा देशमा फैलिएको यस विशाल संस्थाको उपाध्यक्षमा रहेर मैले वहन गर्नुपर्ने जिम्मेवारी पनि धेरै नै छन। सबै देशहरुमा नेपाली नागरिकहरु कोहि रोजगारीको शिलशिलामा, कोहि व्यापार ब्यवसाय त कोहि पढाईको शिलशिलामा ती देशहरुमा पुग्नुभएको छ। विभिन्न कारणले ति देशहरुमा पुग्नुभएका कतिपय नेपाली दाजुभाई दिदिबहिनीहरुले बिभिन्नखाले समस्याहरु पनि झेल्दै आऊनुभएको छ। हामिले त्यस्ता समस्याको पहिचान गरि समस्या समाधानको यौटा संवाहक बन्नु जरुरी छ, जो मेरो नजरले देखिराखेको छ। दोस्रो हामीहरुले बिदेशमा छरिएर रहेको नेपाली पूँजीलाई एकत्रित गरि यौटै संस्थाद्वारा नेपालमा सामुहिक लगानीको पहल गर्नेछौं। जसले गर्दा लगानीको मात्रा पनि बढ्नेछ र लगानीसंगै रोजगारको अवसर पनि खुल्दै जानेछन। सामुहिक लगानीको अवधारणाअन्तर्गत विदेशबाट फर्किएकालाई तिनै लगानीका स्रोतसंगै परिचालित पनि गरिनेछ।
सामुहिक लगानीको कुरा त उठाऊनुभो, तर ८१ वटै देशमा फैलिएर रहेका नेपाली समुदायबाट सामुहिक लगानीको लागि तत्परता आऊला र?
हामिले एनआरएनएका प्रत्येक देशबाट आव्हान गर्ने हो। सामुहिक लगानीको एजेण्डा र यसका दिर्घकालिन फाईदा र देश समृद्धिसंग जोडेर हेर्ने हो। यसै पनि नेपालमा अझै पनि ठूला लगानीका ठूला प्रोजेक्टहरु धेरै नै बांकि छन। त्यस्ता प्रोजेक्टहरुमा हामीले बिदेशमा छरिएर रहेको नेपाली पूँजी एकत्रित गरि लगानी गर्नसक्तछौं। इच्छुक नेपाली दाजुभाई दिदिबहिनीहरुले यसमा सहजै सहकार्य गर्न सक्नुहुन्छ। जसको प्रतिफल उहाँहरु स्वयंले प्राप्त गर्ने हो।
अर्को कुरा, ऐलेसम्म एनआरएनएले नेपालमा जति लगानी भित्र्याऊनुपर्नेथियो, त्यो मात्रामा रकम लगानीको रुपमा भित्रीन सकेन भन्ने पनि छ नि?
यो कुरा सत्य पनि हो। हो, एनआरएनए ले जति रकम नेपालमा लगानीको रुपमा भित्र्याऊनुपर्दथ्यो, त्योमात्रामा भित्र्याऊन सकेको छैन। कतिपय कानूनी तथा प्रशासनिक अड्चन, प्राविधिक तथा अध्ययनको कमि र नेपाल सरकारकै अस्पष्ट नितिका कारण एनआरएनएले उल्लेख्यमात्रामा लगानी भित्र्याऊन नसकेकै हो।
तपाईं नाईजेरियाको प्रतिष्ठित ब्यवसायिक ग्रूप डांगोटे ग्रूपसंग आवद्ध पनि हुनुहुन्छ। एकपटक उक्त ग्रूपले नेपालमा पनि ठूलो लगानीका साथ सिमेन्ट उद्योग स्थापना गर्ने भन्ने हल्ला थियो। तर पछि त्यो कुरा पनि सेलाऊँदै गयो नि?
म डाङ्गोटे ग्रूपसंग आबद्ध भएको नाताले यो ग्रूपलाई मैले नेपालमा पनि भित्र्याऊने चाहना राखेको थिएँ। तर, नेपालमा कतिपय कानूनी र प्रशासनिक अल्झनका कारण यो योजना ऐलेलाई केहि समय पर धकेलिएको छ।
नेपालमा लगानीको लागि विश्वासयोग्य वातावरण नभएर डांगोटे ग्रूप पछि हट्यो भन्ने कुरा पनि बाहिर आएका थिए। खासमा नेपालमा लगानीको लागि उपर्युक्त वातावरण नभएकै हो त?
होईन होईन, यो कुरा सरासर गलत हो। नेपालमा लगानीको लागि प्रचुर सम्भावना र वातावरण तयार भएको छ। कतिपय प्राविधिक तथा प्रशासनिक सवालमा हालको लागि स्थगन भएपनि निकट भविष्यमैं उक्त ग्रूप नेपालमा ठूलो लगानीकासाथ अवश्य भित्रिनेछ। यसका लागि मेरो तर्फवाट पनि गर्नुपर्ने प्रयासहरु म गरिराखेको छु।
प्रसंग एनआरएनएको चुनावी सरगर्मीतिरै लैजाऔं। यसपाली यहाँले एनआरएनएको उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ। एनआरएनए को उपाध्यक्षमा लड्दैगर्दा के कस्ता योजनासहित प्रस्तुत हुनुभएको छ नि?
योजना त मूलरुपमा वैश्विक सहयोग, भाईचारा, समन्वय, सहजता र मध्यस्थता नै हो। यसमा पनि मेरो मूल ध्येय संसारभरि छरिएर रहेका नेपाली नागरिकसंगको निकटता, सहयोग एवं तत्परता हुनेछ नं. एक। नं. २ मूल गरेर नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले विदेशमा दु:ख सुख गरेर आर्जन गरेर जम्मा पारेको रकमलाई यौटा मूल संस्थाको माध्यम नेपालमा सामुहिक लगानी तथा रोजगारी सृजना गर्नेतर्फ मेरो आव्हान, पहल या जे भन्नुहोस- त्यो मेरो अर्जुनदृष्टि हुनेछ।
जुन लक्ष्यसाथ एनआरएनको उपाध्यक्षमा भिड्दै हुनुहुन्छ, त्यसमा यहाँलाई सफलता प्राप्त होईजाओस, यसका लागि हाम्रो तर्फदेखि अग्रिम शुभकामना छ।
धन्यवाद यहाँमा।
एनआरएनएको चुनाव निकै महंगो, भड्किलो र हर जो कोहिले उम्मेद्वार बन्न नसक्ने अवस्था रह्यो भन्ने गुनासो छ नि अधिकांशको ! यसमा तपाईंको धारणा के छ?
हो, एनआरएनको चुनाव अलिकति महंगो र भड्किलो भयो भन्ने आरोपलाई नकार्न त सकिन्न। यस्तै टिप्पणीलाई मध्यनजर गर्दै समयानुकुल सुधार गर्दै पनि लैजाने हो। अलिकति महंगो चाहिँ किन पनि हुन्छ भने यौटै देशको कुरा भएन, सबै देशमा प्रतिनिधित्व र सहकार्य अनि प्रचारप्रसार यावत कुराहरुले गर्दा अलिकति भड्किलोजस्तो देखिएको छ। जुन सुधार गर्नु अति आवश्यक छ।
एनआरएनएको चुनावमा यौटा सामान्य पदको लागी उम्मेदवारी दिन पनि कम्तिमा २/३ लाख खर्च गर्नुपर्छ भने केन्द्रियस्तरकै पदको लागि लड्न त करोडौं बगाऊनुपर्छ भन्ने आरोप छ नि? के एनआरएनएमा पनि पैसाकै लागि पैसाको खोलो बग्ने हो?
अलिकति भड्किलो र खर्चिलो अवश्य हो एनआरएनको चुनाव। यस्तो भड्किलो चुनावले बिदेशमा रहेका आम नेपाली दाजुभाई दिदिबहिनीहरुलाई समेट्न सक्तैन भन्ने मेरो पनि धारणा हो। किन हो किन, म आफू साधारण परिवारको साधारण मान्छे भएर होला, सबैलाई संगै समेटेर अंघाढि बढौं भन्ने मेरो धारणा हो र यसको लागि मेरोतर्फबाट भरमग्दुर प्रयास पनि हुनेछ। सबै बिदेशी नेपाली एनआरएनएका सदस्य र सबै एनआरएनए सदस्यको समान हैशियत मेरो चिन्तन हो। त्यसैले एनआरएनएको भड्किलो शैलीमाथी समीक्षा अवश्य हुनेछ। किनकि एनआरएनए सवैको सवैकालागी सर्वसुलभ एकमात्र संस्थात्मक छाता बन्नुपर्दछ।
हामिले एनआरएनएका प्रत्येक देशबाट आव्हान गर्ने हो। सामुहिक लगानीको एजेण्डा र यसका दिर्घकालिन फाईदा र देश समृद्धिसंग जोडेर हेर्ने हो। यसै पनि नेपालमा अझै पनि ठूला लगानीका ठूला प्रोजेक्टहरु धेरै नै बांकि छन। त्यस्ता प्रोजेक्टहरुमा हामीले बिदेशमा छरिएर रहेको नेपाली पूँजी एकत्रित गरि लगानी गर्नसक्तछौं। इच्छुक नेपाली दाजुभाई दिदिबहिनीहरुले यसमा सहजै सहकार्य गर्न सक्नुहुन्छ। जसको प्रतिफल उहाँहरु स्वयंले प्राप्त गर्ने हो।
८१ देशमा फैलिएको भनिएको एनआरएनएको केन्द्रिय निर्वाचनमा जम्माजम्मी हजार/ १२ सय जनाले भाग लिएर उनीहरुले भोट दिएको आधारमा सबै पदको तय हुने यो कस्तो परिपाटि हो एनआरएनएको? जबकि ८० लाखभन्दा बढि नेपाली नागरिक बिदेशमा छन।
हो समस्या यहिंनेर छ र हामिले सम्बन्धित देश र क्षेत्रका प्रतिनिधि चुनेर मात्र चुनाव गराऊँछौं। रोजगार, ब्यवसाय तथा अध्ययनको शिलशिलामा बिदेशिएका सबै नेपाली नागरिकलाई एकसाथ एकैदिन भेला हुन त सम्भव नै छैन। त्यसैले हामिले सम्बन्धित देश या क्षेत्रको साझा प्रतिनिधिद्वारा मतदान गर्ने/ गराऊने ब्यवस्था गरेका हौं।
त्यस्ता प्रतिनिधिहरु रातोरात बिक्छन भन्ने हल्ला छ त !
हेर्नुस, मान्छेको मन सफा छ भने उ सिधै बाटोमा हिंड्छ। नियत मैं खोट छ भन्ने कुरा त जान्न सकिन्न। कसैको मनभित्र पस्न त सकिन्न। हामीले अपेक्षा गर्ने हो कि सकभर साझा प्रतिनिधिले साझा हितको लागि नै काम गरून्। पैसा र शक्तिको चलखेल कहाँ हुन्न र? तर यसो भन्दैमा हामीहरुले यस्तोखाले हर्कत गर्नुपर्छजस्तो मलाई लाग्दैन। निर्वाचन हो, स्वच्छरुपमा निर्वाचित हुने आऊने। किन अनावश्यक जोडबल गर्नुपर्यो र?
प्रविधिको यो समयमा प्रत्येक एनआरएनका सदस्यलाई अनलाईन भोटिङ्ग सिस्टम उपलव्ध गराईदिए हुन्न र? निकै पारदर्शी पनि देखिने, सहज सर्वसुलभ एवं सबैको सहभागिता पनि रहने?
एकदम सहि कुरा। प्रविधिको यो युगमा हामीले प्रविधिको भरपुर उपयोग गर्नैपर्दछ। निकै पारदर्शी पनि रहने, सबैको सहभागिता पनि रहने। घरमैं या कार्यक्षेत्रमैं बसेर एक क्लिकको भरमा भोट गर्न सकिने। सुविधा हुँदाहुँदै झन्झट किन ब्येहोर्ने? एनआरएनएले यसबारेमा सोंच्नैपर्दछ। अझ मोवाईल एप भयो भने त सबैको लागि निकै सहज पो हुन्थ्यो त !
अन्त्यमा: एनआरएनएको केन्द्रिय कोषाध्यक्षको नाताले यस संस्थाको आम्दानीको स्रोतको बारेमा पनि जानकारी दिनुहुन्थ्यो कि?
एनआरएनको आम्दानीको मूख्य स्रोत भन्ने त खास त्यस्तो छैन। तैपनि, कतिपय सहकार्यको आधारमा गरिएका सामुहिक लगानी र तिनको प्रतिफल, सदस्यता शुल्क र कतिपय नेपालमा खडा गरिएका भौतिक सम्पत्तिहरु जसलाई एनआरएनले भाडामा लगाएर आम्दानी गरिराखेको छ। मूलरुपमा एनआरएनएको आम्दानी सदस्यता , सदस्यहरुले दिने चन्दा , सहयोग , बिभिन्न कार्यक्रमहरुमा आउने स्पोन्सरशिप आदि बाट बच्ने रकम र हाल यो बर्ष देखि थपिएको एनआरएनए भवनको भाडा पनि हो । त्यसबाहेक साधारण सभाका बेलाको रजिस्ट्रेशन शुल्क , उम्मेदवारी दर्ता शुल्क र केन्द्रिय पदाधिकारीहरुको वार्षिक लेवि पनि आयको मुख्य श्रोत हो । यसै स्रोतलाई आधार मानेर हामीहरुले एनआरएनएका गतिविधिहरु पनि संचालन गर्दै आईरहेका छौं।
हवस त, यहाँसंगको संवाद निकै अर्थपूर्ण रह्यो। यहाँको उम्मेदवारीले सफलता प्राप्त गरोस- जागरणपोस्ट डट कम परिवार यहाँको सफलताको कामना ब्यक्त गर्दछ।
धन्यवाद यहाँलाई, अनि जागरणपोस्ट परिवारलाई पनि ! यहाँहरुको पनि प्रगतिको कामना गर्दछु।