काठमाडौँ – गठबन्धनमा आबद्ध किसान सङ्गठनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषिक्षेत्रको व्यावसायीकरणका साथै खाद्य तथा कृषि क्षेत्रको आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्न माग गरेका छन् ।
सङ्गठनले किसानहरूको जीवनमा समृद्धि र खुसीयाली ल्याउने र आत्मनिर्भर कृषि अर्थतन्त्रको विकासद्वारा स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माणको दिशामा अग्रसर हुँदै संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि तीन वटै तहका सरकारसमक्ष माग गरेको हो ।
गठबन्धनमा नेपाल किसान सङ्घ, अखिल नेपाल किसान महासङ्घ नेकपा (एकीकृत समाजवादी) र नेकपा (मसाल) निकट अखिल नेपाल किसान महासङ्घ तथा समाजवादी किसान महासङ्घ छन् ।
सङ्गठनले जारी गरेको विज्ञप्तिमा पूर्ववर्ती सरकारले देशभरका किसान सङ्घ÷सङ्गठनहरू, राष्ट्रिय किसान सञ्जाल तथा कृषि र भूमिसम्बन्धी नागरिक सङ्गठनको विरोध हुँदाहुँदै पनि ठूला कर्पोरेट घराना, विदेशी बहुराष्ट्रिय निगमलाई दिन भूमि बैंकको अवधारणा ल्याएकाले त्यसको खारेजी गर्न माग गरेको छ ।