काठमाडौँ- पोखरा उच्च अदालतले बलात्कार आरोपमा पक्राउ परेका पल शाहलाई थुनामुक्त गर्न माग गर्दै परेको रिट निवेदनका सम्बन्धमा उनका सहयोगी कृष्ण जोशीलाई छाड्ने गरी तनहुँ जिल्ला अदालतले गरेको फैसला मगाएको छ।
जोशीलाई थुनामुक्त गर्ने जिल्ला अदालतको आदेश उच्चले मागेको हो। जोशीको आदेश आएपछि शाहको निवेदनसँगै राखेर हेरिने उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले बताएका छन्।
उच्च अदालत पोखराले अभिनेता पल शाह प्रकरणमा जोडिएका शाहका सहयोगी कृष्ण जोशीलाई १ लाख धरौटीमा थुनामुक्त गर्ने तनहुँ जिल्ला अदालतको फैसला मगाएको हो।
नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोप लागेपछि जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलरासी पूर्वको आदेशमा अभिनेता शाह हाल पुर्पक्षका लागि थुनामा रहेका छन् । अदालतले उनका सहयोगी जोशीलाई भने एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।
शाहले दुवै जिल्ला अदालतले गरेको आदेशविरुद्ध उच्च अदालत पोखरामा छुट्टाछुट्टै पुनरावेदन निवेदन दिएका थिए । त्यस्तै जिल्ला सरकारी वकिल कार्यालयले भने शाहका सहयोगी जोशीलाई धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन निवेदन दिएको थियो ।
उच्च अदालत पोखराले १५ वैशाखमा दुवै निवेदन एकसाथ पेश गर्नु भनी आदेश दिएको थियो । बिहीबार भने उच्च अदालतले जोशीलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालतले दिएको आदेश पनि माग गरेको रजिष्टार पौडेलले बताएका छन्।