धादिङ — गजुरी गाउँपालिका–३ पुराक्सिङका किसान खुम्रे कीराले मकै खाइदिएपछि चिन्तित छन् । गत चैतमा लगाएको मकै गोडमेल गर्न नपाउँदै कीराले खाइदिएको पुराक्सिङका किसान अर्जुन चेपाङले बताए । ‘माटोभित्रै पसेर कीराले जरा नै खाइदिएपछि हुर्कंदै गएको मकैको बोट बिस्तारै सुक्यो,’ उनले भने, ‘मकै लगाएको ठाउँमा अहिले बोट मरेपछि खाली भएको छ । दोहोर्याएर लगाएका छौं ।’
कीराले मकैको बोट नै काटिदिएपछि किसानले प्राविधिकसँग सल्लाह लिएका थिए । मकैबाली जोगाउन किसानले बजारमा पाइने कडा विषादीसमेत प्रयोग गरेका छन्, जसले केही हदसम्म कीरा नष्ट भएको थियो । तर अहिले विषादी पनि पाउन छाडेको किसानको भनाइ छ । कीराले माटोभित्रभित्रै पसेर बोटबिरुवाको जरा काट्ने गर्छ, जसका कारण बोटबिरुवा मर्ने गर्छ । रातो माटोमा त्यति नलाग्ने भए पनि बालुवा मिसिएको माटोमा लगाएको बाली सखाप बनाउने गरेको उनले बताए । पुराक्सिङमा खुम्रे कीराको प्रकोपबाट आजित चेपाङ–तामाङ समुदाय खाद्य अधिकार प्रभावित समूहमा संगठितसमेत भएका छन् ।
खाद्य क्षेत्रमा काम गर्दै आएको फियान नेपालको सहयोगमा किसानले प्लान्ट क्वारिन्टिन तथा विषादी व्यवस्थापन केन्द्र हरिहर भवनका प्रमुख सहदेव चापागाईं र बाली संरक्षण विभागकी प्रविधिक रमा कार्कीलाई ध्यानाकर्षणपत्र समेत बुझाएका छन् । ‘यससम्बन्धी कार्यक्रम विभाग र वाग्मती प्रदेश सरकारअन्तर्गत बाली संरक्षण विभागसँग हुन्छ, अहिले हाम्रोमा कार्यादेश छैन,’ चापागाईंले भने ।
विशेषगरी खुम्रे कीराले मकै उम्रिसकेपछि कलिला बिरुवाको जरा खान्छ, जसले गर्दा बिरुवा बढ्न सक्दैनन् र मर्छन् । विशेषगरी लार्भा अवस्थामा र पानी नजम्ने जग्गा, पाखोमा यसले बढी क्षति पुर्याउँछ । यसले तरकारी बाली, मकै, आलु, अदुवा र चिया खेतीमा क्षति पुर्याउँछ । खुम्रेको माउले काँचो गोबरमा फुल पार्छ । त्यसैले खेतबारीमा काँचो गोबरमल प्रयोग गर्न नहुने कृषि विशेषज्ञहरुको भनाइ छ ।