काँकडभिट्टा — मेचीनगर–१५ की जानकी हाडी (माझी) चैनसँग ननिदाएको करिब आठ महिना भयो । मावल जान्छु भनी हिँडेकी २१ वर्षीया छोरी कल्पना अहिलेसम्म नफर्किएपछि माझी परिवार लामो समयदेखि पीडामा बाँचिरहेको छ ।
‘प्रहरी प्रशासन सबैतिर निवेदन दियौं तर छोरी कतै भेटिएकी छैन,’ जानकीले बिलौना गरिन्, ‘मावल हिँडेकी छोरी अहिलेसम्म नफर्किंदा हामीलाई कस्तो भएको होला ।’
राजवंशी भाषाको म्युजिक भिडियो ‘दिलसरी’ समेत छोटो अभिनय गरेकी छन् कल्पनाले । त्यही म्युजिक भिडियोका नायक श्रवण राजवंशीले छोरी बेपत्ता पारेको आरोप परिवारको छ । राजवंशी पनि बेपत्ता छन् । ‘छोरी बिहे गरेर गएकी भए त फोन सम्पर्क सम्म त गर्न सक्थी होला नि,’ बुबा सुरेशले अनुमान भने, ‘छोरीलाई कतै बन्धक बनाएर राखिएको हुन सक्छ ।’
एक पटक छोरी काठमाडौंको एक होटल रहेको सूचना पाएर गएका थिए सुरेश । तर नभेटेपछि निराश भएर फर्किएका थिए । उजुरी दिएपनि प्रहरीले हराएकी छोरी खोज्न खासै चासो नदिएको उनको आरोप छ । ‘चाहँदा प्रहरीले मेरी छोरी तु भेटाउन सक्छ,’ रिक्सा चलाएर जीविका चलाउँदै आएका उनले भने, ‘तर प्रहरीले किन चासो दिइरहेको छैन, बुझन सकेको छैन ।’