वैशाख ३० गते हुने स्थानीय निर्वाचनका बेला नियमित खोप अभियान सञ्चालन नहुने भएको छ ।
आइतवार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र र नियमित खोप अभियान सञ्चालनमा कठिनाइ हुने भएकाले खोप अभियान सञ्चालन नहुने जनाएको हो ।
‘मतदानस्थलमा स्वास्थ्यकर्मीहरूसमेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालनमा कठिनाइ हुने भएकाले सो दिन खोप सञ्चालन नहुने जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
निर्वाचनअघि र पछिका दिनमा खोप केन्द्रहरू सञ्चालन हुने भएकाले सकेसम्म चाँडै कोभिड-१९ विरुद्धको खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।
साथै छिमेकी मुलुकमा पछिल्ला दिनमा संक्रमण बढ्दै गएको भन्दै यहाँ पनि जोखिम बढ्ने सम्भावना भएकाले सतर्क रहँदै जनस्वास्थ्यका मापदण्डहरूको ख्याल गरिदिन अनुरोध पनि गरिएको छ ।